‘गेम चेन्जर आयोजना’ समृद्धिका आधार

रामजी बगाले 

काठमाडौं । ‘समृद्धि’ पछिल्लो समय नेपालमा सबैभन्दा चर्चाको शब्द बनेको छ । समृद्धि सबैको चाहना हो । हरेक नागरिकको चाहना समृद्ध राष्ट्र र समृद्ध जीवनको हो । कोही पनि नागरिक गरिबीमा जीवन जीउन चाँहदैन भने गरिब भएर मर्न चाहँदैंन । त्यसैले त नेपालमा कहिले स्वीजरल्याण्डको जस्तो नेपाल बनाउने चर्चा हुन्छ भने कहिले सिंगापुर जस्तो नेपाल बनाउने चर्चा हुन्छ । यस्तो चर्चाबीच हामीले केही पुस्ता यतिकै गुजार्यौंैं । तर, समृद्धि नेपाली जनताको भागमा परेन । हामीलाई पनि अमेरिका, जापान, चीनकै जस्तै फराकिला सडक, तीब्रगतिको रेल, उचित शिक्षा, स्वास्थ्य उपचार, सामाजिक सुरक्षा र बलियो राष्ट्रको चाहना छ । समृद्ध संसारसँगै एकाकार भएर हिंडने चाहाना छ । नेपालको हरियो पासपोर्ट देख्नेबित्तिकै विश्वको कुनै पनि बिमानस्थलमा अपमानित हुनु नपरोस । हाम्रा नेपाली दाजुभाई दिदिबहिनीले खाडी र मलेसियामा आफ्नो श्रम र शरीर बेच्नु नपरोस । नेपालमै सम्मानित भएर काम गर्न रोजगारी पाइयोस । नेपाल विश्वकै शैक्षिक केन्द्र बनोस र हाम्रा विधार्थीहरु अध्ययनका नाममा अमेरिका, युरोप, अष्ट्रेलियामा जानु नपरोस ।

आखिर यो सबै कसरी हासिल हुन्छ ? यसकालागि सबैभन्दा पहिलो शर्त भनेको बलियो अर्थतन्त्र हो । कहिले हुन्छ नेपालको अर्थतन्त्र बलियो ? दिनहुँ आइरहेका आयात र निर्यातका तथ्यांक हेर्ने हो भने नेपालको अर्थतन्त्र डामाडोल छ । हाम्रो निर्यातले पेट्रोलमात्र पनि आयात गर्न नपुग्ने अवस्था छ । दिेशबाट नेपाली दाजुभाई दिदिबहिनीले पटाएको रेमिट्यान्स खाधान्न किन्दै सकिन्छ । उपभोग बढ्दै गएको छ र उत्पादन घट्दै गएको छ । यस्तोमा नेपालले कसरी समृद्धि हासिल गर्ला भन्ने प्रश्न सबैभन्दा चुनौतीपुर्ण प्रश्न हो । तर पछिल्लो समयमा नेपालले समृद्धिका लागि घोषणा गरेका केही ठूला योजनाले नेपाललाई समृद्धितिर लैजाने आशा बढाएको छ । नेपालको विकासका लागि गेमचेन्जर भनिएका ठूला पूर्वाधार आयोजना निर्माण भए नेपालको विकासले कोल्टे फेर्ने विकास तथा पूर्वाधार विज्ञ डा सूर्यराज आचार्य बताउँछन् ।

आशालाग्दा ठूला पूूर्वाधार

जुनसुकै देशको विकास र समृद्धिका लागि मुख्य शर्त भनेकै पूर्वाधार मानिन्छ । सडक, बिमानस्थल, पुलदेखि अन्य पूर्वाधारको विकास भए देश समृद्ध देखिन्छ । विश्वका विकसित देशहरुलाई हेर्ने हो सबैको ध्यान भौतिक विकासमा अडिन्छ । उच्च भौतिक विकासले देशको समग्र विकासमा भूमिका खेल्छ । पूर्वाधार बलियो भए उद्योगधन्दासँगै, कृषि, पशुपालन तथा व्यापारमासमेत युगान्तकारी परिवर्तन हुन्छ । पछिल्लो समय तीब्र आर्थिक विकास गरिरहेका दक्षिण कोरिया, चीन, भियतनामजस्ता देशहरुले भौतिक विकाससँगै समृद्धि हासिल गरेको आचार्य बताउँछन् । यस्तोमा नेपालले पछिल्लो समय भौतिक पूर्वाधारका योजनामा ध्यान दिनुले समृद्धिको यात्रा आशलाग्दो बनेको आचार्य बताउँछन् । आचार्य नेपालले अहिले चर्चामा रहेको केरुङ–काठमाडौं रेलमार्ग, पूर्व पशिचम रेलमार्ग तथा दू्रतमार्ग जस्ता ठूला पूर्वाधारमा मुख्य ध्यान दिनुपर्छ । ‘यस्ता आयोजना नै देशको विकासका लागि गेमचेन्चर बन्न सक्छन’, आचार्य भन्छन ।

हुन त सरकारले अहिले ठूला पूर्वाधारकै रूपमा सरकारले घोषणा गरेको २२ वटा राष्ट्रिय गौरवका आयोजनादेखि लगानी सम्मेलमार्फत अगाडि सारिएका ७१ वटा आयोजनासम्म छन् । लगानी सम्मेलनले भने निर्माण सुरु नभएका नयाँ र राष्ट्रिय गौरवका आयोजनालाई नै समेटर लगानी प्रस्ताव गरेको हो । सरकारले आफैं निर्माण गर्ने घोषणा गरेको काठमाडौं तराई जोड्ने द्रुत मार्ग निर्माण गर्न सवा एक खर्ब लगानी लाग्ने देखिएको छ । साढे पाँच खर्ब खर्चेर उपत्यकामा मेट्रो रेल बनाउने योजना धमाधम बनिरहेको छ । मध्यपहाडी र हुलाकी राजमार्गमा १०÷१० वटा नयाँ शहर, पाँचवटा स्मार्ट सिटी र चारवटा स्याटेलाइट सिटी सहरी विकासको आशालाग्दा योजना अगाडि आएका छन् ।

१२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना, अन्तिम चरणमा रहेको माथिल्लो तामाकोसी, निर्माण घोषणा भएको पन्चेश्वर, कर्णाली सिचापानी, माथिल्लो कर्णाली जलविद्युत्, अरुण तेस्रोसहितका जलविद्युत्का आयोजना पनि देश विकासको आशालाग्दा योजना हुन । ठूला सिमेन्ट उद्योगमा ड्यागोटे र रिलाइन्स, होङ्सीसहित विदेशी कम्पनी, सिंचाई अन्तर्गतका सुनकोशी मरिन ड्राइभर्सन, सिक्टा सिँचाइ आयोजना, भेरी बबई डाइभर्सनसहितका योजना पनि राष्ट्रको आशा र भरोसाको परियोजना हो । यस्तै बाहिरी चक्रपथ, पूर्व पश्चिम रेल, मेट्रो तथा मोनो रेल, मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका मास ट्रान्सपोर्ट, दुई छिमेकी देश जोड्ने रेल, ७५ वटै जिल्ला जोड्ने इन्टरनेटको सूचना महामार्ग, सडकसहितका निर्माणाधीन हुन वा निर्माण गर्नुपर्ने आयोजना हुन् । यी आयोजना नेपालको विकासको निम्ति सम्भावना बोकेका र राष्ट्रिय महत्वका आयोजना हुन् ।

राष्ट्रिय गौरवका आयोजनालाई बजेट
आयोजनाको नाम
बजेट (रुपैयाँमा)
काठमाडौं तराई मधेश द्रुत मार्ग १५ अर्ब
हुलाकी राजमार्ग १३ अर्ब ६३ करोड
बूढीगण्डकी जलविद्युत् १३ अर्ब ५७ करोड
मध्यपहाडी लोकमार्ग १२ अर्ब १९ करोड
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ८ अर्ब
रेल, मेट्रो तथा मोनो रेल विकास आयोजन ७ अर्ब ६९ करोड
मेलम्ची खानेपानी ७ अर्ब ३८ करोड
उत्तर दक्षिण राजमार्ग ५ अर्ब
भेरी बबई डाइभर्सन ४ अर्ब २० करोड
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ३ अर्ब ३३ करोड
रानी जमरा कुलरिया सिंचाइ २ अर्ब ४२ करोड
सुनकोसी मरिन डाइभर्सन २ अर्ब ५ करोड
माथिल्लो तामाकोसी जलविद्युत् १ अर्ब ८५ करोड
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति १ अर्ब ७३ करोड
सिक्टा सिंचाइ १ अर्ब ५२ करोड
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल १ अर्ब ५० करोड
बबई सिंचाइ १ अर्ब ४९ करोड
लुम्बिनी विकास कोष १ अर्ब
पसुपति क्षेत्र विकास कोष ३५ करोड
तथ्यांक स्रोतः आव २०७६/७७ को बजेट ।

अर्थतन्त्र सुध्रने आशा

चालू आर्थिक वर्ष २०७५÷७६ मा ७ प्रतिशत आर्थिक वृद्धिदर रहने अनुमान सरकारले गरेको छ । नेपालको अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँको छ । इन्टरनेटको पहँुच ६१ प्रतिशतमा र टेलिफोनको पहुँच १३७ प्रतिशत जनतामा पुगिसकेको छ । ५६ लाख टन धान, २६ लाख टन मकै र २० लाख टन गहुँसहितको कृषि उत्पादन भएको तथ्यांक चालू आवको आर्थिक सर्वेक्षणले देखाएको छ । नेपालभर विद्युतको पहुँच ७७ प्रतिशत जनसंख्यामा पुगेको छ भने विद्युत् उत्पादन ११ सय ४२ मेगावाट पुगेको छ । यस्तै एक वर्षमा २१८ वटा उद्योग दर्ता भएका छन भने ६ अर्ब ६६ करोडको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । पर्यटक आगमन बार्षिक ११ लाख ७३ हजार पुगेको छ भने पर्यटकले गर्ने दैनिक खर्च ४४ डलरसँगै यो क्षेत्रबाट भएको कुल आय ४७ अर्ब ५९ करोड रुपैयाँको छ ।

यस्तै कुल सडक निर्माण ८० हजार किलोमिटर पुगेको छ भने राष्ट्रिय राजमार्गका सडक १५ हजार किलोमिटर छन् । बार्षिक नयाँ सडक औषतमा नौ सय किमिको दरले थपिइरहेको छ । सरकारले आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकास गरी सन् २०३० सम्ममा नेपाललाई मध्यम आय हुने मुलुकमा रूपान्तरण गर्नेे दीर्घकालिन लक्ष्य सार्वजनिक गरेको छ । यी सबै उपलब्धी र यसका प्रमुख लक्ष्यको मिसन नै ठूला पूर्वाधारभित्रै घुमिरहेको छ । यस्ता पूर्वाधार बनाउन र देशलाई समृद्ध बनाउने लक्ष्यमा देशको ४ खर्ब ८ अर्ब रुपैयाँको कुल विकास बजेट (पूँजीगत खर्च) तय भएको छ । सिमित स्रोत र साधनसहितको पूँजीगत खर्चबाटै पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने चुनौती पनि छ ।

‘पछिल्लो समय पूर्वाधार विकासको नाममा मसिना खुद्रे आयाजना मात्रै अधिक छन । जसलाई सांसदले आफ्नो मतदातालाई खुशी पार्न ल्याएको योजना मात्रै हुन् । यी ठूला र दीर्घकालिन महत्वका आयोजना नै होइनन्,’ पूर्वाधार विज्ञ सूर्यराज आचार्यले भने । उनका अनुसार सबै राजनीतिक तहका कामचलाउन आयोजना मात्रैले कहिल्यै देश विकास हुँदैन् । ‘देशको विकास हुन त ठूला आयोजना नै हुनुपर्छ जसले अर्थतन्त्रको विकासको जग बसाल्न सकोेस र पूर्वाधार विकासको संरचना पनि बदलियोस् ।’ ठूला आयोजनाको महत्व अर्थ, लगानी र परिणामसँग मात्रै सिमित भएको पक्कै हुँदैन् । यसले त राष्ट्रको समग्र भौतिक विकासको मूल संरचना नै तयार गर्ने दाबी आचार्यको छ । यस्ता आयोजनको उदाहरणको रूपमा चाहे त्यो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल होस् वा अन्य आयोजना नै किन नहुन पहिले बनाउनुपर्छ । त्यसपछि त्यसले केही समयमा नै ठूलो क्षेत्रगत प्रभाव पार्न थालेको हुन्छ ।

‘आधुनिक विकासमा समृद्ध नेपालको खाका भौतिक विकासबाटै हुन्छ । यसैका लागि हामीले वर्षोदेखि भन्दै आएको ठूला आयोजनाले नै हुन’ आचार्यले भने । अहिले घोषणा गरिएको २२ ÷२३ वटा आयोजना सबै राष्ट्रिय गौरवको आयोजना होइनन् । यसलाई प्राथमिकताका आयोजना मात्रै भनिएको हो किनकी हाम्रोमा त्यतिसम्म पनि काम गर्न नसकिएकोले मात्रै धेरै महत्वपूर्ण भनेर आयोजना देखाइएको बुझाइ आचार्यको छ । राष्ट्रिय गौरवका आयोजना त दुईचार वटा मात्रै हुनुपर्छ । जसलाई राज्यशक्ति नै लागेर बनाउने र दीर्घकालीन महत्व र प्रभाव पनि पार्ने हुनुपर्छ । अहिले हामीलाई चाहिएको यस्तो आयोजनामा काठमाडौं मधेश तराई द्रुतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, भारत र चीन जोड्ने रेलमार्ग पञ्चेश्वर, कर्णाली चिसापानी सहितका जलविद्युत् आयोजना हुन । ठूला पूर्वाधार बिना हाम्रो समृद्धि नहुने भएकोले आर्थिक विकासलाई हाक्ने र ठूला पूर्वाधारको देखिने आयोजना नै हाम्रो लागि आवश्यक तथा गेम चेञ्जर आयोजना भएको बुझाइ आचार्यको छ । ट्रान्सपोर्ट इन्जिनियर तथा यातायात पूर्वाधार विज्ञ आशिष गजुरेलका अनुसार ठूूलो परियोजनाले ठूलै प्रभाव ल्याएको हुन्छ र ल्याउँछ पनि । ‘हाम्रोमा अहिले जम्मा ११ सय मेवागाटको मात्रै जलविद्युत् उत्पादन हुन सकेको छ । यसले न हाम्रो माग धान्न सकेको छ न पर्याप्त नै । यसर्थ जलविद्युत् क्षेत्रमा आउने एउटा मेगा प्रोजेक्टले नै यसलाई समाधान गर्न सक्ने हुनुपर्छ,’ गजुरेलले भने ।

ठूला आयोजनाको रूपमा निर्माण हुने बिजुली, पूर्व—पश्चिम रेलमार्ग, चिनियाँ तथा भारतीय रेल, सहरी यातायात तथा विमानस्थल पूर्वाधार हाम्रो लागि संभावित बजार र देश विकासमा सहजीकरणको माध्यम हुने बुझाइ गजुरेलको छ । ‘गेम चेन्जर भनांै वा आर्थिक विकासको मेरुदण्ड । यी सबै काम ठूला पूर्वाधारबाट हुन्छ । यसले तत्काल परिणाम नआउन पनि सक्छ । तर, यसको महत्व र दीर्घकालिनमा आउने परिवर्तन तथा सामाजिक आर्थिक रूपान्तरण मात्रै पनि महान हुने गजुरेल बताउँछन् । ठूला पूर्वाधार मार्फत मुलुकले समृद्धिको गति समाउँछ । एउटा मेगा प्रोजेक्ट सफल भयो र सञ्चालनमा आयो भने त्यसले आर्थिक वृद्धिदर, रोजगारी उत्पादन, कुल गार्हस्थ्य उत्पादन, अर्थतन्त्रको आकारसहितका विविध क्षेत्रमा ठूूलो योगदान पुग्छ आचार्य थप्छन् । कुनै पनि देशको समृद्धि भनेकै त्यो देशमा हुने ठूला पूर्वाधारको विकास हो । जहाँ पूर्वाधार हुन्छ त्यहाँको आर्थिक बृद्धिदर उल्लेख्य मात्रामा बढ्ने अनुमान उनको छ । पूर्वाधार क्षेत्रको विकास हुनुपर्छ भनेर कर्मचारीतन्त्रले सरकारलाई ठूला योजनामा जाने उत्प्रेरित गराएका पनि छन् । यसैको परिणामस्वरूप सरकारले ठूला पूर्वाधारलाई नै प्राथिमिकता दिएर बजेट विनियोजन गरेको उल्लेख छ । काठमाडौं तराई मधेश द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका मास ट्रान्सपोटेसन, मेट्रो तथा मोनो रेल, बाहिरी चक्रपथ, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसहितको कुनै एउटा ठूलो आयोजना सम्पन्न भयो भने यसले दीर्घकालिन विकासको रेखा कोर्न थाल्छ भने आर्थिक गतिविधिलाई चलायमान बनाउँछ ।

यस्तै नेपाललाई अल्पविकसित देशको सूचीबाट विकासशील देशमा स्तरोन्नति गर्न नेपालले पूर्वाधार विकासमा एक सय खर्ब रकम आवश्यक पर्ने विभिन्न अध्ययनले देखाएको छ । यसका लागि पूर्वाधार क्षेत्रमा मात्रै वार्षिक कम्तीमा पनि तीन खर्ब रुपैयाँ खर्चनै पर्ने खाका यस अघि उद्योग परिसंघ नेपालले आयोजना गरेको पूर्वाधार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो । नेपाल अल्पविकसित देशबाट स्तरोन्नति हुनका लागि वार्षिक ७ देखि ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नेपर्ने गरी विकास गर्नुपर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा बताउँछन् । परिसंघले पूर्वाधारका विषयमा उक्त पूर्वाधार सम्मेनमार्फत एउटा खाका नै सार्वजनिक गरेको थियो । सरकारले भर्खरै सम्पन्न गरेको लगानी सम्मेलनमा निजी र सरकारी गरी ७१ वटा परियोजना सोकसमा राखेको थियो । यसबाट ३४ खर्ब रुपैयाँको लगानी अपेच्छा गरिएको छ ।

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *