इन्दिरा गान्धीले नेपाललाई समेत गाभ्नेबारेमा सोचेकी थिइन्

सिक्किम नेपाली माझ परिचित नाम हो । सिक्किम यहाँको राजनीतिक भाष्यमा धेरै प्रयोग हुने गर्छ । आखिर त्यो किन हुन्छ ? यसको इतिहासमा नेपाल प्रत्यक्ष र अप्रत्यक्ष जोडिएको छ । ब्रिटिस शासनबाट स्वतन्त्र भएपछि भारतको संस्थापनले सन् १९५० एकै वर्ष नेपालसँगै भुटान र सिक्किमसँग ‘शान्ति तथा मैत्री सन्धि’ गर्यो । ती तीनमध्ये एक सिक्किमलाई भारतले सन्धिको मर्म विपरीत आफूमा विलय गरायो

तर इन्दिरा गान्धीले के कारणले त्यति हतारो गरेर सिक्किमलाई विलय गराइन् ? यो निक्कै महत्त्वपूर्ण प्रश्न हो । विलयका लागि महत्त्वपूर्ण हुने प्राकृतिक स्रोतको भण्डार र बजार पनि भएको देश होइन सिक्किम ।

सिक्किम विलयको परिघटनासँग कतै न कतै उसका छिमेकी नेपाल र बङ्गलादेश पनि जोडिन्छ ।

यसको इतिहास दोस्रो विश्वयुद्धबाट सुरु हुन्छ । दोस्रो विश्वयुद्धको समयमा भारतमा ब्रिटिस र भारतीय स्वतन्त्रता सङ्ग्रामका लडिरहेकै राजनीतिक दलको सह–शासनको थियो । यो व्यवस्थाबारे नेपालका थोरैलाई मात्रै थाहा भएको देखिन्छ । तर ब्रिटिसहरूले सन् १९१९ डिसेम्बरमा ‘गभरमेन्ट अफ इन्डिया एक्ट’मार्फत यो व्यवस्था गरेका थिए । त्यसलाई सन् १९३५ को गर्भमेन्ट अफ इन्डिया एक्टले विस्थापित गरियो ।

दोस्रो विश्वयुद्धको समयमा भारतलाई लर्ड भिस्काउन्ट वाभेलले भाइसराय (गर्भनर–जनरल) को रूपमा शासन गरिरहेका थिए । त्यस्तै क्लाउड अचिन्लेक ब्रिटिस इन्डियाका सेनापति थिए । दोस्रो विश्वयुद्धमा ब्रिटेनले जब जर्मनविरुद्ध लडाइँ घोषणा गर्यो, नेपालले पनि तत्कालै ब्रिटिसपक्षमा लड्ने घोषणा गर्यो । त्यति बेला नेपालले ब्रिटिसहरूलाई धेरै लजिस्टिक दिएको छ । युद्धको लागि नै भनेर यहाँबाट ठूलो परिणामको काठ पठाएको थियो । त्यस्तै अन्न रसद पानी पठाएको थियो । नेपाली सेनाले ब्रिटिसको पक्षमा अहिलेका नर्थ इस्ट, बर्मा र सिङ्गापुर लडेका थिए ।

सिलिगुरी कोरिडोर नेपाललाई दिने ब्रिटिस षड्यन्त्र

राणाको ब्रिटिससँग सुमधुर सम्बन्ध जगजाहेर कुरा हो । त्यसमाथि जुद्ध शमशेरको पनि अन्य राणाभन्दा बढी सुमधुर थियो ।

उनै जुद्ध शमशेरलाई बारम्बार क्लाउन्ड अचिन्लेक अनि भाइसरोय स्वयमले ब्रिटिस इन्डियामा पर्ने भूभाग लिन भनेको इतिहास छ । पुरुषोत्तम राणालले यसबारे लेखेका छन् ।

उनीहरूले सुगौली सन्धिअन्तर्गत गुमाएको पश्चिमतिरको भूभागभन्दा पनि लडाइँबिना गुमाएको दार्जिलिङ, डुबर्स क्षेत्र लिन भनेका छन् । अझ तिनले बङ्गालको खाडीमा पहुँच हुने गरी भूभाग लिन नेपाललाई प्रस्ताव राखेका छन् ।

यो अङ्ग्रेजहरूको अनौठो प्रस्ताव थियो । अङ्ग्रेजहरूले प्रस्ताव गर्नुको कारण पछाडि के कारण हुन सक्थ्यो त ?

सिलिगुडी कोरिडोर भनिने दार्जिलिङ र डुबर्स क्षेत्र, भू–राजनीतिक रूपमा अत्यैन्त महत्त्वपूर्ण क्षेत्र हो । यस्तो महत्त्वपूर्ण क्षेत्र भारतमा नपरोस् भन्ने अङ्ग्रेजहरूको डिजाइन देखिन्थ्यो ।

अङ्ग्रेज भारत छाडेर जाने बेला ती क्षेत्र अतिरिक्त अहिलेको बङ्गलादेशका केही भूभागसमेत जोडेर नेपाललाई दिने भनेको थियो ।

विश्वयुद्ध जारी नै रहँदा ब्रिटिस इन्डियाका भायसरोयले जुद्ध शमशेरलाई कलकत्ता बोलाएर यो प्रस्ताव अघिसारेको रहेछन् । पछि विश्वयुद्धको अन्तिमतिर ब्रिटिस इन्डिया सेनापतिले काठमाडौँ भ्रमण गरेर पनि यो प्रस्ताव गरेका रहेछन् ।

अङ्ग्रेजले नेपाललाई दिने भनेको भूभागको जनसङ्ख्याको हिस्सा मुस्लिम बहुल थियो । जुद्ध शमशेरले त्यसलाई व्यवस्थापन गर्ने हिम्मत गरेनन् ।

नत्र अङ्ग्रेजको सबै कुरा मान्ने मान्छेले तिम्रो भूभाग बढाउभन्दा चाहिँ नमान्ने भन्ने कसरी भयो ?

सन् १९४४ अगस्टमा सेनापति अचिलेकको प्रस्तावलाई जुद्ध शमशेरले पुनः अस्वीकार गरिदिए । जुद्ध शमशेरले अङ्ग्रेजको प्रस्ताव स्वीकार गरेको भए, अहिलेको नर्थइस्ट त भारतबाट छुट्टिन्थ्यो । त्यस्तोमा दक्षिण एसियाको नक्सा अर्कै हुन्थ्यो ।

भारतलाई टुक्र्याउनबाट रोक्ने हो भने पाकिस्तान टुक्र्याऊ

नेपाल र बङ्गलादेशको इतिहास बुझेपछि मात्र सिक्किमको इतिहासको अन्तर्यमा पुग्न सकिन्छ ।

जति बेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो, भारतको स्वतन्त्रता सङ्ग्राम पनि जारी थियो । भारतको स्वतन्त्रता आन्दोलन तीन भागमा विभाजित थियो । एक भाग गान्धीको नेतृत्वमा थियो । उनी अङ्ग्रेजविरुद्ध सङ्घर्ष गर्ने तर अङ्ग्रेजका विरोधीलाई नसघाउने नीतिमा थिए ।

अर्को हिस्सा अङ्ग्रेजका विरोधीलाई सघाएर भारत स्वतन्त्र गर्न सकिन्छ भन्ने सोचका थिए । सशस्त्र सङ्घर्ष समातेका सुवासचन्द्र बोसले यस धारको नेतृत्व गरिरहेका थिए ।

बङ्गाल क्षेत्रमा आधार रहेको सुवास चन्द्र बोसले त सरकार र सेना नै गठन गरेका थिए । उनले गठन गरेको सरकारको राष्ट्राध्यक्ष र युद्धमन्त्री उनी आफै थिए ।

तेस्रो कम्युनिस्टको धार थियो । कम्युनिस्ट राज्य सोभियत सङ्घ तत्कालीन ब्रिटिस सरकारसँग मिलेर फासीवादविरुद्ध लडिरहेकाले यिनले ब्रिटिसविरुद्ध लड्न हुँदैन भन्ने रणनीति अवलम्बन गरेका थिए ।

यसैले त्यो समय भारतीय कम्युनिस्टले स्वतन्त्रता सङ्ग्रामलाई अर्धविराम लगाएर बसेका थिए ।

सन् १९६२ को चीन र भारतको युद्धपछि दुवै देश आर्थिक रूपमा निक्कै ठूलो सङ्कटमा परेका देखिन्छ । माओको ‘महान अग्रगामी छलाङ’ आर्थिक नीतिको ठूलो असफलतापछि चीनमा ठूलो भोकमरी आयो ।

सन् १९६५ मा भारतले अर्को युद्ध लड्नुपर्यो । पाकिस्तानसँगको उक्त युद्धको समय लालबहादुर शास्त्री प्रधानमन्त्री थिए । देशको दर्दनाक अवस्थासँग जुध्नका लागि जनतालाई प्रोत्साहित गर्नका लागि शास्त्रीले ‘जय किसान, जय जवान’ नारा ल्याए ।

प्रधानमन्त्री स्वयंले हप्ताको एक पटक देशको लागि अन्न त्याग गर्न आह्वान गरेका छन् त्यस बेला । तीन वर्षको अन्तरालमा भारतले दुई देशसँग युद्ध लड्यो ।

सन् १९६५ को युद्धपछि भारतमा पाकिस्तानले आफूलाई दुईतर्फ घेरिरहेसम्म असुरक्षित हुने महसुस भयो । एकातर्फ आजको पाकिस्तान थियो, जसलाई त्यो बेला पश्चिम पाकिस्तान भनिन्थ्यो । अर्को पूर्वी पाकिस्तान जुन पछि नयाँ देश बङ्गलादेश बन्यो ।

यी दुई भूगोलको बीचमा रहेकाले पाकिस्तान अलग भएन भने भारत आफै टुक्रिन्छ भन्ने बुझाइ भारतको संस्थापनमा बलियो भएर आयो । 

लालबहादुर शास्त्रीको मृत्युपछि इन्दिरा प्रधानमन्त्री भइन् । इन्दिराको प्रधानमन्त्रीकालमा भारतले शक्तिशाली जासुसी संयन्त्र ‘आर ए डब्लू (र)’ को गठन गर्यो । त्यो सन् १९६८ को कुरा हो ।

सुरुमा सोझी ठानिएकी इन्दिरा त्यो स्तरमा पुग्लिन् भनेर कसैले पनि आँकनल गरेकै थिएन । तर उनी सत्तामा आएपछि निक्कै बोल्ड निर्णयहरू गरेकी थिइन् ।

उनकै पहलमा सन् १९७१ अगस्टमा सोभियत सङ्घ र भारतबीच ‘ट्रिटी अफ फ्रेन्डसिप एन्ड कोपरेसन’ भयो । त्यो सम्झौताबाट भारतमा यस्तो आत्मविश्वास आएको देखिन्छ कि चार महिनापछि नै भारतले ठूलो स्तरको युद्ध प्रायोजन गर्न सकेको देखिन्छ ।

भारतले त्यो सामर्थ छोटो समयमा हासिल गरेको थियो । आर्थिक रूपमा इन्दिराले बैङ्कलाई राष्ट्रिकरण गर्नेजस्ता समाजवादी नीति अङ्गीकार गरेकी थिइन् ।

यसले केही हदसम्म सरकारको आर्थिक अवस्था बलियो बनाएको देखिन्छ । यी सम्पूर्ण रणनीतिको केन्द्रमा भारतको नर्थ इस्ट बचाउने र त्यसको लागि पाकिस्तान टुक्र्याउने भन्ने लक्ष थियो ।

बङ्गलादेश स्वतन्त्रता सङ्ग्राम : भारत पाकिस्तानको रणभूमि

भारतलाई वातावरण पनि त्यस्तै आइपर्यो । पाकिस्तानको सन् १९७० को निर्वाचनमा शेख मुजिवर रहमानको अवामी लिगले बहुमत हासिल गर्यो ।

तत्कालीन समयमा पश्चिम पाकिस्तानभन्दा पूर्वी पाकिस्तानको जनसङ्ख्या बढी थियो । त्यही हिसाबमा निर्वाचन क्षेत्र पनि बङ्गला भागमा धेरै पथ्र्यो ।

त्यो वर्षको निर्वाचनमा दुई समाजवादी विचारधाराका पार्टी बोकेका पार्टीबीच टक्करको प्रतिस्पर्धा थियो । त्यसैले दुईले एक अर्कालाई सहँदैन थिए ।

त्यसमध्ये एक थियो पश्चिम पाकिस्तानमा जनाधार भएको जुल्फिकर अलि झुट्टोको पाकिस्तान पिपुल्स पार्टी । निर्वाचनमा उसले पश्चिम पाकिस्तानमा बलियो पकड भएका अन्य दलबाट पनि ठूलो प्रतिस्पर्धा भोगेकाले ८१ सिट पाएर दोस्रो बन्यो ।

तर बङ्गलामा निर्विवाद रहेको अर्को समाजवादी पक्षधर पार्टी अवामी लिगले पूर्वी बङ्गालको लगभग सबै सिट जितेर १६० मत हासिल गर्यो । यो तत्कालीन समय ३०० सिटे पाकिस्तानी संसद्का लागि बहुमतभन्दा बढी थियो ।

तर स्पष्ट बहुमत हुँदाहुँदै पनी भुट्टोले पूर्वी पाकिस्तानमा मात्र जनाधार भएको पार्टीलाई सम्पूर्ण पाकिस्तानको नेतृत्व गर्न दिन नहुने अडान लिए ।

बङ्गलादेशका बङ्गालीले पहिलेदेखि पञ्जावी–बहुल इस्लामावादको संस्थापनले आफूहरूलाई दोस्रो दर्जाको व्यवहार गरेको भनिरहेका थिए । स्पष्ट बहुमत आउँदा पनि सरकार बनाउन नपाउने अवस्था आउने भए पनि त्यहाँ ठूलो आक्रोस उत्पन्न भयो ।

झन् पाकिस्तानको सेना र राष्ट्रपतिले पनि भुट्टोको विचारलाई समर्थन गरेपछि अवामी लिगले पूर्वी भागलाई पाकिस्तानबाट स्वतन्त्र घोषणा गर्यो । त्यसपछि ठूलो गृहयुद्ध सुरु भयो ।

पूर्वी पाकिस्तान र पश्चिम पाकिस्तानबीच असमझदारी स्थापनाकालमै रोपिएको थियो । सन् १९४७ अगस्टमा पाकिस्तान निर्माण हुँदा गभर्नर पञ्जावी संस्कृतिका मोहम्मद अलि जिन्ना भए ।

जनसङ्ख्याको प्रतिनिधित्वका लागि पनि प्रधानमन्त्रीमा बङ्गाली नेता हुसेइन–सहिद सुहरवरर्दी चुन्नुपथ्र्यो । तर पश्चिम पाकिस्तानमा बहुसङ्ख्यक रहेका पञ्जावी, लखनवी अनि हैदरावादको निजामका षड्यन्त्रले लियाकत अलि खान प्रधानमन्त्री भए ।

तीन षड्यन्त्रपूर्वक हिन्दू मुस्लिम दङ्गा कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न कोलकता जाँदा सुहरवदर्दीलाई देश निकालाको घोषणा गरिदिए ।

त्यहीँ बेलादेखि भन्नलाई एउटै देश भन्ने तर पूर्वी पाकिस्तानको बङ्गलाहरूलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरियो । यसले गर्दा सुरुदेखि नै असन्तुष्टि थियो ।

सन् १९७० को निर्वाचनपछि भने यो असन्तुष्टि विस्फोट भयो । फेरि त्यो समय पाकिस्तानी सेनामा बङ्गलाको नगन्य उपस्थिति थियो । त्यहाँ पश्चिम पाकिस्तानमा बसोबास रहेका जातिहरू पञ्जावी, सिन्दी र पोस्तु मात्र हुन्थे । यसले पनि असन्तुष्टि बढाउन सहयोग गरेको थियो ।

बङ्गला राष्ट्रवादीले पाकिस्तानबाट छुट्टिएको घोषणा गरेपछि पाकिस्तानले ठूलो दमन गर्यो । लगभग नरसंहारकै स्थिति बन्यो । गृहयुद्धमा ३० लाखको ज्यान गएको बताइन्छ । पाकिस्तानको आन्तरिक द्वन्द्वलाई इन्दिराले उपयोग गरिन् ।

भारतले बङ्गलादेश स्थापनाका लागि लडिरहेका रक्षा बाहिनीलाई सहयोग गर्न सेना पठायो । भारतीय सेना पूर्वी पाकिस्तानमा प्रवेश गरेसँगै द्वन्द्व भारत पाकिस्तान युद्धमा रूपान्तरित भयो ।

ती दिन विश्व राजनीतिमा भारत सोभियत सङ्घको रणनीतिक साझेदारी अनि पाकिस्तान अमेरिकाको साझेदार थियो । शीतयुद्ध चरम अवस्थामा रहँदा बङ्गला स्वतन्त्रता सङ्घर्षमा झण्डै विश्व शक्ति पनि तानिए ।

तत्कालीन अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जरले त्यो बेला चीनका माओलाई ‘तिमी माथि आकाशबाट हमला गर, हामी जहाजबाट हमला गर्छौं’ भनेको इतिहास छ ।

अमेरिकालाई चीनले उसको प्रस्ताव स्वीकार्छ भन्ने थियो । तर माओले त्यस प्रस्तावलाई अस्वीकार गरे । त्यो बेला सोभियतसँगको निकिता ख्रुस्चेवसँग सम्बन्ध बिग्रेको चीनलाई अमेरिकाले साथ दिएको अवस्था थियो ।

अझ अमेरिकाले चीनलाई सोभियत सङ्घविरुद्ध उपयोग गर्न थालेको थियो । तर यो सन्दर्भमा माओले अमेरिकालाई नसघाएपछि एउटा ठूलो युद्ध टर्यो ।

बङ्गलादेशमा स्वतन्त्रता सङ्ग्राम चलिरहँदा बीपी कोइराला भारतमा हुनुहुन्थ्यो । नेपाली काँग्रेस महेन्द्रको शासनविरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेको थियो । बीपी भारतको सत्तारुढ कङ्ग्रेस र इन्दिरा विरोधी थिए ।

उनी इन्दिराको विरोध गरिरहेका जयप्रकास नारायणसँग नजिक थिए । त्यही कारणले भारतमा अझै पनि समाजवादीहरू माझ बीपीलाई सम्मान गरिन्छ । इन्दिराको शासनको चर्को विरोध समाजवादी नेता जय प्रकास नारायणको नेतृत्वमा भइरहेको थियो ।

तर बङ्गलादेश स्वतन्त्र बनाउनुपर्छ भन्ने मुद्दामा बीपी र इन्दिराको समान विचार थियो । दुई नेताको कुरा मिलेको सम्भवत यही एउटा मुद्दामा होला ।

साराले बङ्गलादेशको स्वतन्त्र पक्षमा वक्तव्य निकालिरहँदा नेपाल सरकारले समर्थन गरेन । अझ त्यस आन्दोलनविरुद्ध नेपालका परराष्ट्रमन्त्रीको धारणा आइरहेको थियो ।

सबै मुद्दामा इन्दिराको विरोध गर्ने बीपी बङ्गलादेशको मुक्ति सङ्घर्षमा इन्दिरासँगै रहे । तर ०१७ सालमा उनै बीपीको निर्वाचित सरकारविरुद्ध ‘कु’ गर्दा महेन्द्रलाई अघोषित रूपमा सघाएको भारतलाई नसघाएर महेन्द्र पाकिस्तानको पक्ष लागे । यो बढो रोचक थियो ।

इन्दिराले नेपाल सरकारबाट समर्थन पाउनको लागि ठूलो प्रयत्न गरेको देखिन्छ । लामो प्रयासपछि अन्ततः सन् १९७२ जनवरी १६ मा नेपालले बङ्गलादेशको स्वतन्त्रतालाई मान्यता दियो ।

जनवरी १६ मा राजा महेन्द्रले बङ्गलादेशलाई मान्यता दिए, जनवरी ३१ मा राजा महेन्द्रको रहस्यमयी देहान्त भयो । उनको मृत्यु टाइगर्स टप रिसोर्टमा भयो भनिन्छ । तर पछिका दस्तावेजले त्यस रिसोर्टका मालिक सीआईएका नेपाल प्रमुख थिए भन्ने छ । यी तथ्यलाई जोड्दा एक खालको रहस्यको सङ्केत नहुने होइन ।

बङ्गलादेशको विभाजन नै भारतको मूलभाग र उसको उत्तर–पूर्वी भागलाई जोड्ने सानो पट्टी सिलिगुरी कोरिडोरलाई लिएर रहेको भारतको असुरक्षाको भावनाले निम्त्याएको थियो ।

बङ्गलादेशको स्वतन्त्रताको मागलाई तत्काल समर्थन नगरेकोमा इन्दिरा नेपालसँग निक्कै आक्रोशित भएकी थिइन् । उनले ‘आए.ए.डब्लू. (र)’का प्रमुख रामनाथ काओलाई नेपाल भारतमा कसरी गाभ्न सकिन्छ भन्ने विचार गर्न निर्देशन दिइन् ।

यो कुरा आर.के. यादव भन्ने रका पूर्व–अधिकारीले लेखेको ‘मिसन आर एन्ड ए. डब्लू’ पुस्तकमा आएको छ । पुस्तकअनुसार काओले त्यसका लागि नेपाल मिसन नै गठन गरेका थिए । त्यसअन्तर्गत सके सम्पूर्ण नेपाल भारतमा गाभ्ने नसके नेपालका निश्चित भागलाई भारतमा गाभ्ने विषयमा कुरा चलेको थियो ।

भारतले सिलिगुडी कोरिडोरलाई कति महत्त्व दिन्छ भने त्यसको सुरक्षा प्रत्याभूत गर्नका लागि एउटा देशलाई टुक्र्याइदिएको, अर्को देशलाई आफूमा गाभेकोबाट देखिन्छ ।

सिक्किम स्वतन्त्र देश हुँदा ‘सिलिगुरी कोरिडोर’को माथि सिक्किम पथ्र्यो । अब तिब्बती मूलको जनसङ्ख्या भएको सिक्किम यदि तिब्बतमा मिसिएको भए, त्यो त आज चीनमा पथ्र्यो । यो कुरा अस्ति डोक्लम विवादको समय पनि देखियो ।

चिनियाँ सेना पहिलेदेखि चुम्बी उपत्यका रहँदा भारतले केही भनेन तर त्यहाँबाट माथि दोक्लम पठारमा चढेपछि भारतले ठूलो आपत्ति जनायो । किनकि दोक्लमको अवस्थिति यस्तो छ कि त्यहाँबाट सिलगुरी कोरिडोर मात्र होइन, कोलकाता पनि चिनियाँ रेन्जमा पर्छ । अनि उसले चिनियाँ सेना नहटेसम्म छाड्दै छाडेन ।

यदि सिक्किम हामीले कल्पना गरेजस्तै तिब्बतमा रहेर चीनको शासनमा रहेको भए अथवा अलग राष्ट्र नै भएको भए पनि भारतका लागि ठूलो टाउको दुखाइको विषय हुन्थ्यो ।

सिलिगुरी कोरिडरलाई लिएर भारत कति गम्भीर छ भन्ने कुरा उसले आफ्नो बलियो प्रतिस्पर्धीलाई टुक्र्याइदिएको र अर्को एक स्वतन्त्र देशलाई कब्जा गरेको देखिन्छ ।

यी दुवै घटना एकदम छोटो योजनामा भएको थियो । त्यस्तै एउटा बलियो देशलाई टुक्र्याइदियो अनि हाम्रो आफ्नै देशलाई पनि कब्जा गर्ने सम्भावनाबारे सोचेको भित्री कुरा आइसकेको पनि बताए ।

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *