पकेटमारको पनि सिन्डिकेट : आ–आफ्नै एरिया, आफ्नै कोडभाषा

उपत्यकामा चल्ने विभिन्न सार्वजनिक सवारी साधनमा पकेट मार्दै आएका पकेटमारको ठूलो सङ्ख्या नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । यात्रुका रूपमा सवारी साधनमा चढेर विभिन्न कोड भाषा प्रयोग गरी पकेट मार्ने एवम् लुटपाट गर्ने ८२ जनाको गिरोहलाई प्रहरीले हालसालै सार्वजनिक गर्यो ।

उनीहरूलाई सार्वजनिक गर्ने क्रममा विभिन्न स्थानमा सञ्चालित बस तथा माइक्रोबसका यात्रुहरूको पकेट एवम् झोलामा राखिएका नगद, मोबाइल आदि चोर्दाचोर्दै ठूलो सङ्ख्यामा पकेटमारलाई पक्राउ गर्न प्रहरी सफल भएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको थियो ।

त्यसो त पकेटमारहरू पक्राउ हुने, प्रहरीले सार्वजनिक गर्ने र कारबाही गर्ने यो कुनै अद्भूत र नौलो घटना चाहिँ होइन । खासै श्रम गर्न नपर्ने, एकाध प्रयत्नमै मोटो रकम हात लाग्ने र पक्राउ परिहाले पनि फितलो कानुनी व्यवस्थाको लुते दण्ड सजायका कारण पकेटमारहरू जति पटक पक्राउ परे पनि पेसा बदलिहाल्दैनन् । मुसा बिरालोको खेल खेलेझैँ प्रहरीले पकेटमार पक्रने, सामान्य दण्ड सजायमै उनीहरू छुट्ने र पुनः पुरानै धन्दामा फर्कने अहिलेको तीतो यथार्थता हो ।

यसै सन्दर्भमा, ‘जति पटक चोरी गरेर पक्राउ परे पनि पकेटमारहरू पुनः उही पेसामा सक्रिय हुने गरेको पाइएको ! महानगरीय प्रहरी परिसर काठमाडौँमा प्रवक्ता डीएसपी होविन्द्र बोगटी बताउँछन् ।

बोगटीले भने, ‘चक्रपथमा चल्ने साना सवारी साधनलाई मात्र लक्षित गरी बनेका १० भन्दा बढी पाकेटमारका समूह छन् । सबैको आआफ्नो क्षेत्र छ । एक समूह अर्काको क्षेत्रका बसमा पाकेट मार्न जान पाउँदैनन् । बस स्टपसम्मलाई आधार मानेर क्षेत्र छुट्याउँछन् ।’ 

जसमध्ये गोंगबुबाट महाराजगञ्जसम्म एउटा समूह छ । महाराजगञ्जबाट चावहिलसम्म अर्को, चावहिलदेखि एयरपोर्टसम्म, एयरपोर्टबाट कोटेश्वरसम्म, कोटेश्वरबाट ग्वार्कोसम्म, ग्वार्कोदेखि एकान्तकुनासम्म, एकान्तकुनादेखि कलङ्कीसम्म, कलङ्कीदेखि वनस्थलीसम्म र वनस्थलीदेखि गाेंगबुसम्म छुट्टाछुट्टै समूह सक्रिय छ ।

समूहमा पकेटमार गरेपछि यस्तो आनन्द

पकेट मार्दामार्दै रङ्गेहात पक्राउ पर्छन् । पक्राउ परेका पकेटमारलाई अभद्र व्यवहारमा मुद्दा चलाइन्छ । प्रहरी हिरासतमा बढीमा २०, २२ दिन बस्छ ।

पकेटमारहरूको समूह ठूलै छ । लगभग १०, १५ जनाको । फरक–फरक ठाउँबाट ३, ४ जनाको समूहबाट पकेटमार गर्छन् । २, ४ जना पक्राउ परे भने पनि बाहिर भएका तिनका समूहका सदस्यहरूले तत्कालै उनीहरूलाई छुटाउँछन् ।

अदालतले धरौटी माग्छ । तत्कालै बाहिर रहेका उनीहरूको साथीले रकम बुझाएर छुटाइहाल्छन् । अनि फेिर संयुक्त रूपमा पकेटमारी गरेर हिँड्छन् ।

पकेटमारहरूलाई अर्को आनन्द के छ भने अहिलेका नियम कानुनीअनुसार उनीहरूलाई २१ दिनभन्दा बढी थुन्न नसकिने प्रवक्ता बोगटी बताउँछन् । उनले भने, ‘हामीले थुनेर पनि केही हुन्न । अदालतले धरौटी मागी हाल्यो भने पनि बाहिरमा साथीभाइहरूले तुन्तातुरुन्तै ल्याएर रकम दिन्छन् । आफ्नो समूहको मान्छे हो । त्यसलै समस्या केही छैन ।’

समूहमा सार्वजनिक गर्नुको कारण

पाकेटमार गरेको आरोपमा प्रहरीले आइतबार ८२ जनालाई सार्वजनिक गर्यो । ठूलो सङ्ख्यामा रहेका उनीहरूलाई एकै पटक सार्वजनिक गर्नुको कारण भने अलि फरक छ ।

प्रवक्ता बोगटीले भन्छन्, ‘पाकेटमार पेसा परिवर्तन गर्नका लागि दबाब दिने उद्देश्यले पनि ठूलो समूहमा उनीहरूलाई सार्वजनिक गरिएको हो । त्यो देखाउनका लागि भन्दा पनि अब आइन्दा पकेटमार गर्नबाट लज्जित होस् भन्ने हेतुले हो ।’

‘यसअघि पनि ७७ जना पकेटमारलाई एकै पटक सार्वजनिक गरिएको थियो,’ उनले थपे, ‘५० प्रतिशत पकेटमारलाई कारबाही भएर पकेटमारी पेसा छाडेको पाइएको छ । तर त्यसलाई विश्वास गरिहाल्ने अवस्था चाहिँ छैन ।’

त्यसैले त्यो किसिमको मानसिक दबाब दिनको लागि उनीहरूलाई ठूलो समूहमा सार्वजनिक गरिएको उनले बताए । ‘उनीहरूलाई यो पेसा चाहिँ नराम्रो नै हो भन्ने बनाउन आवश्यक छ । ताकि उसले यो पेसा छोडोस्,’ बोगटीको भनाइ छ । 

पकेटमारको पैसाले कार

पाकेटमार गरेर गाडी (कार) चढ्ने गिरोहसमेत रहेको प्रहरीले जनाएको छ । पकेटमारी गरेको पैसाले चक्रपथमा गुड्ने सार्वजनिक बस नै सञ्चालन गर्नेको पनि कमी नरहेको प्रहरी बताउँछ ।

बोगटीका अनुसार एक व्यक्तिले २, ३ वटा सार्वजनिक बस किनेर चक्रपथमा सञ्चालन गरेको पाइएको र तिनीहरूलाई पक्राउ गरिसकेको जानकारी दिए । उनले भने, ‘उसले आफ्नै बसमा समेत पकेटमार गरेको पाइयो ।’

पिक–पकेटिङमा समातिएका एक ड्राइभरको यस्तो बयान

पहिला कान्तिपुर यातायात चलाउँथे । महिनाभरमा २०, २५ हजार कमाउँथे । दुनियाँको गाली खायो । ट्राफिकले नि गाली गर्ने । यात्रुले गाली गर्ने । कमाउनु छ जम्मा २०, २५ हजार । तर पकेटमारी गर्दाखेरी आनन्द छ ।

कसैले गाली पनि गर्दैन । गाडीमा चढ्यो चोरी गर्यो । कोही बेला त दिनमै ३, ४ लाख हात लाग्छ । त्यसैले गाडी चलाउन छाडेर म त पेसागत रूपमै पकेटमारी पेसा अँगालेको हुँ ।

(यी ड्राइभर हाल परिसरको हिरासतमा छन् ।)

पकेटमारीको आफ्नै कोड भाषा

उनीहरूले पकेटमारी गर्दा एकअर्कामा साङ्केतिक भाषाको प्रयोग गर्ने गरेका छन् ।

उनीहरूले पैसालाई ‘द’, मोबाइललाई ‘कान’, पीडितलाई ‘रामे’, पकेटमारी गर्नेलाई ‘मास्टर अथवा कासी’, पैसा धेरै भएको अवस्थालाई ‘टानको द’, पैसा थोरै हुँदा ‘जुटेको द’ भनेर सम्बोधन गर्ने गरेको प्रहरीको भनाइ छ ।

त्यस्तै, गाडीलाई ‘काँचा’, केटालाई ‘छापा’, केटीलाई ‘भद्री’, प्रहरी आयोलाई ‘ठूल्दाइ आयो’, ड्राइभरलाई ‘माम’, खलासीलाई ‘मले’, गाडीबाट झरेर भागभन्दा ‘टप्की’, गाडीभित्र अगाडि सरभन्दा ‘अकल जा’ र गाडीभित्र पछाडि सर्न लगाउँदा ‘चिछल जा’ भन्ने गरेको पाइएको छ ।

उपत्यकामा पकेटमारलाई कसरी नियन्त्रणमा गर्न सकिन्छ ? परिसरका प्रवक्ता होविन्द्र बोगटीको १० टिप्स :

१. पहिलो त पकेटमारी र चोरीलाई नियन्त्रण गर्न कडाभन्दा कडा कारबाही हुनुपर्छ ।

२. उनीहरूलाई पकेटमारी व्यवसायबाट फिर्ता ल्याउने हो भने रोजगारीको अवसर, ट्रेनिङ अथवा केही सीपमूलक तालिम दिने व्यवस्था आवश्यक छ । यति गर्न सक्यौँ भने पकेटमारहरू आफ्नो पेसा परिवर्तन गर्न पनि सक्छन् ।

३. प्रहरीले समातेर पनि केही गर्न सक्दैन भन्ने बुझाइ उनीहरूमा छ । पकेटमारहरूलाई अरू सजायभन्दा डबल सजाय हुनुपर्छ । २१ दिन जेल राखेर मात्र हिरासतमा राखेर हुँदैन ।

४. उपत्यकामा चल्ने सार्वजनिक यातायातहरू एकदमै साना–होचा छन् । होचा–साना सवारीमा कोच्चिएर खाँदिएर यात्रा गर्नुपर्ने अवस्था छ । सीसीटीभी पनि छैन । यात्रुहरू कोचाकोच भएर एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन्छ ।

ठूला–ठूला बसहरूमा यस्ता समस्या छैन । जस्तो साझा बसमा यस्तो समस्या नै छैन । एकदम सुरक्षित छ  । सीसी क्यामेरा छ । पछाडिबाट चढ्ने र अगाडिबाट ओर्लने सिस्टम छ । साझा बसका चालक, सह–चालक जिम्मेवार सभ्य पनि छन् ।

साझा बस जस्तै अन्य सवारी साधनलाई पनि यसरी नै व्यवस्थापन गर्नुपर्छ । साना माइक्रो बसमा मान्छे कोचाकोच गरेर यात्रा गर्नुभन्दा पहिला गाडीको क्षमताअनुसार चलाउने सिस्टम ल्याउन जरुरी छ । यसो भएको खण्डमा अपराधी पकेटमार कार्यमा संलग्न पाउँदैनन् ।

५. हिजो सार्वजनिक गरेका पकेटमारलाई सार्वजनिक गर्नुको उद्देश्य ठूलो सङ्ख्यामा देखाउन होइन । सार्वजनिक गरेको अर्थ के भने यिनीहरूलाई समाजमा उदाङ्गो बनाउने हो । यो निच पेसा हो । लज्जित भएपछि आफै यो पेसा छाड्ने मनस्थितिमा पुग्न सक्छन् ।

६. कोही उपचार गर्न गइरहेको बेला थुतेको छ । कसैको विदेश जान लागेको पैसा । कसैको गाउँ जान लागेको पैसा । २०, ५० हजार बोकेर हिँडेको पैसा लुटिएको अवस्था छ । यस्तो विकराल अवस्थाबाट उपत्यकालाई पाकेटमारमुक्त कसरी बनाउनेतर्फ राज्यको ध्यान जान पनि जरुरी छ ।

७. बसमा यात्रुले नै कुनै व्यक्तिले शङ्कास्पद इसारा गर्दा वा नयाँ शब्द बोल्दा सचेत हुनुपर्छ ।

८. फितलो कानुनका कारण उनीहरू सहजै छुट्छन् ।  फेरि सोही काममा लाग्छन् । त्यसैले पाकेटमारसम्बन्धी छुट्टै कानुन ल्याउन जरुरी छ ।

९. बसमा धकेलाधकेल हुँदासाथ यात्रुले आफूसँग भएको सामानमा निगरानी बढाउनुपर्छ । नत्र जुनकुनै बेला पर्स, सिक्री, झोलालगायत तानेको थाहै हुन्न । त्यसैले यो टिप्स सबैभन्दा महत्त्वपूर्ण छ ।

१०. गाडीमा चढ्दा पनि सर्टेन क्षमतामा मात्र चढ्ने व्यवस्था गर्नुपर्छ । यो चाहिँ सम्बन्धित यातायात कार्यालयले व्यवस्थापन गर्नुपर्छ ।

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *