मिडिया काउन्सिल विधेयकविरुद्ध समितिका सभापतिलाई ज्ञापनपत्र

 नेपाल पत्रकार महासंघले सरकारले हालै संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक सरोकारवालासँग छलफल गरेर ल्याउन माग गरेको छ । मंगलबार राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी अश्वासन समितिका सभापति रामनारायण विडारीलाई ज्ञापनपत्र बुझाउँदै महासंघका उपाध्यक्ष दिलिप थापामगरले १० लाख सम्मको जरिवाना राखेर स्वतन्त्र मिडियामाथि ‘कू’ गर्न खोजेको आंशका भएको उल्लेख गरे । 

उनले भने– ‘जुन २५ हजारददेखि १० लाख सम्मको जरिवानाको व्यवस्था गरिएको छ, भर्खरै युद्धबाट शान्तिप्रक्रियामा आएको म्यानमारको प्रेस काउन्सिलले गरेको व्यवस्थालाई यहाँ मस्यौंदा बनाउनेले कपि गरेका छन् । म्यानमारको अवस्था र नेपालको अवस्था बिल्कुलै फरक छ । नेपाली प्रेसले लोकतन्त्र ल्याउन जुन भूमिका खेलेको छ, त्यसको अवमूल्यन भएको छ ।’

उनले पत्रकार महासंघसँग छलफल नै नगरी विधेयक अघि बढाइएको भन्दै सभापति विडारीलाई सञ्चारमन्त्रीसँग छलफल गरे विधेयक फिर्ता गराउन माग गरे । ज्ञापनपत्र बुझ्दै समितिका सभापति विडारीले पत्रकार महासंघले गरेको आशंकाप्रति ध्यानाकर्षण भएको भन्दै त्यसप्रकारको ऐन बन्छ जस्तो आफूलाई नलागेको उनले बताए ।

उनले भने– ‘जरिवानाको रेट बढी भयो भन्ने छ भने यति नै बनाउनुपर्छ भन्ने छैन तर क्षतिपूर्ति दिने वा सामान्य जरिवानको व्यवस्था गरेन भने अराजकता पनि बढ्छ कि यसबारेमा पनि छलफल गरौंला । हुदैनथ्यो भने त्यही गरौंला, हुन्छ भने त्यही गरौंला । मेरो विचारमा हाउसमा पनि यसबारेमा राम्रै छलफल हुन्छ, अध्यक्ष र सभामुखसँग पनि हामी कुरा गर्छौ, मन्त्रीसँग यस विषयमा मेरो कुरा भएको छैन ।’

उनले यसबारेमा मन्त्रीसँग कुरा गर्दा पत्रकार महासंघका प्रतिनिधि राखेर कन्भिन्स गर्नुपर्ने उनले बताए ।  महासंघले बुझाएको ज्ञापनपत्रमा गत बैशाख २६ गते मन्त्रीपरिषदबाट पारित भएर संसदमा दर्ता भएको मिडिया काउन्सिल बिधेयकमा भएका केही व्यवस्थाहरुप्रति पत्रकार महासंघको गंभिर ध्यानाकर्षण भएको उल्लेख छ । प्रेस काउन्सिल, पत्रकार  महासंघ जस्ता सरोकारवाला पक्षसँग छलफल र सहमतिबिना बिधेयक दर्ता गरेको भन्दै आपत्ति जनाएको छ । 

महासंघले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्न खोजेको भन्दै स्वतन्त्र पत्रकारिता माथि अंकुस लगाउन खाजेको बताएको छ । 

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *