जसले शीतललाई शीलत‘जी’ बनायो

सपनाबिनाको मानिस सायदै होला । मानिस फरक र ती फरक मानिसले बुन्ने सपना पनि फरक । कतिपयको सपना वास्तविकतामा परिणत होला त कतिलाई सपनामा रमाउँदै बाँच्नुको विकल्प नरहला । तर जुन सपनाले आफूलाई साथ दिँदैन त्यो सपना होइन, जुन काम आफूले राम्रो गर्न सकिन्छ, त्यही गरेकै राम्रो भन्ने मूल मन्त्र शीतल श्रेष्ठले सिकेकी छन् ।

सपना त उनको सफल कलाकार बन्ने थियो । जतिबेला धनकुटाबाट मोडेल बन्ने सपना बुनेर काठमाडौँमा भित्रिएकी थिइन् । उनलाई लागेको थियो, एक दिन ठुलै मोडेल बन्ने छु र दुनियाले आफूलाई चिन्नेछ । सोहीअनुसार उनले मिहिनेत पनि गरिन् । एक, दुई दोहोरी गीतमा अभिनय गर्न पाएकी उनलाई सपना देख्न त जे देखे पनि हुने रहेछ तर त्यसलाई पूरा गर्न जोकसैले नसक्दो रहेछ भन्ने महसुस हुन थाल्यो । कतिपय सपना आफूले चाहेर मात्र नहुँने रहेछ । पृष्ठभूमिका तत्वसँग मेल नखाए सपना सफल हुन सकस पर्छ भन्ने उनलाई अहिले लाग्न थालेको छ ।

श्रम शोषण, पितृसतात्मक भावना, महिलामाथिको पुरुषको दृष्टिकोण र व्यवहारले उनलाई धेरै समय मोडलिङ पेसामा टिक्न दिएन । हुन त उनका बाबुआमा पनि छोरी मोडल बनेकामा खासै खुसी पनि थिएनन् । त्यसका बाबजुत पनि आमाबाबुको सपना र इच्छालाई एकातिर राख्दै आफ्नै सपनाको पछाडि दौडिरहिन् । मोडलिङबाट पटक पटकको दुःख, आर्थिक रूपमा कमजोर र आत्मग्लानि बाहेक केही पाइनन् । उनी पिरोलिन थालिन् र  आफूले आफैलाई प्रश्न गरिन्, ‘समाजले राम्रो नजरले हेर्न नसकेको पेसामा हामफालेर  आखिर मैले के पाएँ ? न त मेरो सङ्घर्ष नै  कामयावी भयो ।’

काठमाडौँमा टिक्न पढाइ होइन, कमाइ चाहिन्छ भन्ने चेत पनि मोडलिङबाट पाउन नसकेको सफलताले महसुस गरायो । त्यसपछि मोडलिङ पेसालाई तिलाञ्जली दिँदै उनी पैसा कमाउनका लागि क्यासिनोमा काम गर्न थालिन् । त्यहाँको कमाइले पनि बाँच्नै मुस्किल भयो । उनको एकपछि अर्को प्रयास विफल हुँदै गइरहेको थियो तर पनि हार मानिनन् ।

एउटा प्रयास असफल हुँदा सबै प्रयास असफल हुँदैनन् । भनिन्छ नि, एउटा ढोका बन्द हुँदा हजारौँ ढोका तपाईंका लागि खुल्ला हुनेछन् । त्यसपछि शीतल एकपछि अर्को प्रयास गर्दै गइन् । उनका अगाडि हजारौँ ढोकाहरू खुला हुदै गइरहेका थिए ।

भीआईपीहरूको जक्सन बन्यो अर्गानिक चुलो

जीवन निर्वाहका लागि सपना होइन पैसा चाहिने रहेछ भन्ने कुरा शीतलले राम्ररी बुझेकी छन् । उनी भन्छिन्, ‘मोडलिङबाट आत्मसम्मान पाइनँ । क्यासिनोबाट पनि राम्रो आम्दान्ी गर्न सकिनँ । अरूको जागिरभन्दा पनि आफैले केही गर्नुपर्छ भन्ने कुरा लागेपछि म होटल व्यवसायतर्फ लागेकी हुँ । रेस्टुरेन्ट त खोल्ने तर कस्तो बनाउने कुनै आइडिया थिएन । एक साथीसँग मिलेर अर्गानिक चुल्हो नाम गरेको रेस्टुरेन्ट खोले ।’

तर अहिले उनको एकल लगानीमा सो रेस्टुरेन्ट चलिरहेको छ । साथीले लगानी फिर्ता लिइसकेका छन् । काठमाडौँ पुरानो बानेश्वरबाट बत्तीसपुतली जाँदै गर्दा देब्रेपट्टि अर्गानिक चुल्हो छ । अहिले अर्गानिक चुलोमा मार्सी चामलको भात खानेहरू प्रशस्तै देखिन्छन् । जहाँ प्रायः भीआईपीको आगमन हुने गरेको  छ । शान्त र सत्कारयुक्त वातावरणमा जोकोहीलाई बसौँ बसौँ लाग्छ । प्रदूषित खानेकुराहरू पाइने काठमाडौँमा अर्गानिक खानेकुरा विरलै पाइन्छ । स्वस्थ र हाइजेनिक खानेकुराका लागि गाउँमै पुग्नुपर्छ भन्ने मान्यतालाई अर्गानिक चुलोले तोडेको छ । सञ्चालन भएको २ वर्षमा १५ जना कर्मचारी राखेर काम लगाउन सक्षम पनि भइसकेकी छन् शीतल ।

उनको रेस्टुरेन्टमा प्रायजसो नेता तथा कलाकारहरू आउने गर्छन् तर त्यहाँ सर्वसाधारणको उपस्थिति पनि कम छैन ।

रोजगारीको माध्यम बनिन् शीतल

कुनै समय अरूले जागिर देला भनेर भौँतारिने शीतल अहिले आफैले अरूका लागि रोजगारी सिर्जना गरिदिएकी छन् । उनको रेस्टुरेन्टमा अहिले १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । केटी मान्छे एक्लैले के गर्न सक्छ भन्ने पितृसतात्मक सोचलाई शीतलले प्रहार गर्न सफल भएकी छन् ।

पछिल्लो समय राजनीतिक नेतृत्वमा व्यापक चर्चामा आएको खाना हो– मार्सी चामलको भात । सामान्य खानाभन्दा केही फरक मात्र नभई स्वादिलो र स्वास्थ्यका लागि पनि लाभदायक छ । शीतलले आफ्नो अर्गानिक चुलोमा मार्सी चामलको भातलाई मुख्य मेन्युमा राखेकी छिन् । उनले यो व्यवसाय सुरु गर्दादेखि नै जुम्लादेखि आफैले मार्सी चामल मगाएर सेवा प्रवाह गर्ने गरेकी छिन् ।

व्यवसायपछि शिलतबाट शीतल‘जी’ बनिन्

शीतल अहिलेको व्यवसायबाट सन्तुष्ट छिन् । उनका परिवारले पनि  प्रोत्साहन दिने गरेका छन् ।  उनी भन्छिन्, ‘मलाई पहिला शीतल भनेर बोलाउनेहरूले व्यवसाय गर्न थालेपछि शीतल‘जी’ भन्न थालेका छन् ।’

 बल्ल आत्मसम्मान पाएको महसुस भएको छ  उनलाई । अविवाहित एक्लैले व्यवसाय सम्हाल्दा कतिपयले उनलाई नै प्रश्न उठाउँने गरेका छन् । उनी भन्छिन्, ‘शीतललाई त केटाहरूले सपोर्ट गरेको छ । उनीहरूले लगानी हाल्दिन्छन् जस्ता नकारात्मक कुरा काट्ने गरेको सुनेकी छु । अब मलाई कुरा काट्नेहरूसँग मतलब छैन । आफूसँग केही नहुँदा फर्केर पनि नहेर्ने समाजले केही गर्न खोज्दा खुट्टा तान्न थाल्दोरहेछ   ।’

अब त शीतललाई अरूले के भन्छ होइन आफूले के गरिरहेको छु भन्नेसँग मतलब छ । हरेक दिन नयाँ नयाँ पाहुनाको राम्रो सत्कार गर्नसँग मतलब छ । कसैको सहानुभूति होइन आत्मसम्मानसँग मतलब छ । कसरी सफल व्यवसायी बन्ने भन्नेसँग मतलब छ ।

Be the First to Advertise Us


Sano Pasal

———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *