नेपाली बालबालिकालाई पश्चिमा बालबालिकाको भन्दा बढी लाभ छ

जोइ फोस्टर एलिस काठमाडौँको बि्रटिस कलेजका प्राचार्य हुन् । सन् २०१४देखि उनी नेपालमै बसेर काम गरिरहेका छन् । यी ३४ वर्षे अमेरिकी युवाले उच्च शिक्षा अध्ययनका क्रममा अमेरिका मात्र नभई चिन, बेलायत र कतारका विश्वविद्यालयहरू पनि चहारेका छन् । त्यसपछि भने उनी नेपालमै शिक्षा क्षेत्रमा कार्यरत छन् । यस हिसाबले एलिससँग विश्वका विविध देशका शिक्षा प्रणालीबारे राम्रो ज्ञान छ ।

यसै सन्दर्भमा अनलाइनखबरले उनीसँग नेपालको शिक्षा प्रणाली र अन्तर्राष्ट्रिय परिवेश, शिक्षा क्षेत्रका चुनौती र अवसरबारे कुराकानी गरेको छ ।

तपाईँ अमेरिकामा जन्मेर विश्वका धेरै देश घुमेको मान्छे । किन काठमाडौँको एउटा कलेजको प्रिन्सिपल बन्नुभयो ?

म नेपालमा पनि लामो समय बसेँ र यहाँको शिक्षा क्षेत्रलाई नजिकबाट हेरेँ । के कुराले राम्रो काम गरिरहेको छ र केमा समस्या छ पनि पत्ता लगाएँ, अनि यो क्षेत्रमा संलग्न भए । मैले यो संस्था रोज्नुको कारण चाहिँ यस मार्फत् म आफ्ना विद्यार्थीका जीवनमा केही प्रभाव पार्न सक्छु ।

पहिला म एक डिजाइन कलाकारका रूपमा काम गर्थेँ । त्यति बेला मैले अरू मान्छे खासै भेट्नुपर्दैनथ्यो । तर आज पि्रन्सिपल भएपछि त म लुकेर बस्न पाउँदिन । म विद्यार्थी, कर्मचारी, अभिभावकसँग बोल्नुपर्छ । उनीहरूलाई प्रेरित गर्नुपर्छ, सकेसम्म राम्रो बनाउनुपर्छ । मलाई लाग्छ म हरेक दिन कोही न कोही व्यक्तिलाई प्रेरित गर्दै छु । मैले हरेक विद्यार्थीसँग काम गर्नुपर्छ । एक शिक्षाकर्मीका रूपमा मेरा सम्पत्ति नै मेरा बालबालिका हुन् । म पैसा कमाउन यो क्षेत्रमा आएको त होइन । कसैको जीवन राम्रो बनाउन सकिन्छ कि भनेर पो आएको त ।

मेरो ज्ञान, आत्मविश्वास र अनुभवलाई उपयोग गरेर म आफ्ना विद्यार्थीलाई भविष्यका लागि हामीले थाहा पाएभन्दा अझ राम्रोसँग तयार गराउन सकिन्छ भन्ने मलाई लाग्छ ।

नेपाली शिक्षा क्षेत्रमा काम गर्न तपाईँले भोगेको सबैभन्दा ठूलो चुनौती के हो ?

सबभन्दा गाह्रो काम त कर्मचारीलाई काम लगाउनु नै हो । हुन त नेपालको सबभन्दा राम्रो कुरा के हो भने यहाँका मान्छेका लागि पैसा नै सबै थोक होइन, त्योभन्दा महत्वपूर्ण कुरा स्थायित्व हो । साथै, परिवार र समुदायमा तपाईँको पहिचान पनि पैसाभन्दा महत्वपूर्ण छ । त्यसैले पैसाकै लोभ देखाएर काम लगाउन सकिँदैन ।

यहाँका मान्छेलाई गज्जबसँग काम गरेर सिधै सर्वोच्च पदमा पुग्नु पनि छैन । परिवार चलाउन सघाउ पुग्ने, अनि आफूलाई कार्यस्थल र बाहिर सम्मानित महसुस गराउने काम चाहान्छन् उनीहरू ।

तर पश्चिमतिरको सोचाइ अर्कै छ । कसैलाई कामका लागि प्रेरित गर्नु छ भने बढुवा गरिदिनुस्, जिम्मेवारीसँगै पैसा थपिदिनुस् । नेपालमा यो तरिकाले काम गर्दैन ।

तर मलाई यो कुरा मन पर्छ किनभने यसले यहाँ अन्य ठाउँभन्दा यहाँ मानवता बढी छ भन्ने देखिन्छ ।

नेपालमा सांस्कृतिक पहिचानको पनि महत्व छ । परिवार र स्थायित्वको पनि । त्यसैले मेरो चुनौती भनेकै मेरा कर्मचारी र विद्यार्थीलाई प्रेरित गर्ने विभिन्न तरिका पत्ता लगाउनु हो । त्यो सीपलाई कसरी बढाउने भन्ने कुरा सिक्नु छ । हुन त म प्रयासरत छु ।

तपाईँले चिन, बेलायत र अमेरिका लगायतका देशको शिक्षा प्रणाली बुझ्नुभएको छ । नेपालको शिक्षा प्रणाली अन्यत्रको भन्दा कति फरक छ ?

मलाई लाग्छ हामीले कुनै पनि ठाउँलाई अर्को ठाउँसँग तुलना गर्नुहुँदैन । मलाई हामीसँग कुनै कमी छजस्तो लाग्दैन । बरु हामी अगाडि छौँ । कुरा शिक्षा प्रणालीको मात्र होइन, नेपालको सबैभन्दा ठूलो सम्पत्ति भनेको मानवीय बौद्धिक पुँजी हो । हाम्रा विद्यार्थीमा प्रतिभा छ र उनीहरूले विश्व स्तरको शिक्षा पाएका छन् ।

आज इन्टरनेटको जमानामा तपाईँकहाँ अन्य संस्कृतिका कुरा पनि सजिलै आइपुग्छन् । यहाँका मान्छेलाई अमेरिकीभन्दा बढी बियोन्से र जेजीका गीत थाहा छन् । तर तपाईँ विकासशील देशमा बस्नुभएका कारण तपाईँले आर्थिक असमानता पनि देख्नुभएकै छ । समाचारमा आउने कुरा तपाईँ थाहा पाइहाल्नुहुन्छ । किताब पढिहाल्नुहुन्छ । विदेशी पत्रिका र किताबमा पहुँच छ । एकै ठाउँमा सीमित भएर बस्नुपर्ने छैन, बरु पश्चिमा बालबालिकालाई समस्या छ ।

अर्थात् नेपाली बालबालिकासँग पश्चिमासँग भएका सबै सुविधा छन् । त्यस बाहेक, किताबमा लेखिएका अक्षरका अर्थ के हुन् भनेर बुझाउने व्यावहारिक अनुभव पनि छन् ।

एउटा किताबभित्रै आफ्नो जिन्दगी बाँच्नु पनि सम्भव छ, तर नभोगेसम्म जीवनको अर्थ कसरी जोड्ने भन्ने कुरा बुझिदैन । यहाँका बालबालिकालाई पश्चिमा बालबालिकाको भन्दा बढी लाभ छ र उनीहरूले यो कुरा बुझ्नुपर्छ । यहाँ देखिएको प्रतिभाले यहाँको सम्भाव्यता अविश्वसनीय रहेको सङ्केत गर्दछ ।

देशपरदेश घुमेर पनि तपाईँलाई नेपाल अन्य देशभन्दा लाभको स्थितिमा छ भन्ने लाग्छ ?

म चाहान्छु मेरा विद्यार्थीले म किन यहाँ आएको छु भन्ने कुरा बुझुन् । मैले धेरै दृष्टिकोणबाट यो देशको सम्भाव्यता देखेको छु । हो, मैले संसार देखेको छु, धेरै कुरा देखेको छु । म अझै पनि भन्छु यहाँका विद्यार्थी विदेश जानुपर्छ । तर फर्केर आउनुपर्छ, किनकि भविष्य नेपाल नै हो । विदेश गएर सिकेर, नेपाल फर्किएर आफ्नो देश राम्रो बनाउनुपर्छ ।

नेपालमा बौद्धिक पलायनको समस्या डरलाग्दो भएकाले म त्यस विरुद्ध लड्न चाहान्छु । त्यसैले उनीहरूलाई विश्वभरि कदर हुने बेलायती प्रमाणपत्र यहीँ दिन चाहान्छु । उनीहरूलाई यहीँ बसेर प्रभावित गर्न चाहान्छु ।

विदेश जानेबारे तपाईँका विद्यार्थी चाहिँ के भन्छन् त ?

प्रायजसो भन्छन् कि विदेश जानुपर्‍यो, संसार देख्नुपर्‍यो । देखिएपछि विश्वास जाग्छ, त्यसमा पनि कुनै समस्या भएन । म भन्छु कि अन्तर्राष्ट्रिय मूल्यमान्यता पनि सिक, तर आफ्नो जरालाई नबिर्स । हामीले बि्रटिस कलेजमा जोड दिने कुरा पनि यही हो । हामीले निजी शिक्षा दिइरहेका छौँ, तर निजी र सार्वजनिक शिक्षा सँगसँगै अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता छ । हामीले पनि सार्वजनिक शिक्षा प्रणालीबाट धेरै सिकेका छौँ, र उनीहरूले पनि हामीबाट ।

प्रायजसो विद्यार्थी अस्ट्रेलिया र अमेरिका जान चाहान्छन् । म उनीहरूलाई भन्छु कि त्यहाँको जीवन पनि सजिलो छैन, गाह्रै छ । हामी यहाँको स्थिर जीवन छोडेर उता गएर हाउसकिपर वा वेटर बनेर दुःख पाउँछौँ । म चाहान्छु मेरा विद्यार्थीले त्यसो नगरून् । विदेश जान्छन् भने राम्राराम्रा कम्पनीमा काम गर्न जाऊन् । तर उनीहरू नेपालमै पनि राम्राराम्रा काम सिर्जना गर्न सक्छन् भन्ने कुरा हामी सिकाउन खोज्दै छौँ । नेपालमा पनि धेरै काम छन् ।

तपाईँको संस्थाको सपना पनि यही हो ?

मेरो संस्थाको सपना भनेको विद्यार्थीहरूलाई यही देशमा उत्कृष्ट शिक्षा दिनु हो, बेलायती प्रमाणपत्र दिलाउनु हो, विश्वव्यापी अनुसन्धानका आधारमा हरेक वर्ष अद्यावधिक भएको पाठ्यक्रम पढाउनु हो । हामी हाम्रा शिक्षकलाई पनि आफ्नो कक्षाको सिकाइ वातावरण विश्व स्तरको बनाउन प्रशिक्षित गर्छौँ । म पि्रन्सिपल भएदेखि नै यही कुरा जोड दिइरहेको छु, किनकि तपाईँको वर्तमान अवस्थितिले भोलि तपाईँ कहाँ जान चाहानुहुन्छ भन्ने कुरा नियन्त्रण गर्नुहुँदैन । अन्य बालबालिकाले जस्ता शैक्षिक अवसर पाइरहेका छन्, ती अवसरबाट यहाँका बालबालिका पनि वञ्चित नहोऊन् भन्ने चाहान्छु ।

तपाईँको संस्थालाई अन्य कलेजभन्दा भिन्न बनाउने तत्व पनि यही नै हो ?

यहाँका हरेक कलेज आफैँमा विशिष्ट छन् । मलाई मेरो संस्था यस्तोउस्तो भनेर बेच्नु छैन किनकि म व्यापारी होइन । यो त मेरो लगानी हो । मलाई थाहा छ हरेक विद्यार्थीका लागि हरेक विद्यालय उपयुक्त हुन सक्दैन । कुनै प्लस टुका लागि राम्रा होलान्, कुनै ए लेभलका लागि ।

अभिभावकले पनि यो कुरा बुझ्नुपर्छ कि हरेक बालबालिका छुट्टाछुट्टै व्यक्ति हुन् । शिक्षाकर्मीले पनि बालबालिकाको आफ्नोपनालाई कदर गर्नुपर्छ र उनीहरूले सिक्न चाहेको कुरा सिकाइदिनुपर्छ । आजका बालबालिका स्थानीय सँगसँगै विश्वकै नागरिक भएको पनि उनीहरूले बुझ्नुपर्छ । आजको समय हिजोको भन्दा फरक हो भन्ने बुझ्नुपर्छ ।

तपाईँले भन्न खोज्नुभएको अलि बुझिएन । शिक्षा सैद्धान्तिक भयो, व्यावहारिक हुनुपर्‍यो भन्ने भनाइ हो ?

सैद्धान्तिक र व्यावहारिक शिक्षाको मिश्रण आवश्यक छ । प्रविधिको विकासलाई सकारात्मक रूपमा लिइनुपर्छ । आजका बालबालिका हुर्कनका लागि नयाँ वातावरण दिइनुपर्छ । हरेकलाई छुट्टाछुट्टै किसिमले सिक्ने अधिकार छ । कसैलाई कुनै विषयमा सैद्धान्तिक ज्ञान चाहिएला, कसैलाई अन्य विषयमा व्यावहारिक तथा प्राविधिक ज्ञान चाहिएला । यो कुरा व्यक्तिको सिकाइ शैलीमा भर पर्छ ।

हामीले विद्यार्थीलाई सिकाएको कुरा उनीहरूले आफ्ना दैनिक जीवनमा प्रयोग गर्न सक्ने हुनुपर्छ । त्यसैले हामी उनीहरूलाई हरेक कुरा एकअर्कामा जोडिएका छन् भनेर सिकाउँछौँ ।

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *