रिकुटे जस्तो पिटर जब बियोगान्त ‘सेतो याक’ बनेर बिलाउँछ

केदार पनेरुको ‘सेतो याक’ : हिमाली जीवनको प्रेम र रोमान्स

जेठ, काठमाडौं । ‘जिन्दगी भन्नु नै यात्रा रहेछ । यात्रा भन्नु नै जिन्दगी रहेछ । …यात्राले जुराउने रहेछन् मीठा संयोगहरु, अनि यात्रामै हुँदा रहेछन् मन चुडाउने वियोगहरु ।’ १८५ पृष्ठ लामो उपन्यासलाई यसरी बिट मार्छन् केदार पनेरु ।

यो अन्तिम हरफसँग उपन्यासको साइनो छ अनि उपन्यासका पात्रमा पाठकले आफू पाउँछन् । शुरुमा प्रेम र यौनका रमाइला कथाले बनाएको उपन्यासको बिम्ब पछि पढ्दै जाँदा भावना, वियोग अनि सामाजिक परिवेशहरुमा यसरी डुबाइदिन्छ कि दुई थोपा आँशु पुस्तकका पानामा खसेको पत्तै हुन्न ।

हो यो त्यही उन्यास हो- सेतो याक । निजामती सेवामा राम्रै नाम कमाएका सहसचिव केदार पनेरुको परिचय फेर्ने पनि यही उपन्यास बनेको छ । केदार पनेरु गीतकार हुन्, उनी गजल पनि लेख्छन् भन्ने धेरैलाई थाहा छ, तर अब उनको परिचय उपन्यासकार बनेको छ । ‘सेतो याक’ले केदार पनेरुभित्रको मनोविज्ञान बुझ्न समेत सघाउँछ ।

नेपालको हिमाली क्षेत्रमा भारी बोक्ने र मासु खाने दुवै प्रयोजनका लागि याक प्रख्यात छ । सामान्यतः याकको रंग सेतो हुँदैन । केदार पनेरुले उपन्यासमा सेतो याकलाई यति भाबुक मोडमा पुर्‍याएर स्थापित गरिदिन्छन् कि, दुई तिहाई उपन्यास पढिसक्दा खलनायकका रुपमा चित्रित भएको पात्र अन्तिममा बियोगान्त कथाको नायक बनेर सेतो याकमा न्वारन हुन्छ ।

केदार पनेरु

उपन्यास पढिरहँदा पिटर भन्ने स्वीस पदयात्री, लीलबहादुर क्षेत्रीको बसाइँ उपन्यासको खलपात्र रिकुटेको रुपमा देखा पर्छ । झुमाको मनोदशा ब्यहोरेकी निमा पिटररुपी रिकुटेको नासो फुर्वालाई जन्म दिएको ६ वर्षमै भिरबाट लडेर मर्छे । पिटर, निमा, फुर्वा, पेमा, डोल्मा जस्ता पात्रहरु उपन्यासमा सिलसिलेवार ढंगले आउँछन्, जसले गर्दा पढुन्जेल छाड्न सकिन्न ।

सेतो याक शुरुमा पढ्दा रोमान्टिक कथाहरुको सँगालो जस्तो लाग्न सक्छ । जहाँ विदेशी पदयात्री पिटर र उनकी भरिया गाइड निमाका हिमाली प्रेम र रोमान्सलाई व्यवसायिक ढंगले प्रस्तुत गर्न खोजिएको छ । हुन त उपन्यासका बिभिन्न खण्डमा आउने पात्रहरुका प्रेम र यौनका श्रृंखला पनि रोचकमात्र छैनन्, विवाहेत्तर सम्बन्ध झाँगिदै गएको हाम्रो समाजका धेरै व्यक्तिले त्यहाँ आफूलाई पाउन सक्छन् ।

सेतो याक उपन्यास शुरुमा पढ्दा खासै केही रहेनछ भन्दै कतिपयले पुस्तक बन्द गर्न पनि सक्छन् । तर जति पढ्दै गयो त्यति पाठकलाई कथामा डुबाइदिन्छ । पिटर र फुर्वा बाबु-छोराको मिलनको क्षण आउनै लाग्दा पाठकलाई मुटु ढक्क गराइदिन्छ । अनि पिटरले टिमुरे गाउँको लागि गरेको योगदान र अन्तिम संस्कार नेपालमै होस् भन्ने उसको पत्रले भावुक बनाइदिन्छ ।

निमाले प्रेममा परेका बेला पिटरको नाम ‘सेतो याक’ राखिदिएकी हुन्छिन् । सेतो याक किन नाम दिइन् भन्ने रहस्य अझ प्रेमिल छ, त्यसका लागि पाठकले उपन्यास नै पढ्नुपर्छ । धेरै अपेक्षा नराखी पढिने, तर पढेपछि धीत मार्ने उपन्यास हो सेतो याक ।

केदार पनेरु भूकम्प र नाकाबन्दीपछि तातोपानी नाका बन्द भएपछि व्यस्त रहेको रसुवागढी नाकामा भन्सार प्रमुखको रुपमा कार्यरत रहे । टिमुरेको भन्सार कार्यालयमै उनको आवास थियो । उनले त्यहाँ ठूला ब्यापारीदेखि झोलेपोके र भरिया अनि हिमाली बस्तिका निर्दोष अनुहारसँग संगत गरे । सेतो बाघ उपन्यास सम्भवतः त्यही बसाइँको उपलब्धी हुनसक्छ ।

उनको उपन्यासमा आएका पात्रहरु उतैका छन् । सानातिना सामाजिक परिवेश, हिमाली जनजीवन, प्रेम, यौन, मिलन, बिछोड यस्तै प्रसंगहरु छन् । तर पढुन्जेल उपन्यासले पाठकलाई आफूमा कैद गराउन सफल भएको छ ।

जब सेतो याकको भेद खुल्छ र बाबु-छोरा भेटिन्छन्, त्यतिन्जेल सेतो याक जीर्ण भइसकेको हुन्छ । स्वीटजरल्याडबाट सम्भवतः ऊ देहत्याग गर्नमात्र नेपाल आएको थियो । तर उसले आफूले आशा नगरेको छोरोमात्र भेटेन, रिकुटेको छबी पखाल्ने मौका समेत पायो ।

त्यसैले त, सेतो याक जमिनमा लीन भएपछिको दृष्य उपन्यासमा यसरी व्यक्त हुन्छ-

धेरै रोयो फुर्वा । डोल्मा पनि धेरै रोई । फुर्वाको आँसुसँगै टिमुरेवासीका आँखाबाट धेरै आँसु बगे । टिमुरेवासीका आँसुसँगै भोटेकोशीको पानी पनि रोयो नमिठो आवाजमा । अरू बेला भोटेकोशी सुसाउँदा मिठो सङ्गीत गुन्जिन्थ्यो तर त्यो दिन भोटेकोशी सुसाएको थिएन । रोएको थियो । त्यही भएर उसको आवाजमा सङ्गीत होइन विरहको चीत्कार सुनिन्थ्यो । फुर्वाको दुःखमा परपर देखिने डाँडाकाँडा पनि रोए …।

अचेल किताब लेखनमा विज्ञापन र व्यापारको प्रतिस्पर्धा छ । किताबमा गुदी के छ मतलब छैन, तर प्रकाशकले मिडिया प्रयोग गरेर किताब बजारमा आउनुअघि नै पाठकमाथि इमोसनल ब्ल्याकमेल गरिसकेका हुन्छन् । मिडिया प्रयोग गरेर बजार कब्जा गर्ने सन्दर्भमा ‘सेतो याक’ असफल उपन्यास हुनसक्छ । तर जसले पढ्छ उसले ३ सय रुपैयाँको भरपूर उपयोगमात्र गर्दैन, नोस्टाल्जियामा डुब्छ ।

डिबिओ प्रेसले प्रकाशन गरेको सेतो याककी प्रकाशक चन्दा पनेरु हुन् । ३ सय रुपैयाँमात्र मूल्य कायम गरिएको उपन्यास १८५ पृष्ठको छ । यो उपन्यास गत सातामात्र सार्वजनिक भएको हो ।

लेखक केदार पनेरु हाल सामान्य प्रशासन मन्त्रालयको सहसचिव छन् । पहिलो उपन्यासबाट साहित्यको नयाँ बिधामा हात हालेका उनी चाँडै अर्को ‘सरप्राइज’ दिने तयारीमा रहेछन् । तर के भन्ने खुलाएनन् ।


onlinekhabar

Be the First to Advertise Us


Sano Pasal

———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *