मकैको मःम, मकैको चाउमिन, मकैकै थुक्पा

सहरमा विभिन्न ब्रान्डका रेस्टुरेन्ट सञ्जाल खुल्ने क्रम बढेको छ। धेरैजसोका स्वाद भने एकनासे छन्। मेनुमा नयाँ परिकार पाउन मुश्किल छ। अधिकांशको रोजाइ मःम, चाउमिन, पिज्जा वा मासुजन्य परिकार नै हुन्छन्।

रेस्टुरेन्टको यो भिडमा यस्तो ठाउँ पनि छ, जहाँ मकैको परिकार मात्र पाइन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ।

चाबहिल चोकको ‘मिस्टर कर्न’ ले करिब दुई महिनादेखि मकैका विभिन्न परिकार पस्केर अलग्गै पहिचान बनाउन खोजेको छ।

मकै भन्नेबित्तिकै धेरैको दिमागमा सडककिनार धुवाँ उडाउँदै पोलिने मकैका घोगाको तस्बिर आउन सक्छ। वा, एकाध क्याफेमा बेच्न राखिएका उसिनेका मकै, सिनेमा हलमा पाइने ‘पपकर्न’ वा कुनै नेपाली भान्छाघरमा पाक्ने ढिँडो र च्याँख्ला।

‘मिस्टर कर्न’ ले यी सबैभन्दा फरक मकैका नौला-नौला परिकार चखाउँछ। यसमा अमेरिकन कर्न, बोयल कर्न, स्विट कर्न, पकौडा, बर्गर लगायत प्रमुख छन्। यसबाहेक मकैको मम:, चाउमिन, थुक्पा, कर्न डग्स, सुपजस्ता परिकार यहाँका आकर्षण हुन्।

हाम्रो स्वादबाट ओझेल परेका मकैका परिकारलाई रेस्टुरेन्टको भान्छामा फर्काउन लागिपरेका व्यवसायी हुन्, दुर्गाबहादुर सुवेदी र राजकुमार अधिकारी। उनीहरूको व्यवसायलाई नयाँ रूप दिन मकैका विविध परिकार तयार पार्ने ‘सेफ’ हुन्, मोरङका कमल सुवेदी।

यहाँ केही समयमै मकैको चिया पनि मेनुमा थप्ने तयारी हुँदैछ। कमल भन्छन्, ‘मकैको जुँगाबाट चिया बनाउन सकिन्छ। यो स्वास्थ्यका लागि लाभदायक हुन्छ।’

मकैका लागि उब्जाउ गाउँका पाखाबारी, खोरिया र अन्य ठाउँ बाँझो हुँदै गएका बेला सहरी उपभोक्तालाई मकैको स्वाद चखाउने यो रेस्टुरेन्टको सुरूआत कसरी भयो?

‘बढ्दो सहरी संस्कृतिले मकैका परिकारलाई दुःखीको खान्की ठान्न थाल्यो। जसका चुह्लामा मकै पाक्छ, ऊ गरिब कहलिन थाल्यो,’ कमल भन्छन्, ‘हामी यही सोच बदल्न चाहन्छौं।’

पछिल्लो समय वैदेशिक रोजगार नेपाली अर्थतन्त्रको मूल आधार बन्दै गएका बेला ‘मिस्टर कर्न’ त्यही वैदेशिक रोजगारको सह-उत्पादन हो। 

वैदेशिक रोजगारबाट फर्केका दुर्गाबहादुर र सिभिल इन्जिनियर राजकुमारको आइडियाले यो रेस्टुरेन्ट जन्माएको हो।

‘विदेशबाट फर्केपछि स्वदेशमै केही गरौं भन्ने हुटुहुटी हुँदो रहेछ,’ दुर्गाबहादुरले रेस्टुरेन्ट सुरू गर्दाको क्षण सम्झिए, ‘प्रायः हामी सँगै मर्निङ वाक जान्थ्यौं, त्यही बेला जन्मिएको आइडिया हो यो।’

उनीहरूको सपनामा सारथी बन्न आइपुगे, कमल। उनी स्वयं पनि मकैका परिकार विज्ञ होइनन्। न दुर्गाबहादुरसँग परिकार तयार पार्ने सीप थियो। सिभिल इन्जिनियर राजकुमारलाई त यससम्बन्धी जानकारी हुने कुरै भएन।

साउदीमा रेस्टुरेन्ट व्यवस्थापन हेरेका र स्वदेश फर्किएपछि घरजग्गा कारोबारमा लागेका दुर्गाबहादुरसँग क्याफे चलाउने केही आइडिया थियो भने बहराइन र जापान गरी नौ वर्ष रेस्टुरेन्टको भान्छामा बिताएका कमलसँग विभिन्न परिकार परीक्षण गर्ने खुबी थियो। यसैलाई समायोजन गरेर उनीहरूले ‘मिस्टर कर्न’ सुरू गरेका हुन्।

विदेशमा मकैबाट बन्ने विभिन्न थरीका परिकार उनीहरूले नचाखेका होइनन्, तर त्यसैलाई नेपालमा सुरू गर्दाको अनुभव भने भिन्न छ।

यहाँ मकै भन्नेबित्तिकै ढिँडो वा भुटेको, पोलेको र उसिनेको मकै ठान्ने चलनले केही समय उनीहरूलाई आफ्ना परिकार चिनाउनै हम्मै पर्यो। कामदार र दक्ष ‘सेफ’ खोज्न पनि गाह्रो परेको उनीहरू बताउँछन्।

आखिरमा रेस्टुरेन्टमा काम गर्दाको अनुभवका आधारमा दुर्गाबहादुर र कमलले भान्छामा काँचो मकै लगेर उसिन्ने र मरमसला हालेर अनेक परिकार बनाउँदै, चाख्दै गर्न थाले। जुन जुन परिकारको स्वाद उनीहरूलाई चित्त बुझ्यो, त्यही त्यही परिकार मेनुमा समेटे। यसमा युट्युबका ‘रेसिपी’ ले पनि सघाएको दुर्गाबहादुर बताउँछन्।

कमलका अनुसार तराईका दूधे मकैबाट खासै परिकार बन्दैनन्। पहाडी क्षेत्रका दूधे मकै उपयुक्त हुन सक्छ, तर ढुवानी कष्टकर छ। भनेजस्तो मकै नपाउँदा उनीहरूले इजरायल र अमेरिकाबाट आयातीत प्याकेट मकैको भर पर्नु परेको छ।

‘यहीँका हरिया मकै पनि उपयुक्त हुन्थ्यो होला, तर छोडाउन समस्या भयो। आयातीतमा जुँगा, खोया आदिका अवशेष हुँदैनन्, हामीकहाँ दूधे मकै छोडाउने उपकरण नै छैन,’ कमल भन्छन्।

बजारमा इजरायलबाट प्रशोधन गरेर ल्याइएका प्याकेटका दूधे मकै उपलब्ध छन्। ती मकै प्रतिकिलो अढाई सयदेखि तीन सय रूपैयाँसम्म पर्छ। त्यसको तुलनामा स्वदेशी मकै धेरै गुणा सस्तो हुन्छ। तर, प्रशोधन अभावमा प्रयोग गर्न नसकेको उनले बताए।

‘स्वदेशी मकै पोलेर र उसिनेर बेचबिखन भइरहेका छन्, त्यसलाई परिकारमा ढाल्न सकिएको छैन,’ उनले भने, ‘मकैका परिकार पस्किएर रेस्टुरेन्ट संस्कारलाई बढावा दिनेभन्दा नेपालीहरूको भातभान्छामा पोसिलो मकै छिराउने हाम्रो लक्ष्य हो।’

मिस्टर कर्नमा पाइने मकैका परिकार २० रुपैयाँबाट सुरू भएर २५० रूपैयाँसम्मका छन्।

Be the First to Advertise Us


Sano Pasal

———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *