के हो उदासीनता ? किन उदास बन्दैछ मान्छे ?

विशेष गरी द्वन्द्वले महिलामा बढी आघात पारेको छ

उदासीनता एक प्रकारको मानसिक स्वास्थ्यसम्बन्धी समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै पनि कामप्रति अनिच्छा हुने, निराश हुने तथा शारीरिकरुपमा शक्ति ह्रास भएको महसुस हुने गर्छ । उदासीनताले दैनिक जीवनमा नकारात्मक सोच पैदा गराउँछ ।

सामाजिक एवं पारिवारिक द्वन्द्वले पैदा गरेको घटनाले लामो समयसम्म नकारात्मक लक्षण देखिने गर्छ । एकातिर परिवारको सदस्य गुम्ने र आर्थिक भार थपिने पीडा हुन्छ । चरम शारीरिक तथा मानसिक यातना पाएको अवस्था हुन्छ । महिलाहरुले बलात्कारको शिकार बन्नुपरेको हुन सक्छ । द्वन्द्वका यस्ता घटना ब्यक्तिअनुसार फरक–फरक भएझैं उदासीनता पनि सामान्य, मध्यम तथा गम्भीर प्रकृतिका हुने गरेका छन् ।

उदासीनता मानसिक स्वास्थ्यसम्बन्धी समस्या हो । जसमा प्रभावित व्यक्तिले करिब दुई सातासम्म लगातार आफू उदास भएको महशुस गर्छ । इच्छा, जोश, जाँगर गुमाउनुका साथै शरीरमा शक्ति नै नभएको महसुस गर्छ । यस्तो अवस्थाले उसको दैनिक क्रियाकलापमा असर पार्छ ।

मध्यम तथा गम्भीर उदासीनता भएको व्यक्तिमा शारीरिक शिकायतको समस्या पनि देखिन सक्छ । त्यसैले उदासीनता शारीरिक समस्यासँग पनि सम्बन्धित छ । यसलाई समयमै व्यवस्थापन गर्न नसके आत्महत्याजस्तो जोखिम बढ्नुको साथै अरु गम्भीर समस्याहरु पनि निम्तन सक्छ । तथ्याङ्कले सबै प्रकारका एकल महिलाहरुमा आत्महत्याको जोखिम बढी हुने देखाउँछ ।

उदासीनतालाई कसरी पहिचान गर्ने ?

यसको पहिचान चार प्रकारका लक्षणहरुबाट गर्न सकिन्छ– शारीरिक, भावनात्मक, विचारात्मक र व्यवहारगत ।

सर्वप्रथम व्यक्तिले शारीरिक समस्या नै पहिले देखाउने गर्दछन् । जस्तै– थकान, कमजोर महशुुस हुने, पीडा हुने, निन्द्रा नलाग्ने, खान मन नलाग्ने आदि । त्यसपछि भावनात्मक, एवं व्यवहारगत लक्षण पत्ता लगाउन सकिन्छ ।

व्यक्तिमा के–कस्ता लक्षण देखिएका छन्, त्यसमा ध्यान दिन जरुरी छ । दुखी हुने, दैनिक क्रियाकलापमा रुचि नहुने जस्ता लक्षण देखिएमा उदासीनता भएको हुन सक्छ । यस्तो समस्या दुई हप्तासम्म दोहोरिइ रहेमा उदासीनताको सम्भावना प्रवल रहन्छ । यस्ता लक्षणले व्यक्तिको दैनिक क्रियाकलापमा असर पुर्‍याएको छ भने उदासीनता हुन सक्छ ।

उदासीनताका लक्षण शारीरिक, भावनात्मक, विचारात्मक र व्यवहारगत कुन्छन् । शारीरिक लक्षणमा कमजोरी, शरीर दुख्ने, सुत्न कठिनाइ हुने, खानाप्रति रुचि घट्ने, ढुकढुकी बढ्ने, निस्सासिएको महसुस हुने, छाती दुख्ने, रिङ्गटा लाग्ने, काँप्ने, जिउभरि सियोले घोचेजस्तो महसुस हुने, तौल घट्दै जाने, थाकेर शरीरमा बल नभएको महसुस हुने इत्यादि हुन्छ ।

त्यसैगरी भावनात्मक लक्षणहरुमा, नरमाइलो वा दुःखी हुने, झिँझो लाग्ने, आत्मग्लानी हुने, आत्मवल र आत्मसम्मानको कमी हुने तथा परिवार साथीभाइसँग आत्मीयताको कमी नहुने जस्ता लक्षणहरु देखा पर्छन् ।

विचारात्मक लक्षणमा निराशापन, निर्णय लिन नसक्ने, ध्यान केन्द्रित गर्न नसक्ने, आफूलाई मूल्यहीन ठान्ने र हानी पुर्‍यार्उने जस्तै– आत्महत्याको विचार आउने, भविश्यप्रतिको चिन्ता वा नकारात्मक दृष्टिकोण आउने आदि हुन्छ ।

व्यवहारगत समस्यामा सामाजिक अन्तक्र्रियाहरुबाट टाढिने, जिम्मेवारीहरु बहन गर्न नसक्ने, मनोरञ्जनका क्रियाकलापहरुबाट टाढिने, अत्यधिक मादक पदार्थ सेवन गर्ने, विनाकारण रोइरहने, पहिले खुशी हुने कुरामा खुशी हुन नसक्ने तथा आफ्नो हेरविचार नगर्ने आदि लक्षणहरु देखिन्छन् ।

उदासीनता नै हो भनेर कसरी पहिचान गर्ने ?

उदासीनतालाई पहिचान गर्नका लागि व्यक्तिको व्यवहार, उसमा आइरहने र दोहोरिरहने सोचाइ, भावना एवं शारीरिक अवस्थाका बारेमा गहिराइमा अध्ययन गर्न जरुरी छ । मुख्यतः उदासीनता भएको व्यक्तिमा आफ्नो जीवन–सम्बन्धका बारेमा नकारात्मक सोच आउने गर्छ । उसले आफ्नो जीवनलाई मूल्यहीन ठान्छ ।

सामान्यतया यस्ता सोचहरु दोहोरिरहने, आत्महत्याको प्रयास गर्ने तथा दैनिक क्रियाकलापमा नकारात्मक प्रभावले प्रष्टरुपमा उदासीनता हो भनेर किटान गर्न सकिन्छ ।

सशस्त्र द्वन्द्वबाट परेको गम्भीर मानसिक आघात

दशक लामो सशस्त्र द्वन्द्वले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा उथल–पुथल ल्यायो । द्वन्द्वले मानिसको सोचमा परिवर्तनमात्रै ल्याएन, जस्तोसुकै परिस्थितिमा पनि आफ्नो अधिकारका लागि आवाज उठाउन सक्ने बनायो । यसको ज्वलन्त उदाहरणका रुपमा चेपाङ्ग, राउटे जातिका मानिसहरुसमेत आफ्ना मागसहित प्रधानमन्त्री कार्यालय धाउनुलाई लिन सकिन्छ ।

तर, परिवर्तनको तिब्रता द्रुतगतिमा हुँदाहुँदै १२ बुँदे सम्झौतामार्फत शान्ति प्रक्रियासम्म आइपुग्दा त्यो परिवर्तन धेरै दिन टिक्न सकेन । द्वन्द्वद्वारा प्राप्त उपलब्धी विस्तारै गुम्न थाले । द्वन्द्वरत समयमा भएका अन्तर्जातिय विवाहहरु भत्कन थाले । महिलाको पुनर्विवाहपश्चात बच्चा, आमा वा पहिलो परिवारमध्ये कसले राख्ने भन्ने बहस चुलिन थाल्यो । स्वःस्फूर्तरुपमा सहभागी उत्पीडित जातजाति अब अपमानजनक व्यवहारको सामना गर्न नसकी आन्दोलनबाट बाहिरिन थाले । एकपछि अर्को गर्दै द्वन्द्वद्वारा प्राप्त उपलब्धिहरु गुम्दै गए । र, त्यसको प्रत्यक्ष मारमा बढीजसो महिलाहरु पर्न पुगे । द्वन्द्वकालमा हत्या, लुट, बलात्कार, बेपत्ताजस्ता आघातजन्य घटनाको सामना पनि महिलाले नै बढ्ता गर्नुपरेको थियो ।

अहिले शान्ति प्रक्रियाले एक दशक पार गरिसकेको छ । हिजोको द्वन्द्वको नेतृत्व गरेका पार्टीका नेताहरुले पटक–पटक सत्ताको बागडोर सम्हालिरहेका छन् । तैपनि द्वन्द्वले पैदा गरेको मानसिक आघातलाई सम्बोधन नगर्नु विडम्बना मात्र होइन, दुखद पक्ष पनि हो ।

द्वन्द्वले करिब १७ हजार मानिसको हत्या भयो । करिव ७/८ हजारको संख्यामा नागरिकहरु बेपत्ता पारिए । सबैभन्दा धेरै, करिब एक हजार मानिसहरु रोल्पामा मारिए । करिब ८ सय मानिसहरु बर्दियामा बेपत्ता भए । यो जनसंख्या हेर्दा पुरुष नै बढी हत्या र बेपत्ता भएकाले त्यसबाट एकल बन्ने महिला र पारिवारिक बोझ सम्हाल्ने पनि महिलाहरु नै बन्न पुगेको स्पष्ट हुन्छ । यो तथ्याङ्कबाट पनि बुझिन्छ कि मानसिकरुपमा अस्वस्थता दिन प्रतिदिन बढ्दैछ, जसलाई समयमै रोक्न नसके देशमा भयावह अवस्थाको सिर्जना हुने देखिन्छ ।

द्वन्द्वमा हत्या, लुट, बलात्कार तथा यातनापश्चात अधिकांश महिलाहरु उदासीनताको चपेटामा परेका देखिन्छन् । तर, यसलाई सहजरुपमा अरु भौतिक रोगजस्तै ठान्ने समस्या छ । त्यसैको परिणामस्वरुप आज द्वन्द्व प्रभावित गाउँहरुमा बर्षेनी लगभग ४३ प्रतिशतको हाराहारीमा आत्महत्याको वृद्धि हुँदै गएको छ । एकल महिलाहरुमा अधिकांश आत्महत्या उदासीनताका कारणबाट हुने गरेको देखिन्छ ।

द्वन्द्वले पैदा गरेका मानसिक समस्या यस्ता छन्ः

१) उदासीनता २) मद्यपानसम्बन्धी समस्या ३) चिन्ताजन्य समस्या ४) साइकोशिस ५) बाइपोलर डिसअर्डर ६) लागूपदार्थ सम्बन्धी समस्या ७) व्यवहारसम्बन्धी समस्या ८) आघातजन्य घटनापछिको तनाव र ९) व्यक्तित्वसम्बन्धी समस्या ।

राज्यले निर्वाह गर्नुपर्ने भूमिका

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वस्थ्य ब्यक्ति भनेर शारीरिक, मानसिक तथा सामाजिकरुपमा स्वस्थ्य ब्यक्ति मात्र स्वस्थ्य हुन्छ भनेको छ ।

तर, हामी कहाँ हालसम्म पनि दक्ष जनशक्तिको उत्पादनसँगै जस्तै प्राथमिक, निम्न माध्यामिक, माध्यामिक तथा उच्च शिक्षा अध्ययनसम्म पनि मानसिक स्वास्थ्यको पाठयक्रम नबनाइनु, उपत्यकाको सीमित क्याम्पसमा मात्रै मनोसामाजिक विषयको अध्यापन गराइनु, द्वन्द्वले थिलोथिलो भएका ब्यक्तिहरुको निम्ति शान्ति प्रक्रियाको यतिका बर्षसम्म पनि मनोपरामर्शको सेवा नदिनुले यसप्रति राज्य गम्भीर भएको देखिँदैन । सीमित रुपमा रहेका मनोविदहरुलाई पनि राज्यले संरक्षण गर्न नसक्नुले मानसिक समस्या दिनप्रतिदिन बिकराल बन्दै गएको मान्न सकिन्छ ।

सीमित गैरसरकारी संघ संस्थाको सेवा यतिका जनसंख्याको निम्ति अपर्याप्त छ । त्यसैले सरोकारवाला पक्षहरु जस्तै हिजोका विद्रोहीहरु, राज्यको बागडोर सम्हालेका नेतृत्वकर्ताहरुले समयमै सजग हुन जरुरी छ । त्यसो हुन नसके मानसिक स्वास्थ्य समस्याले ग्रसित समस्या विकराल बन्ने खतरा देखिन्छ ।

किनकि यो समस्या वंशाणुगत गुणका रुपमा आफ्ना सन्तानमा पनि सर्ने सम्भावना हुन्छ, जुन देश विकास र समृद्धिका लागि घातक हुनेछ । त्यसर्थ, सरोकारवाला पक्षहरुले मानसिक समस्याबारे समयमै सजगता अपनाउने कि ?

Be the First to Advertise Us


Sano Pasal

———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *