५० हजार ट्विटर फलोअर भएका ट्याक्सी चालक

नियम छैन न्याय छैन देशमा असल सरकार छैन,
महलबाट राजनीति जनतासँग नेताको प्यार छैन,
नुनदेखि सुनसम्म सप्पै विदेशीकै भर पर्नुपर्छ,
निर्धक्क खुलेर स्वाभिमान हुँ भन्ने आधार छैन’

यो मुक्तक कुनै नाम चलेका साहित्यकारले लेखेका होइनन्। कुनै पत्रपत्रिकाबाट लिइएको पनि होइन। यो दीपक नेपालले गरेको ट्विट हो। र, उनी ट्याक्सी चालक हुन्।

यस्तै मुक्तक र गजलहरू लेखेर ट्विट गर्ने दीपक ‘सेलेब्रेटी’ जस्तै बनेका छन्।

मंगलबार मध्याह्नसम्म ट्विटरमा उनलाई ५० हजार ५ सयले फलो गरेका छन्। उनले २ सय ३१ जनालाई फलो गरेका छन्। उनको एउटा ट्विट एकदमै धेरै रिट्विट भएको छ, जुन ४ हजार ७ सयभन्दा बढी छ।

दीपक नेपाल। तस्बिरः सेतोपाटी

‘धेरै ठूलो काम गर्नु पर्दैन नाम कमाउनलाई,
बस् सही बाटो हिँड, सत्य बोल, सबै इज्जत गर,
आफ्नो लागि भन्दा पनि अरूको लागि सोच,
सबैले चिन्ने छ तिमीलाई’

यो उनको ‘पिन्ड ट्विट’ हो। उनी आफ्नो जीवनका कदमलाई यही मुक्तकअनुसार चलाउन चाहन्छन्। दिनभर ट्याक्सी चलाउन व्यस्त रहने ३० वर्षीय दीपक फुर्सद हुनासाथ ट्विट गर्न रूचाउँछन्।

‘बेला बेला हेलो सरकारलाई पनि गुनासो गर्ने गरेको छु। सोमबार तरकारी किन्न जाँदा अदुवाको भाउ एकदमै महँगो रहेछ। किलोको ३ सय रे। कालिमाटीमा भने १ सय ९५ रुपैयाँ रहेछ,’ उनले आफ्नो ट्विट देखाउँदै भने, ‘यसबारे हेलो सरकारलाई यसो सोधेको थिएँ। अहिलेसम्म (मंगलबार) हेलो सरकारले रिप्लाई गर्या छैन।’

दीपकले सन् २०१३ बाट ट्विटर चलाउन थालेका हुन्। त्यो बेला उनी वैदेशिक रोजगारका सिलसिलामा कुवेत पुगेका थिए। घरपरिवार, साथीभाइ र आफ्नो देशबाट टाढा रहँदा उनको नजिकको साथी बनेको थियो ट्विटर। आफ्ना भावना पोख्नेदेखि साथीभाइसँग सम्पर्कमा रहन उनले यही सामाजिक सञ्जालको सहारा पाए।

‘उता हुँदा एक्लोपन महशुस भइरहेको थियो। पीडा पोख्ने ठाउँ भएन। म पहिलेदेखि साहित्यमा रूचि राख्थेँ। आफ्ना भावना मुक्तकमै पोख्थेँ,’ उनले भने, ‘ट्विटरबारे थाहा थियो। पछि अरूको एकाउन्ट देखेर चलाउन थालेँ। मुक्तक हाल्दै गएँ। विस्तारै चलाउँदै गएपछि त लतजस्तै हुँदो रहेछ यो पनि। तेरो फलोअर कति, मेरो कति भनेर साथीहरूसँग बहस पनि हुने रैछ।’

विदेश हुँदा ट्विटरमा मुक्तकका दोहोरी नै चल्ने गरेको उनी सम्झिन्छन्।

‘नेपाल आएपछि दोहोरी रोकिएको छ। आफूले लेखेर मात्रै हाल्ने गरेको छु,’ उनले भने। 

उनका ट्विट प्रेमिल पनि हुन्छन्। राजनीतिक गुनासा पनि समेटिन्छन्। यसबाहेक आफ्नो ट्याक्सी पेसाबारे पनि केही न केही भनिरहेका हुन्छन्।

ट्विटरमा पत्रकार र राजनीतिक दलका केही नेताहरू पनि उनका ‘साथी’ छन्। प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपा नेता योगेश भट्टराई र विवेकशील पार्टीका उज्वल थापा लगायत उनका साथी छन्। थापासँग उनको कुराकानीसमेत भएको उनी बताउँछन्। उनका अनुसार स्वर्गीय रवीन्द्र अधिकारीसँग पनि ट्विटर संवाद हुन्थ्यो।

उनलाई राजनीतिमा खास चासो भने छैन। आफूले अहिलेसम्म मतदान पनि नगरेको उनी बताउँछन्।

धादिङ घर भएका दीपक स्नातक पढ्दापढ्दै दुबई गएका थिए। पछि कुवेत गए। झन्डै पाँच वर्ष विदेश बसेपछि दुई वर्षअघि फर्केका हुन्। ट्याक्सी चलाउन थालेको त तीन महिना मात्रै भयो। फर्किनेबित्तिकै केही समय विभिन्न काममा अलमलिए पनि अब यही पेसा अपनाउने उनको योजना छ।

सामाजिक सञ्जालमा सक्रिय हुँदा उनलाई आफ्नो पेसामा फाइदा पनि भएको छ। विदेशबाट नेपाल आउनेहरूले उनलाई विमानस्थलसम्म ट्याक्सीका लागि बोलाउँछन्।

‘विदेशबाट म हिँड्न लागेको, विमानस्थलमा आउनुस् है भन्नेहरू धेरै हुनुहुन्छ। मैले विमानस्थलमा निःशुल्क फोन हुन्छ, मलाई यो नम्बरमा गर्नुस् भन्छु। भाइबर र इमोमा पनि सम्पर्क गर्नुहुन्छ,’ आफूले प्रविधिको भरपूर उपयोग गरेको उनी सुनाउँछन्।

ट्विटरकै माध्यमबाट सम्पर्क गरेर यहीँ भने उनको ट्याक्सीमा कोही चढेका छैनन्। विस्तारै उनीहरू पनि आफ्ना ग्राहक बन्ने उनको आशा छ।

ट्याक्सी खाली भएको समयमा उनी ट्विटर सार्न थाल्छन्। साहित्यका किताबहरू पनि पढ्छन्। बिहान पत्रिका पसल पुगेर सर्रर एकसरो पढ्छन्। दिउँसो फुर्सद हुँदा मोबाइलमा अनलाइन समाचारहरू हेर्न पनि छुटाउँदैनन्।

दीपक गजल लेख्नमा पनि खप्पीस छन्।

हामी सबैको बचपन उस्तै उस्तै होइन र,
कैदी र प्रवासी जीवन उस्तै उस्तै होइन र…
चोखो हृदयको प्यार नलत्याऊ प्रियतम,
धनी र गरिबको मन उस्तै उस्तै होइन र।

कसैको यादमा हरपल हरक्षण धड्किरहने, 
घडीको सुई र धड्कन उस्तै उस्तै होइन र…
एकले आवरण पोल्ने अर्कोले आत्मा पोल्ने
आगो र मायाको जलन उस्तै उस्तै होइन र।

सन्तानको खुसीमा हाँस्दै पीडा नदेखाउने
अचानो र आमाको बदन उस्तै उस्तै होइन र।

दुई सन्तानका बाबु दीपकलाई आफूले लेखेकामध्ये सबभन्दा मन परेको गजल हो यो। उनलाई धेरै मनपर्ने मुक्तक भने प्रेम भावको छ।

‘तिमीसँग मेरो असीमित प्यार भएर होला,
जीवन जिउने एक आधार भएर होला,
दुःख, पीडा र चोट सजिलै सहन सक्छु, 
सायद तिमीले दिएको उपहार भएर होला’

यस्तै-यस्तै मुक्तक र गजल लेखेकै कारण ट्विटरमा धेरै फलोअर भएको उनी बताउँछन्। पहिलेको तुलनामा अचेल उनी थोरै ट्विट गर्छन्। सुरूआती दिनमा त दैनिक २० वटासम्म मुक्तक राखेको उनले बताए।

‘मलाई त एउटा किताबै लेख्ने विचार छ। मुक्तक संग्रह तयार हुँदैछ। उपन्यास पनि लेख्न खोज्दैछु। ट्याक्सी जिन्दगीकै बारेमा लेख्छु। किनकि यहाँ धेरैथरीका यात्रु भेटिने रहेछन्,’ उनले भने।

उनी आफू मिटरमै जान चाहे पनि कोही यात्रु जान नमान्ने गरेको बताउँछन्।

‘कोही २-५ रुपैयाँमा झगडा गर्छन्। कोही मिटरमा जाने ‍सोझो ट्याक्सी ड्राइभर भनेर उठेभन्दा बढी पैसा दिन्छन्,’ उनले आफ्नो अनुभव सुनाए, ‘कोही भने ‘भाइ कता गएर आएको, हेर्दा त पढे-लेख्याजस्तो छौ, किन ट्याक्सी चलाएको’ भनेर पनि सोध्छन्।’

त्यसरी सोध्नेलाई उनी ‘म विदेश गएर आएको, अब यहीँ केही गर्छु’ भन्दै जवाफ दिन्छन्।

प्रश्नकर्ताले उल्टै भन्दिन्छन्, ‘नेपाल बसेर काम छैन। विदेश नै फर्क, देशको स्थिति ठीक छैन। नेताहरू गतिला छैनन्। तिमीलाई गरिखान दिँदैनन्।’

देशवासीका यस्ता भनाइ सुन्दा उनलाई नराम्रो लाग्छ।

‘सरकारको छवि बिग्रिएको छ। काम गरेर खानेलाई सहज छैन। अब यही ट्याक्सी चलाउन कति गाह्रो छ। बाटो पनि ‘रफ’, चालक पनि ‘रफ’, उनले भने, ‘सरकारले कर लिएको छ तर काम गर्दैन। हाम्रो पैसा कहाँ गइरहेको छ। यो गम्भीर कुरा हो।’

तै अरूले जे-जे भने पनि उनलाई यहाँ काम गर्ने वातावरण बिग्रिनै सकेजस्तो भने लाग्दैन।

उनी भन्छन्-

‘गाउँसहर जताततै ज्ञानको ज्योति छर्नुपर्छ,
अशक्त अनि असहायको हेरविचार गर्नुपर्छ,
एकले थुकी सुकी, सयले थुकी नदी भने झैं, 
हातमा हात मिलाई विपत्तिक

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *