भारतमा तहल्का मच्चाइरहेका आयुष केसी

भारतीय टेलिभिजन च्यानल ‘जिटिभी’ बाट प्रसारण हुँदै आएको ‘सारेगमप लिटल च्याम्प्स’ को सेमिफाइनलमा आयुष केसीले मञ्चबाटै आफ्नी आमा रितालाई सोधे।

छोरा आयुषको प्रस्तुति देखेर रिता पहिल्यै भावुक थिइन्। केही सातादेखि बिरामी आयुषले राम्रो गाउन सक्ने हुन् कि होइनन् भन्ने उनलाई अन्यौल थियो। तै हौसला दिँदै भनेकी थिइन्, ‘तिमीले सक्छौ।’

आमाको त्यो हौसलालाई आयुषले डग्मगाउन दिएनन्। सधैंझैं खुलेर गाइदिए,

‘तुम मिले दिल खिले
और जिनेको क्या चाहिए…’

भक्तपुरका १२ वर्षीय आयुषले बिरामी हुँदाहुँदै गाएको यो गीतले सबै निर्णायकको मन जित्यो।

गायिका ऋचा शर्माले मञ्चमै पुगेर अकंमाल गर्दै भनिन्, ‘मख्खनजस्तै मीठो गायौ। भगवान यहीँ कतै छन् भन्ने महशुस गरायो।’

अर्का गायक अमाल मल्लिकले एक असल ‘प्लेब्याक’ गायकमा हुने खुबी आयुषमा रहेको बताउँदै भने, ‘तिमी एकदम खतरनाक छौ यार!’

निर्णायक मण्डलको प्रतिक्रियासँगै तीस जना गायक/संगीतकारको जुरीबाट उनले ‘चार्टबस्टर १०० अंक’ पाए। र, यही गीतले उनलाई भारतीय गायन प्रतियोगिताको ‘टप-६’ अर्थात् फाइनलमा पुर्यायो।

उनीसँगै नेपालबाट गएका अर्का प्रत्यासी इटहरी–५ का प्रितम आचार्य पनि फाइनल पुगेका छन्, जसका बारेमा हामीले अघिल्लो स्टोरीमा चर्चा गरिसक्यौं। (हेर्नुहोस्: जिटिभीको ‘सारेगमप’ मा प्रितमले लगाएको प्रित)

प्रितम र आयुष दुवैले भारतीय प्रतिस्पर्धीहरूलाई टक्कर दिँदै यसपालिको ‘सारेगमप’ शृंखलामा फाइनलसम्मको यात्रा तय गरे।

आयुष पाँच जनाको परिवारमा कान्छा छोरा हुन्। उनका बुबा पर्यटक गाइड हुन् भने आमा गृहणी। आमा यो कार्यक्रमभर भारतमै रहिन्, आयुषलाई हौसला दिन। बुबा राम कुमार पनि फाइनल प्रतिस्पर्धामा छोरालाई साथ दिन भारत पुगिसकेका छन्।

आयुष केसी आफ्ना आमाबुबाका साथ।

अडिसन चरणमा फिल्म ‘जिरो’ को ‘जब तक जहाँ …’ गीतदेखि ‘तुम मिले दिल खिले…’ सम्म आइपुग्दा उनले धेरै प्रशंसक बटुलेका छन्। उनी संगीत साधनामा लागेको पाँच वर्ष भयो। नारायण गोपाल र रामकृष्ण ढकाललाई आदर्श मान्ने आयुषलाई उनीहरूले गाउनेजस्तै मेलोडीका गीत सुहाउँछ।

आयुष भक्तपुरस्थित मोर्डन बोर्डिङ स्कुलमा कक्षा ८ अध्ययनरत छन्। स्कुलका भाइस-प्रिन्सिपल राजन कसपालका अनुसार उनी गायनसँगै पढाइमा पनि अब्बल छन्। संगीतको लगाव भने पढाइभन्दा बढी भएको उनी बताउँछन्।

राजनले हामीलाई आयुषसँगको रमाइलो घटना पनि सुनाए।

तीजको बेला थियो। आयुषकी आमा दर खाने कार्यक्रममा जुटेकी थिइन्। आयुषलाई पनि तीज गीतको मोहले तानेछ।

‘स्कुलमा पेट दुख्यो भन्दै लडिबुडी गर्यो,’ भाइस-प्रिन्सिपल राजनले सुनाए, ‘बिरामी भएछ भनेर हामीले छुट्टी दियौं। पछि बुझ्दा त तीजमा गीत गाएर मस्ती गरिरहेको थाहा भयो।’

गीत–संगीतको यस्तै मोहले स्कुलका सांगीतिक प्रतियोगितामा समेत आयुषले विभिन्न पुरस्कार जितेका छन्। यही खुबी देखेर स्कुलले नै उनलाई कान्तिपुर टेलिभिजनले सञ्चालन गरेको ‘सुरशाला आइडल जुनियर’ मा भाग लिन पठाएको थियो।

‘सुरशाला’ प्रतियोगितामा आयुष प्रथम भए। त्यसमा ‘फस्ट रनरअप’ भने उनै प्रितम भएका थिए, जो उनीसँगै फाइनलमा प्रतिस्पर्धा गर्दैछन्।

‘सुरशाला आइडल’ आयोजना गर्ने सुरशाला संगीत प्रतिष्ठानले यसअघि प्रेम परियारजस्ता बाल गायक जन्माइसकेको थियो। धेरै बालबालिकाले यहाँबाट गीति एल्बम पनि निकालेका छन्। यही प्रतिष्ठानले आयुषलाई सारेगमपसम्मको यात्रा तय गराएको हो।

सुरशालाले नै जिटिभीको आवेदन भर्न आग्रह गरेको थियो। त्यहाँका गुरु अमृत क्षेत्रीले कार्यक्रममा प्रतिस्पर्धा गर्न आयुष लगायत अन्य बालबालिकाका अभिभावकलाई आफैं अगुवाइ गर्दै अनुमति मागेका थिए।

अमृतका अनुसार जिटिभीसँग पहिल्यैदेखि सुरशाला सम्पर्कमा थियो। आवेदन खुलेपछि सुरशालाले आयुष र प्रितमसँगै अन्य २०–२५ जनाको गीतको अनलाइन अडिसन गराएको थियो। तिनैमध्ये १० जना छनौट भएर दिल्ली पुगे। ‘लेभल टु’ मा भने आयुष र प्रितम मात्रै छानिए।

‘यी दुवैको गायनको विशेषता फरक छ। आयुष ‘सफ्ट-मोलोडी’ का गीत राम्ररी गाउँछन्। प्रितमको स्वर भने खुला छ। त्यसैले ‘हाई-रेन्ज’ का गीत उनलाई सुहाउँछ,’ अमृतले भने।

भारतको तुलनामा नेपाली संगीत क्षेत्र निकै पछाडि रहेको अमृत बताउँछन्। त्यहाँ सानै उमेरदेखि बालबालिकालाई संगीतमै भविष्य बुन्ने माहोल बनिसकेको हुन्छ। नेपालमा भने दोस्रो प्राथमिकता बनाए मात्रै संगीतमा लाग्न पाइन्छ। तै भारतीयहरूलाई पछि पार्दै नेपाली फाइनलसम्म पुग्नु निकै प्रशंसनीय भएको अमृत बताउँछन्।

‘आशा छ नेपालीकै पोल्टामा यसपटकको सारेगमप उपाधि पर्नेछ,’ उनले भने, ‘हुन त फाइनलसम्म पुग्नु भनेको पनि जितेकै बराबर हो।’

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *