अहिलेसम्म नेपाली व्याकरण लेखनको परम्परा फोस्रो ढुटो मात्र हो : प्राडा माधवप्रसाद पोखरेल

नेपाली भाषा, मातृभाषा र साहित्यका क्षेत्रका चर्चित व्यक्तित्व हुन्– प्राडा माधवप्रसाद पोखरेल । सुनसरीको विजयपुर, धरानमा २००५ मङ्सिर ५ गते जन्मिएका उनी २०२५ सालतिर ‘विजयध्वनि’मा ‘संस्कृत शब्द चिन्ने तरिका’ शीर्षकको लेखमार्फत सार्वजनिक सिर्जनामा होमिएका देखिन्छन् । ध्वनिविज्ञानमा पिएचडी (१९८९ इ.) गरी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका उनले अहिले त्रिविबाट अवकाश पाइसकेका छन् । अवकाशपछि पनि नेपालका कुना कन्दरामा पुगेर भाषा, साहित्य र अभिलेखबारे खोज अनुसन्धानमा निरन्तर खटिरहेका छन् । उनले ‘क्याम्पस स्तरीय नेपाली व्याकरण’ (२०५३), ‘नेपाली वाक्य व्याकरण’ (२०५४), ‘ध्वनिविज्ञान र नेपाली भाषाको ध्वनिपरिचय’ (२०५७) जस्ता गहन पुस्तक प्रकाशित गरिसकेका छन् । नेपालमा रहेका ६४ अलिखित भाषाको वर्ण निर्धारण गरिसकेका छन् । नेपाली भाषामा जम्मा ४० वटा (२९ वटा व्यञ्जन र ११ वटा स्वर) वर्ण छन् भनेर वर्ण निर्धारण गरेका छन् (मधुपर्क, वैशाख, २०६४) । नेपाली भाषा र व्याकरणको वैज्ञानिक अध्ययन हुन बाँकी रहेको र अहिलेसम्म लेखिएका नेपाली वर्णविन्यासका नियम तथा व्याकरण संस्कृत र अङ्ग्रेजी व्याकरणका आधारमा तयार गरिएको उनको भनाइ छ । अहिलेका विद्वान्हरूले पनि तिनै पुराना परम्परालाई निरन्तरता दिँदै आएको बताउँछन् । त्यसैले अब नेपाली भाषा र व्याकरणबारे गहन अध्ययन र अनुसन्धान गरी मौलिक व्याकरण निर्माणतर्फ लाग्नु आवश्यक रहेको बताउँछन् । यिनै विषयमा केन्द्रित रहेर नेपाली भाषाको व्याकरण, हिज्जे र त्यसको अनुसन्धानसँग सम्बन्धित भएर प्राडा माधवप्रसाद पोखरेलसँग मोहन दाहालले गरेको कुराकानी :

आजभोलि के कार्यमा व्यस्त हुनुहुन्छ ?

–हिजोआज म २, ३ कुरामा व्यस्त छु । एउटा, जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास भन्ने बृहत् किताब निक्लिँदैछ । त्यो पाँचवटा ठेलीको हुनेछ । त्यसमा करिब ५, ६ हजार पृष्ठ हुनेछन् । पहिलो भाग निस्किसक्यो । पहिलो भागमा नेपाली भाषा, अभिलेख, व्याकरण, इतिहास र अभिलेखको कोशलाई समेटिएको  छ ।

दोस्रो ठेलीमा नेपाली लोकसाहित्यको अनुसन्धानको इतिहास छ । त्यसअन्तर्गत लोकसाहित्य विधाको परिचय, नेपाली साहित्यको प्रारम्भिक काल र माध्यमिक काल र अनुवादको इतिहासलाई समेटिएको छ ।  यसको पाण्डुलिपि तयार छ, प्रकाशन हुन लागेको छ । त्यसको प्रधान सम्पादक म छु । कार्यकारी सम्पादकमा दयाराम श्रेष्ठ र चूडामणि बन्धु हुनुहुन्छ ।

तेस्रो ठेली चाहिँ नेपाल बाहिरको नेपाली साहित्यको इतिहास छ । त्यसमा दार्जिलिङ, सिक्किम, डुबर्सलगायत संसारभर छरिएर रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्यलाई समेटिनेछ । तुलनात्मक रूपमा नेपाल बाहिर भनेपछि भारतलाई बढी बुझिन्छ किनभने नेपाली साहित्यको पीएचडीसम्मको अध्ययन अध्यपन सिक्किम युनिभर्सिटी, बीएचयू, असमलगायतमा छ । चौथो ठेली नेपाली पद्य र नाटकको इतिहास छ । पाँचौँ ठेली नेपाली गद्यको इतिहास छ । यी पाँचवटा ठेलीको यो परियोजना हो

अर्को कार्य, अहिले म पाश्चात्य समालोचना पुस्तक लेखिरहेको छु । त्यसमा १०, १२ वटा अध्याय छन् । त्यसका ९, १० वटा लेख त लेखिसकेको छु । २, ३ वटा लेख्न बाँकी छ । यस समालोचनामा सिद्धान्त, इतिहास र प्रक्रियालाई समेटेको छु । यस्तो खालको पाश्चात्य साहित्यको समालोचना नेपालीमा लेखिएकै छैन भन्ने ठान्छु । मक्र्सवादी समालोचनाको अध्ययन गरिसकेको छु । त्यसको लेखनकार्य बाँकी छ । अनि उत्तरआधुनिकवाद लेख्न बाँकी छ । यति लेखेपछि यो पनि सकिन्छ ।नेपाली भाषाको अनुसन्धान गरेर तयार पारिएको पहिलो व्याकरण भनेको बल्लभमणि दाहालको थेसिस हो । दुर्भाग्यवस त्यसको नेपाली अनुवाद कसैले गरेन । दाहाल सरले आफै पनि गर्नु भएन, अरू कुनै चेलाहरूले पनि गरेनन् । यो थेसिस नेपालीमा अनुवाद गरिदिएदेखि सक्कली नेपाली व्याकरण त्यहाँ भेटिन्छ ।

अर्को कार्य, यतिबेला म कर्णाली प्रदेश सरकारको अनुरोधमा त्यहाँको भाषा, संस्कृतिको अध्ययनमा लागेको छु  । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेर गर्दैछु । त्यसका लागि कर्णाली प्रदेशका बेग्लाबेग्लै जिल्ला घुमेर पनि आएँ । त्यसपछि खसहरूको इतिहास र कर्णाली प्रदेशको संस्कृतिको विषयमा बढी केन्द्रित छु । खस जातिको इतिहास, त्यसको अध्ययन, अभिलेख आदिको अध्ययन पनि गर्दैछु ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा त कहिलेकाहीँ काम पर्दा बोलाउँछन्, त्यहाँ पनि जाने गरेको छु । त्यहाँ भाषा विभागको एउटा सदस्य मात्र हुँ । त्यसैले काम परे मात्र बोलाउँछन् ।

–भाषा व्याकरणमा समर्पित भएर लामो समय विताइसक्नुभयो, नेपाली भाषा–व्याकरणलाई स्थापित गराउन केकस्ता चुनौती झेल्नुपर्यो ?

नेपाली भाषाको व्याकरण सबभन्दा पहिले इसं. १८२० जेए एटनले लेखेका हुन्, पहिले विदेशीहरूले लेखेको देखिन्छ । नेपालीहरूमा सबैभन्दा पहिलो नेपाली व्यकरण लेख्ने व्यक्ति भने वीरेन्द्र केशरी अर्याल हुन् । मैले देखेका उनका व्याकरणका ३ वटा पाण्डुलिपि छन् । ती तीनवटै एकअर्काका पूरक छन् । 

यही विषयमा मैले प्रेरणा खरेललाई थेसिस लेखाएको थिएँ । उनले वीरेन्द्र केशरी अर्यालको व्याकरणको पाण्डुलिपि पनि राखेकी छन् । एउटा जयराज आचार्यले राखेका छन् । वीरेन्द्र केशरीको यो नेपाली व्याकरण संस्कृत सिद्धान्तका आधारमा लेखिएको छ । बाँकी अरू व्याकरण पाश्चात्य सिद्धान्तका आधारमा लेखिएका छन् ।

पहिलो व्याकरण भने हेमाराज पाण्डेको चन्द्रिका (१९६९) व्याकरण हो । पछि सोमनाथ सिग्देलले मध्यचन्द्रिका (१९७६) व्याकरण लेखे । यो निकै राम्रो व्याकरण हो । जयराज आचार्यले यस व्याकरणलाई अङ्ग्रेजीको नेस्फिल्ड ग्रामरको नक्कल हो भनेका छन् । उनले यसै विषयमा थेसिस नै लेखेका छन् । उनको थेसिसको नतिजा हेर्दा नेपाली व्याकरण भनेर त्यो निष्कर्ष निकालेको पाइन्छ ।

व्याकरणको विकासका सम्बन्धमा संसारमा प्रायः एउटै प्रवृत्ति देखिएको छ । ल्याटिन व्याकरण पनि त्यही नेस्फिल्डको व्याकरणमा आधारित छ ।  ल्याटिन भाषाको व्याकरण हेर्यो, त्यसैका आधारमा आफ्ना भाषामा कपी बनायो । पार्टस अफ स्पिच कति किसिमका छन् भन्दा ८ किसिमका छन्– नाउन, प्रोनाउन, एडजेक्टिभ, भर्व, एड्भर्व, प्रिपोजिसन, इन्टरोगेसन…. अनि तिनै आठ किसिम नेपाली व्याकरणमा पनि छन् । नाम पाँच किसिमका भन्यो, त्यही कपी आएको छ । त्यही पुलिङ्ग, स्त्रीलिङ्ग भन्यो । सबै व्याकरणमा त्यही ल्याटिन भाषाको व्याकरणको धारणा भेटिन्छ । त्यसैको अनुकरण गरेर अङ्ग्रेजीमा पनि व्याकरण बनाए । त्यो नै हिन्दी भाषाको व्याकरण हुँदै नेपाली भाषामा आएको छ । त्यसैले नेपाली भाषाको अनुसन्धान गरेपछि मैले के देखेँ भने अहिलेसम्म नेपाली भाषाको व्याकरण लेखेनको परम्परा भनेको फोस्रो ढुटो मात्र रहेछ । वास्तविक अनुसन्धान गरेर नेपाली भाषाको व्याकरण नै लेखिएको रहेनछ ।

नेपालीमा नामका किसिम खोजियो भने आधारभूत रूपमा मानवीय र मानवेत्तर गरी दुई किसिमका भेटिन्छन्् । मानवीय र मानवेत्तर नाम छुट्टिएपछि मात्रै अन्य व्याकरणिक प्रक्रिया लागू हुन्छ । मानवीय भयो भने– ‘मेरो सानो छोरो आयो ।’ ‘मेरी सानी छोरी आई ।’ हुन्छ । मानवेत्तर भयो भने– ‘मेरो सानो बाछो आयो । मेरो सानो बाछी आयो ।’ हुन्छ, ‘मेरी सानी बाछी आई ।’ हुँदैन । त्यसैले मानवीय र मानवेत्तर छुट्याउनुपर्छ । यसरी नेपाली व्याकरणमा दुई किसिमका नाम छन् भनेर लेखिएको पाइँदैन । त्यसैले नेपाली व्याकरणका नाममा लेखिएका जति व्याकरण हुन्, ती सबै ढुटोका डङ्गुर मात्र हुन् । त्यसकारण नेपाली भाषाको वास्तविक व्याकरण लेख्न एउटा पहिलो चुनौती यो छ ।

नेपाली व्याकरण भनेर लेख्ने जति विद्वान्, पण्डित, शिक्षकहरू छन्, धेरैले बुझेको व्याकरण भनेको त्यही नै हो । तिनीहरूले बोलेको व्याकरण नेपाली व्याकरण नै भएन भनियो भने उनीहरूले नै ठुल्ठुला कुर्सी, पद ओगटेका छन् । उनीहरूले किताब लेखेका हुन्छन् । हुन्न भन्ने मान्छेको बोली  तिनीहरूले सुकाउँछन् । तर ती व्याकरण अनुसन्धान गरेर तयार गरिएका हुँदै होइनन् ।

तर नेपाली भाषाको अनुसन्धान गरेर तयार पारिएको पहिलो व्याकरण भनेको बल्लभमणि दाहालको थेसिस हो । दुर्भाग्यवस त्यसको नेपाली अनुवाद कसैले गरेन । दाहाल सरले आफै पनि गर्नु भएन, अरू कुनै चेलाहरूले पनि गरेनन् । यो थेसिस नेपालीमा अनुवाद गरिदिएदेखि सक्कली नेपाली व्याकरण त्यहाँ भेटिन्छ ।

अहिलेसम्म नेपालीमा ८ किसिमका विभक्ति भनिएको छ । प्रथमा, द्वितीय, तृतीया …. विभक्ति भन्दै सबैले आआफ्ना व्याकरणमा लेखेका छन् । सबै हौवाका भरमा लेखेका छन् । नेपाली भाषामा तृतीया विभक्ति कहाँ छ ? त्यो त आधारभूत रूपमा पाणिनीको सिद्धान्त हो । संस्कृतमा वैज्ञानिक व्याकरण छ । संस्कृतको हुबहु मिल्ने भए त्यही व्याकरण नेपालीमा लेख्दा हुन्थ्यो नि । तर नेपाली भाषा भिन्नै हो । नेपालीमा प्रथमा विभक्ति, तृतीया विभक्ति भनिएको छ । केको प्रथमा ? उही ‘ले’ छ । उही ‘लाई’ छ । केको त्यस्तो हुन्छ नेपालीमा ? संस्कृतमा पो ‘रामं’ भन्यो भने द्वितीया ‘रामाय’ भन्यो भने चतुर्थी हुन्छ । ‘रामं’को म र ‘रामाय’को य फरक फरक छ र द्वितीया र चतुर्थी भयो । नेपालीमा चाहिँ रामलाई, रामलाई द्वितीया र चतुर्थी  भन्न मनलागे अनुसार भन्ने गरिन्छ । रामलाई सामान दियो भने चतुर्थी, रामलाई मैले कुटेँ भने भने द्वितीया हुने रे ! यस्ता तरिकाले पनि विभक्ति हुन्छ । त्यसैले प्रथमा, द्वितीय, तृतीय विभक्ति नेपाली चिजै होइनन् । संस्कृतको माल ल्यायो खोटो बानाएर । मेरो ‘वाक्य व्याकरण’मा यसबारे विस्तृत लेखेको छु । त्यसमा विभक्ति नियम लेखिएको छ ।हाम्रै देवनागरी लिपि पनि आधारभूत रूपमा ब्राह्मी लिपिबाट विकसित भएको हो । ब्राह्मी लिपि पनि आरामाहिक लिपिबाट विकसित भएको हो । आरामाहिक लिपि भनेको सेमेटाइक भाषा, अरबी भाषा लेख्न प्रयोग गर्ने चिन्ह हो । त्यसैले लिपि भनेको देवनागरी लिपि नै पो कहाँ जन्मजात लगेर शिवजी, महादेवको वरप्रसादबाट लिपि आएको हो र ?

अर्को, पाणिनीको व्याकरणमा विभक्ति चाहिँ प्रत्ययको नाम मात्रै हो । रामः विसर्ग रामं अं भयो, रामेण, एण भयो, रामाय, रामात्, रामास्य, रामे… भन्यो भने यी पो विभक्ति हुन्– शब्दबाट जसलाई छुट्याउनै सकिँदैन । त्यस्तो चाहिँ नपत्याउने, अनि नेपालीको ‘केटाले’ भन्दा ‘ले’ त बेग्लै शब्द हो । रामले, रामको भन्यो भने ‘ले’ र ‘को’ बेग्लै शब्द हुन् किनभने त्यो ‘को’मा चाहिँ विभक्ति हो भने त्यसमा विभक्ति र अर्को शब्द छिराउन सकिँदैन । विभक्तिका बीचमा केही राख्न सकिँदैन तर ‘रामको’ भने पनि ‘राम विचाराको’ भनेपछि ‘को’ त सरेर विचराभन्दा पर्तिर पुग्यो । कहाँ ‘को’ विभक्ति हुन्छ ? ‘को’ भनेको बेग्लै स्वतन्त्र शब्द हो । तर नेपालीमा यो विभक्ति हो, यो प्रत्यय हो । ‘देखि’, ‘बाट’ सबै प्रत्यय हुन् भन्ने भ्रम सिर्जना गरियो । यसले गर्दा पदयोगको झ्याउलो थपिएको छ । व्याकरणका यी सम्पूर्ण कुराहरूसँग यस्तो होइन भनेर युद्ध गर्नु, सारा ठूलो त्यो बहुमत, त्यो परम्परा, त्यो रुढीका समर्थनमा भएका बेलामा यो होइन भनेर विरोध गर्नु जस्तो ठूलो हाँक अर्को केही होइन । नेपाली व्याकरण मानक स्थापना गर्नको चुनौती यो हो ।

तपाईंले नेपाली भाषामा जम्मा ४० वटा मात्र वर्ण निर्धारण गर्नुभएको छ, त्यति वर्णहरूले नेपाली भाषालाई समेट्न सक्छ ?

–संस्कृत भाषा र नेपाली भाषाका वर्ण एउटै होइनन् । संस्कृत र नेपाली भाषाको व्याकरण पनि फरक हो । वर्ण र व्याकरण एउटै भएका भए नेपाली भाषा फरक हुने नै थिएन । नेपाली र जुम्ली जो नेपाली भाषाको भाषिका हो, त्यसको त वर्ण र व्याकरण मिल्दैन भने संस्कृत त भाषै बेग्लै हो । त्यसैले निर्धारण भएका ती ४० वटा वर्णले नेपाली भाषालाई समेट्न सक्छ ।

वर्ण भनेको नै व्यतिरेकी ध्वनिहरू (उच्चारणले अर्थमा ल्याउने फरक÷भेद) हुन् । नेपाली भाषाका वर्णहरू लघुतम युग्मबाट सिद्ध भइसकेको छ । त्योभन्दा बाहेक अन्य उच्चारणले फरक पार्ने उच्चारण भेद छैन भनेपछि त वर्ण त्यति मात्र हुन् । त्यसैले नेपाली भाषाका वर्ण ४० वटा मात्रै हुन् । संसारका जुनसुकै भाषा पनि त्यो भाषाको वर्णले लेख्न सकिन्छ भन्ने मान्यता नै त हो । लेख्न र बोल्न सकिन्छ भन्ने मान्यताले वर्ण बनाइने हो ।

संस्कृतका वर्णहरू नै नेपालीका पनि वर्णहरू हुन् भनेपछि नेपाली लेखनमा समस्या आएको छ ।  संस्कृतका वर्णहरू तालव्य श, मूर्धन्य ष, दन्त्य स संस्कृत अनुसार नै उच्चारण र अर्थमा भेद हुनुपर्ने हो तर नेपालीमा हामी तालव्य श भने पनि तालु र जिब्राका टुप्पाले घोटेर स उच्चारण गर्छौं, दन्त्य स पनि त्यही स्थानबाट र मूर्धन्य ष पनि त्यहीँबाट उच्चारण गर्छौँ । नाम मात्रै बेग्लाबेग्लै राख्छौँ, न्वारान गर्छौं, स त त्यही भन्दै आएका छौँ । त्यसकारण उच्चारणमा केही फरक नै छैन, अर्थ पनि फरक छैन । त्यसैले तिनीहरू (श, ष) नेपाली भाषाका वर्ण होइनन् । नेपाली भाषामा स एउटा मात्र छ । तीन किसिमको स लेख्नु पनि पर्दैन भन्ने खालका कुरा गर्न अहिलेको परिस्थितिमा त असह्य हुनेभयो । त्यसैले गर्दा परम्पराविरुद्धमा जान, लडाइँ गर्न गाह्रो छ ।

यो पनि पढ्नुहोस्

नेपाली भाषाका भीष्मपितामह हुन् बालकृष्ण पोखरेल : चूडामणि रेग्मी

नेपाली भाषाको वर्णविन्यासमा शतप्रतिशत एकरूपता हुन सक्दैन : चूडामणि बन्धु

‘आस्थाको धरोहरमा कसैले बन्चरो हान्छ भने हरेक हृदयमा विस्फोट हुन्छ’

कुनै शासकले बन्दुक तेर्स्याएर ल्याउने कुरा होइन वर्णविन्यासमा एकरूपता : डा. बलदेव अधिकारी

–नेपालका ६४ वटा अलिखित भाषाहरूको वर्णमाला बनाइदिएको छु भन्नुभएको छ, वर्णनिर्धारण र लिपिको विकास गर्न कतिको सजिलो रहेछ ?

संसारमा ७ हजारवटा जति मातृभाषा छन् । तर लिपि भन्या चाहिँ संसारभरका जोडियो भने १०० वटा पनि पुग्दैनन् कि ! त्यसैले लिपि भए भाषा हुने लिपि नभए भाषा नहुने होइन । भाषाविज्ञानकै सिद्धान्तअनुसार पनि अर्थमा फरक पार्ने उच्चारण भेद मात्र वर्ण हुन् । उच्चारण भेद है । उच्चारण त लेखिने होइन । त्यसैले थुप्रै अलिखित भाषा छन् । अलिखित भाषाको लिपि छैन भनेर वर्णै छैन भन्ने त होइन । लिपि त भइराखेको कुनै लिपिलाई प्रयोग गरेर केही आफ्ना उपचिन्हहरू राखेर बनाउन सकिन्छ । मैले गरेको पनि त्यस्तै हो । देवनागरी लिपिका आधारमा ती बेग्लाबेग्लै भाषाको उच्चारण भेदहरूलाई केही लेख्यचिन्हहरू प्रयोग गरेर उनीहरूको भाषाका अर्थमा फरक पार्ने उच्चारण भेदहरू सबै त्यति चिन्हहरूका आधारमा लेख्न सकिने मैले बनाइदिएको छु । त्यो उनीहरूले लेखिराखेका पनि छन् ।

हाम्रै देवनागरी लिपि पनि आधारभूत रूपमा ब्राह्मी लिपिबाट विकसित भएको हो । ब्राह्मी लिपि पनि आरामाइक लिपिबाट विकसित भएको हो । आरामाइक लिपि भनेको सेमेटिक  भाषा, अरबी भाषा लेख्न प्रयोग गर्ने चिन्ह हो । त्यसैले लिपि भनेको देवनागरी लिपि नै पो कहाँ जन्मजात लगेर शिवजी, महादेवको वरप्रसादबाट लिपि आएको हो र ? त्यसैले गर्दा अइउणऋलृक, हयवरटलण भनेर जुन संस्कृतमा महेशरा आगतानी माहेश्वराणी हैन, माहेशसूत्राणी भनेर भन्ने जुन सूत्र छ, त्यो चाहिँ शिवजीका डमरुबाट आएको आवाजबाट भएको भन्नेछ । डमरुबाट त वर्णहरू निस्कने होइनन् । मानिसका ओठ, जिब्रा, कण्ठ आदिबाट निस्कने कुरा हो । कुनै पनि भाषाको वास्तविक भौतिक चिजलाई लगेर मिथकीय बनाउँदाखेरी स्वाद लिन्छन् यो भारतीय महाद्वीपका पण्डितहरू । त्यही प्रवृत्तिले मात्रै हो महेश्वरा जागतानी, माहेश्वराणी… भन्या हो । वास्तवमा त मान्छेले उच्चारण गर्दा अर्थमा फरक पार्ने उच्चारण भेद मात्र वर्ण हो ।वर्ण भनेको नै व्यतिरेकी ध्वनिहरू (उच्चारणले अर्थमा ल्याउने फरक÷भेद) हुन् । नेपाली भाषाका वर्णहरू लघुतम युग्मबाट सिद्ध भइसकेको छ । त्योभन्दा बाहेक अन्य उच्चारणले फरक पार्ने उच्चारण भेद छैन भनेपछि त वर्ण त्यति मात्र हुन् । त्यसैले नेपाली भाषाका वर्ण ४० वटा मात्रै हुन् ।

लेखनकार्यका बारेमा लेख्यचिन्ह हेर्दाखेरि अहिले संसारको सबैभन्दा पुरानो लिपि भनेको इजिप्टको लिपि देखिन्छ । इजिप्टको लिपिमा उच्चारण र सङ्केत थिएन जस्तो छ । त्यसपछि एकाडियम लिपि छ, खासगरेर मध्यपूर्वको । त्यो लिपि चाहिँ अलिअलि त्यो तिलाक्षर लिपि भन्छन् । त्यो चाहिँ वर्णसँग सम्बन्धित थियो । संसारको सबैभन्दा पहिलो अल्फाबेटिक लिपि अक्षरात्मक लिपि अर्थात कखरात्मक लिपि भनौँ त्यो चाहिँ ग्रीक लिपि हो सबभन्दा पहिलो । खास गरेर उच्चारण पनि चित्र पनि सबै मिलेको वर्णनात्मक आक्षरिक लिपि चाहिँ चित्रलिपि चाहिँ त्यो चिनियाँ लिपि हो । आक्षरिक लिपि चाहिँ जापानी लिपि हो । यी सबै किसिम किसिमका छन् । यी सबै लिपि जापानी लिपि पनि विकसित भएको, चिनियाँ किताबहरू, बुद्धधर्मका किताबहरू सार्दाखेरि विकसित भएको हो । त्यसैले लिपि भनेको चाहिँ जति भाषा त्यति लिपि हुनुपर्ने, लिपि भए भाषा सशक्त हुने, लिपि नभए भाषा मासिने, समाप्त हुने, भाषाको अस्तित्व नै नहुने भन्ने होइन । देवनागरी लिपिमा नै उपचिन्हरू राखेर मैले ६४ अलिखित भाषाहरूको वर्ण निर्धारण गरेको छु ।

नेपाली भाषामा मानक रूप स्थापना गर्न धेरै कठिन भयो नि, यसमा गुट उपगुट पनि धेरै भयो ? यसलाई एकरूपता कायम गर्न के गर्नुपर्ला ?

–नेपाली भाषाको मानक रूप निर्धारणमा धेरै समस्या छैन । मानक निर्धारणमा सबैभन्दा बढी समस्या देखिएको भनेको हिज्जेमा हो । त्यो पनि अहिलेको उत्तरआधुनिक युद्धमा जन्मिएको मात्रै हो । हिजोसम्म थिएन । बर्खा लाग्दा उम्रिएको नयाँ च्याउ मात्र हो यो । बाँकी रहेको मानक भनेको चाहिँ केकेले मानक बनाउँछ भन्ने हो । शब्दकोशले मानक बनाउँछ । जुनसुकै भाषामा शब्दकोश भयो भने मानक हुन्छ । शब्दकोश भएन भने मानक हुन कठिन हुन्छ । नेपाली भाषामा अहिलेसम्ममा थुप्रै शब्दकोशहरू बनेका छन् । मानकीकरणको एउटा आधार त्यो हो । अर्को आधार, व्याकरणहरू बन्नुपर्छ । थुप्रै व्याकरण बनेका छन् तर ती अनेक व्याकरणहरूमध्ये एउटा यो चाहिँ व्याकरण सर्वमान्य हो भन्ने किसिमको व्याकरणको काम गर्नुपर्ने छ । तर बन्न त बन्या छन् बेग्लाबेग्लैले काम गरेका छन् । तिनलाई जोडेर एक किसिमको सहमतिको काम मात्र गर्न बाँकी छ । तर व्याकरण नै नभएको अवस्था चाहिँ होइन । व्याकरणका काम नभएको होइन, ध्वनिविज्ञानको काम भएको छ । वर्णविज्ञानको काम भएको छ । नेपालीको रूपविज्ञानको काम पनि भएको छ बल्लभमणि दाहालले गर्नुभएको छ । वाक्य व्याकरण पनि लेखिएको छ । अर्थव्याकरण चाहिँ अहिलेसम्म कसैले लेख्या छैन । हेमाङ्गराज अधिकारीको कारक व्याकरण चाहिँ छ, नभएदेखि अर्थ व्याकरणै ढाक्ने गरी काम कसैले गरेका छैनन्  । तर मानक बनाउने भनेको शब्दकोशले हो, त्यो छँदैछ । झण्डै २०० वटा जति व्याकरण बनेका छन् भनेर सुकुम शर्माको शोधग्रन्थमा लगत नै छ ।

त्यसैगरी नेपाली भाषाको रेडियो, पत्रपत्रिका थुप्रै निस्किएका छन् । किताब, ग्रन्थहरू थुप्रै छापिएका छन् । साझा प्रकाशन र अरू प्राइभेट प्रकाशन असङ्ख्य छन् । तिनीहरूबाट थुप्रै किताबहरू प्रकाशन भइरहेका छन् । मानक बनाउने र मानकीकरण गर्ने त यिनै चिज हुन् ।

तिनीहरूको अहिलेको मुख्य समस्या भनेको १९७० सालमा गोरखा भाषा प्रकाशनी समिति बन्यो । त्यसमा राममणि आदीलाई ल्याएर बडाहाकिम बनाएर राखे । रामणि आदी बनारसमा हुँदा हिन्दीको जस्तो नेपालीको वर्णमाला हुनुपर्छ । खुट्टा काटिने अक्षर हुनुहुँदैन भन्थे उहाँ । यहाँ आएर अलि अलि यहाँ पनि गरे तर उनको आफ्नो मान्यतालाई पनि बिदा गरेर तिलाञ्जलि दिएर यहाँ आएर प्रकाशनी समितिमा आएर किताबहरू प्रकाशित गरे ।  पछि जुद्ध समशेरका पालमा त्यो गोरखा भाषा प्रकाशिनी समिति नेपाली भाषा प्रकाशनी समितिमा बदल्यो । खास गरी दार्जिलिङेहरूले गर्दा ।

नेपाली भाषा प्रकाशनी समितिमा त्यो परिवर्तन भइसकेपछि पछिल्लो समय राजा महेन्द्रका पालामा नेपाली भाषा प्रकाशनी समिति साझा प्रकाशनमा परिवर्तित भयो । यी परिवर्तित संस्थाहरूले नेपाली भाषाको हिज्जेमा कमसे कम एकरूपता राखौँ भनेर बालकृष्ण सम र पुष्कर समशेरले ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ व्याकरण १९९२ सालमा लेखे । त्यसैका आधारमा पुस्तकहरू प्रकाशन हुन्थे । त्यो व्याकरण नेपाली भाषाको अनुसन्धान गरेर, पूरै वैज्ञानिक भएर त्यसको विरोध नभएको होइन । त्यसका पछाडि जुद्ध समशेरको लौरो थियो । त्यो लौराका डरले मान्छेले विरोध गर्दैन थिए । त्यो स्थापित भएको थियो । त्यतिबेला नेपाली भाषा प्रकाशिनी समितिले अनुमति नदिई साइनबोर्ड पनि लेख्न पाइँदैन थियो । 

खासगरी आगन्तुक शब्दहरूको नेपालीकरण गर्ने जुन नियम पछाडि बन्यो यसको प्रयास केही अघि पनि भएका थियो । साझा प्रकाशनले २०२५ सालतिर पनि प्रयास गरेको थियो । बालकृष्ण पोखरेलले भाषाशास्त्रमा एमए पास गरेर फर्केर आएपछि नेपाली भाषामा आगन्तुक शब्दको नेपालीकरण गर्ने कार्य गरे । त्यो झर्रोवादीहरूले २०१३ सालमै नौलो पाइलोमार्फत सुरु गरेका थिए । त्यो कुरो नै फैलिएर आयो । त्योबेला बालकृष्ण पोखरेल त्रिविमा एमएलाई पढाउँथे, पछि छोडेर पनि गए । त्यहीबेला लगभग २६ सालतिर एउटा गोष्ठी गरे । त्यस गोष्ठीमा आगन्तुक शब्दको नेपालीकरण गर्ने प्रयास पनि गरे । त्यो प्रयासमा त्यसबेलाका भाषासम्बधी चासो राख्नेहरूले विथोले भन्छन्, तारानाथ शर्मा भाँडे भन्छन् । तर त्यसबेला सफल भएन ।शब्दकोशको हिज्जेको विरोधमा हिँडेका छन् ती दुई जनालाई एउटा प्याराग्राफ लेख्न लगाउने हो भने कसैको एकअर्कामा मिल्दैन ।

बल्लभमणि दाहाल २०३१ सालमा पिएचडी गरेर फर्किएपछि २०३४ सालमा त्रिविमा नायाँ शिक्षा लागू भएका बेलामा अनिवार्य नेपालीको पहिले वासुदेव त्रिपाठी अध्यक्ष हुनुहुन्थ्यो, त्यसपछि बल्लभमणि दाहाल त्यसको अध्यक्ष बनाइनुभयो । बल्लभमणि दाहाल अध्यक्ष भएका बेलामा २०३४ सालमा नेपालभरी अनिवार्य नेपाली पढाउनुहुने गुरुहरूको राष्ट्रिय अधिवेशन बोलाउनुभयो । सबै गुरुहरूसँग यो आगन्तुक शब्द नेपालीकरण गर्ने भनेर सबैलाई थप्पडी बजाउन लगाउनुभयो । त्यसको दस्तावेजका रूपमा नेपाली बृहत् शब्दकोश २०४० आयो । त्यसबेला बालकृष्ण पोखरेल  सदस्य भएको बेला थियो । बालकृष्ण पोखरेलको २०१३ को झार्रोवादी आन्दोलनको दस्तावेज भएर यो शब्दकोश आयो । तर यो नेपाली बृहत् शब्दकोश पनि सम्पूर्ण रूपमा एकरूपता भएर त्यसको विरोध नभएको होइन । त्यहाँ पनि पञ्चायती व्यवस्थाको लौरो थियो । त्यो लौराले स्थापित भएको थियो । त्यसैले त्यतिबेला विरोध गर्न सक्दैन थिए ।

अब २०६२/६३ को आन्दोलन पछाडि चाहिँ उत्तरआधुनिक सत्यता, आधुनिक होइन, उत्तरआधुनिक सत्यताले काम गरिराखेको छ । आधुनिकता र उत्तरआधुनिकताको एउटा मात्र फरक के हो भने– आधुनिकताको केन्द्र एउटा मात्र हुन्छ, सत्य एउटा हुन्छ तर उत्तरआधुनिकताको चाहिँ केन्द्र एउटा नभई असङ्ख्य हुन्छ । केन्द्रै कुन हो भन्ने थाहै हुँदैन । भएको केन्द्रलाई भत्काउँछन्, नयाँ केन्द्र बन्दैन । जहिल्यै पनि परिधिले केन्द्रमा आक्रमण गर्छ, केन्द्रको मौलो लच्काउन खोज्छ । स्थापित केन्द्रलाई भत्काउने हुनाले त्यस्तो हुन्छ । त्यसैले अहिले केन्द्रीय सरकार पनि बलियो छैन । त्यसैले अहिले न जुद्ध समशेरको लौरो, न पञ्चायती सरकारको लौरो । सरकारले यो गर्ने भन्छ । विरोध हुन्छ सडक आन्दोलन हुन्छ । अनि लु नगर्ने भन्छ । सम्झौता गर्छ । कुनै कुरा पनि त सरकारले भन्या लागेको छैन ।

यस्तो अवस्था भएपछि नेपाली बृहत् शब्दकोश हिजो चाहिँ पञ्चायत व्यवस्था हुन्जेल चाहिँ त्यो वैज्ञानिक भएकाले विरोध नभएको, अहिले त्यसभित्र आफसेआफ त्यसका अवगुणहरू बढेर विरोध भएको होइन । यो उत्तरआधुनिक सत्यता भएको भएको हुनाले हो । त्यसैले नेपाली बृहत् शब्दकोशको हिज्जेमा त्यहाँ काम गर्नेहरू र त्यसलाई अलिअलि बढाउनेहरूले पनि अलिअलि उरन्ठेउल्याइँ पनि गरेका छन् । तर त्यहाँ जेजे भएका छन्, ती चाहिँ अबुझहरू हुन् । यहाँ बढ्ता झगडा गरेरर लौरो लिएर हिँड्नेहरू बुझग्गीहरू होइनन् । बरु नेपाली शब्दकोशलाई जसले चलायमान बनाए तिनीहरू अलिअलि बुझ्छन् । तिनीहरूले यो कसरी लेख्छन् भन्ने कुरालाई यो शब्दलाई यसरी लेख्ने भन्ने, यो नियमअनुसार भन्छन् र तिनीहरूको बरु एउटा जवाफ आउँछ  । जो बृहत् शब्दकोशको हिज्जेको विरोधमा हिँडेका छन् ती दुई जनालाई एउटा प्याराग्राफ लेख्न लगाउने हो भने कसैको एकअर्कामा मिल्दैन ।

त्यो खारेजवाला शब्दकोश चाहिँ गल्ती नै भएर चाहिँ होइन । जस्तो, भानुभक्तको क र त हुँदै हो ।  भक्तलाई क र त बुझिनेगरी लेखौँ भनेको मात्रै हो । सत्तालाई कसैले सत्ता पढ्छन्, कसैले सक्ता पढ्छन्, त्यसैले यसलाई प्रष्ट बुझिनेगरी सक्ता वा सत्.ता छुट्टा छुट्टै लेखौँ भनिएको हो । यसमा अरू भन्दा पनि हेमाङ्ग अधिकारी त्यसमा बढी लागेर त्यहाँ सदस्य भएका बेलामा त्यो परिवर्तन गर्नुभयो । त्यसले गर्दा विद्या भण्डारीको द्य भेटिएन । भानुभक्तको त भेटिएन । मोतिराम भट्टको ट्ट भेटिएन भनेर डाको छोडेर रोएर जुन किसिमको खैलाबैला बजारमा भएको छ, त्यो कुनै नहुने कुरै चाहिँ साह्रै भएको होइन । किनभने पहिले त्यो बुझिँदैन थियो, पद्य लेख्दा जोडिएको हुन्थ्यो । पद्.यको द र य छुट्याएर लेख्दा के गल्ती भयो ? गल्ती त होइन नि । त्यो गल्ती त होइन नि तर चाहिँदोभन्दा बढ्ता विरोध भयो । त्यो हल्लाले विरोध भएको हो ।

प्रज्ञा–प्रतिष्ठानले गरेको गल्ती एउटा छ । नेपाली बृहत् शब्दकोश २०४० बालकृष्णले पोखरेलले बनाउँदाखेरी पुराना किताबहरूमा भेटिने शब्दका गरीब दीर्घ, शहरको श आदि शब्दकोशमा समावेश थियो । गरीब दीर्घ पनि थियो गरिब ह्रस्व पनि थियो । दीर्घ गरीब लेखेर हे. गरिब भन्ने थियो । पुराना किताबमा भेटिने हिज्जे र नयाँ प्रस्तावित हिज्जे पनि समेटिएका थिए ।

शब्दकोश भनेको पाठकका लागि हो, कुनै लहडी शब्दकोशकारका लागि होइन । पाठकले आफूले खोजेको शब्दको अर्थ त्यो शब्दकोशमा खोज्ने हो । शहर खोज्दा त्यसका विकल्प दन्त्य ‘स’ सहर र तालव्य ‘श’  शहर पनि थियो । त्यस्तै लहडीहरूले २०५८ सालमा परिमार्जन हुँदा त्यो विकल्प हटाइदिए । तालव्य शहर झिकिदिए । दीर्घ गरीब झिकिदिए । किताबहरूमा तालव्य शहर छ, शब्दकोशमा छैन । शब्दकोश त नेपाली जान्नेका लागि नभई नजान्नेका लागि हो नि । एउटा विदेशीले तालव्य हेर्छ । नेपाली बृहत् शब्दकोश पल्टाउँछ, त्यो शब्दै छैन । दन्ते सहर छ । दन्ते सहरलाई तालव्य श कसरी खोज्छ ? त्यहाँ समस्या छ । त्यो पाठकलाई निराश बनाउने र भइरहेका पुराना किताब र पत्रपत्रिकामा छापिएका किताबहरूमा भएका शब्दका हिज्जेहरूका अर्थ नभेटिने बनाए ।२०५८ मा नेपाली बृहत् शब्दकोशमा विकल्प हटाइयो, त्यो चाहिँ ठूलो दुर्घटना हो । विरोध त्यो बेला गर्नुपथ्र्यो । ५८ देखि ६९ सालसम्म ११ वर्ष नेपालीका पण्डितहरू कहाँ गए ? त्यो नेपाली केन्द्रीय विभाग कहाँ गयो ? तिनीहरूले कहिल्यै विरोध गरेनन् । अनि आएर हेमाङ्गराज अधिकारी प्रज्ञामा हुँदाको २०७२ सालको शब्दकोश खारेज गर्ने भने । २०७२ सालमा आएर ठूलो तारा खसेर चकनाचूर भएर यसको विरोध भएको होइन ।

२०५८ सालमा ओर्याइँ गरे । कुन ओर्याहा लागे तिनको नाम खोज्न लाग्नु छैन । जो ओर्याहा लागे त्यसले चाहिँ नेपाली भषामा एकदमै घातक कार्य गरे । हो यो ढङ्गले पाठकलाई अलमल बनाउने काम गर्नु हुँदैन थियो  । जुन बेला २०५८ सालमा पञ्चायती व्यवस्थाको धङ्धङी बाँकी नै थियो, कसैले विरोध गरेनन् । ५८ सालमा थाहा पाएन होलान्, ५९ सालमा त थाहा पाए होलान नि, किन विरोध गरेनन् ।

नेपाली विश्वविद्यालय त थियो, नेपाली विभाग थियो । आज नेपाली विभागले विरोध गरिरहेको छ, त्यसबेला थिएन ? नेपाली विभागका मान्छे नै लागेका थिए नि त्यस कार्यमा । त्रिभुवन विश्वविद्यालय नेपाली विभागले थाहा नपाउने भन्ने हुन्छ त्यहाँ गडबड भएको ? त्यसपछि ६३ सालसम्मको अन्दोलनसम्म पनि कसैले थाहा पाएनन् । यो झगडा भनेको ६९ सालबाट सुरु भएको हो । कतिपय आफै ओर्याइँ गर्र्नेेहरू नै आज विरोध गर्दै आएका छन् । ओर्याइँ गर्नेहरूकै आवाज छ ठूलो । यस्ता खालका विरोधहरू देखिन्छन् । २०५८ मा नेपाली बृहत् शब्दकोशमा विकल्प हटाइयो, त्यो चाहिँ ठूलो दुर्घटना हो । विरोध त्यो बेला गर्नुपथ्र्यो । ५८ देखि ६९ सालसम्म ११ वर्ष नेपालीका पण्डितहरू कहाँ गए ? त्यो नेपाली केन्द्रीय विभाग कहाँ गयो ? तिनीहरूले कहिल्यै विरोध गरेनन् । अनि आएर हेमाङ्गराज अधिकारी प्रज्ञामा हुँदाको २०७२ सालको शब्दकोश खारेज गर्ने भने । २०७२ सालमा आएर ठूलो तारा खसेर चकनाचूर भएर यसको विरोध भएको होइन । यो चाहिँ अहिले आएर उत्तरआधुनिकताको खोजीमा चाहिँ यो विरोध भएको हो ।

नेपाली भाषाको हिज्जे सिकाउने कुरा छ । यो कुरा महत्त्वपूर्ण छ । एक कक्षादेखि नै सिकाउने गुरुको, पहिलो कक्षादेखि पढ्ने विद्यार्थी, नेपाली भाषा पढ्ने पाठक र लेखकहरूको हिज्जेमा अनेक रूपता हुनु दुर्भाग्य हो । यसलाई ढिलोचाँडो एकरूपता ल्याइहाल्नुपर्छ । त्यो एकरूपताको विन्दु भनेको, मैले देखेको चाहिँ नेपाली बृहत् शब्दकोश २०४० नै  हो । त्यो २०४० सबैको सहमति पनि हो । विकल्प पनि त्यसैमा छन् । पछिल्लो पटक बालकृष्ण पोखरेलले आफै बनाए आफै विरोध गरेपछि त्यो आत्माघाती ब्रह्मास्त्र भयो, मैले भनेकै पनि छु । त्यसभित्र पनि साह्रै गडबड त छैन । यतिबेला पनि बेग्लाबेग्ले कराउनेहरूको सहमतीको विन्दु भनेको नेपाली बृहत्् शब्दकोश २०४० नै हो ।

त्यसैले नेपाली बृहत्् शब्दकोश २०४० लाई विवादको सहमतिको विन्दु बनाएर सबै झगडियाहरूका बीचमा सहमति गराउन सकिन्छ । यो अप्ठ्यारो कार्य पनि होइन ।

नेपाली हिज्जे प्रुफरिडरहरूले विगारे भन्ने आरोप लगाउनुभएको छ, तपाईंहरूले नेपाली बृहत् शब्दकोश लागू गराउन नसक्नुभएको हो कि प्रकाशन गृहले नटेरेको ?

–यो विषयमा अहिले फेरि लेख्नुपर्ने भएको छ । केहीअघि एक राष्ट्रिय दैनिक पत्रिकामा ‘कैलाशतिरको यात्रा’ भन्ने मेरो लेख छापियो । त्योभन्दा अगाडि ‘खस जातिको खास कुरो’ भन्ने । ती दुईवटा लेखमा हिज्जे मात्र होइन धेरै कुरा बिगारेर प्रकाशन गरिदिए । मैले टाइप गरेर शुद्ध गरेर पठाएको लेखलाई शुद्धलाई अशुद्ध पारिदिए ।

‘किनभने’ का अगाडि पूर्णविराम राखेको छ, जहाँसुकै पूर्णविराम राखिदिएको छ । शुद्धलाई अशुद्ध बनाइदिएको छ । ‘कैलास’ शब्द तालव्य संस्कृतका शब्दकोशमा कहीँ पाइँदैन । म दन्त्य ‘कैलास’ लेखेर पठाउँछु बाठो भएर उसले ‘कैलाश’ तालव्य बनाइदिन्छ । तालव्य शब्दकोशमा समेत छैन । अब जस्तो भेस बदल्नु भन्ने लेखेर पठाउँछु उसले भेष मूर्धन्य बनाइदिन्छ । संस्कृतमा वेश भन्ने छ, नेपालीमा भेस हो । त्यो त दन्ते स हो । अब प्रुफरिडर हो वा सम्पादकले जसले गरून् बिगार्ने काम गर्नुभएन ।

नेपाली बृहत् शब्दकोश अनुरूप एकरूपता गर्न केही प्रशिक्षण कार्यक्रम आयोजना गर्नु आवश्यक पर्दैन ? के लाग्छ तपाईंलाई ?

–पहिलो कुरो, नेपाली शब्दकोश मेरा खटनमा छैन । म एकेडेमीको सदस्य पनि होइन । कहिल्यै पनि भएको छैन । बेलाबेला भाषाका कार्यक्रमहरूमा बोलाउँछन्, जाने गरेको मात्रै हो । बेलाबेला चण्डीको पाठ गर्न आइज भनेर बोलाएका बेला चण्डीको किताब बोकेर जान्छु, सत्यनारायणको पूजा भए सत्यनारायणको किताब बोकेर जान्छु । त्योभन्दा बढ्ता सम्बन्ध एकेडेमीसँग छैन । तर म कुनै न कुनै ढङ्गले भाषाको अध्ययनमा लागेको हुनाले एउटा पण्डा त बोलाउँछन् नि, पण्डा भएर थप्पडी मार्न साछी त बोलाउँछन्, त्यसरी जाने हो तर त्यो लाग्ने कुरामा पनि संस्था लाग्नुपर्दो रहेछ, व्यक्ति विचारा लागेर हुँदो रहेन छ । तर भाषाका क्षेत्रमा लागेको हुनाले नेपाली भाषाको एकरूपताका लागि मैले पनि लाग्नुपर्छ ।

मैले सबै नेपाली शब्द नेपाली वर्णका आधारमा लेख्नुपर्छ भने भने खपिसक्नु हुँदैन । अरूका ६४ भाषाका वर्ण त शुद्ध बनाएँ तर आफ्नो भाषामा चाहिँ शुद्ध गर्न गाह्रो भएको छ । तर पनि नेपाली भाषालाई एकरूपता बनाउन नेपाली बृहत् शब्दकोश २०४० लाई आधार मानौँ भन्दै आएको छु । यो कुरा त त्यहाँभित्रकाले भन्नुपर्यो नि । यो त मेरो खटनमा छैन । म त पुरेत बनाएर बोलाएर कसैले मञ्च दियो भने आफ्ना कुरा राख्छु । यसको मियो म हुन सक्दिनँ । मियो नभएसम्म काम गर्न सकिँदैन । भाषा आयोगमा पनि म विज्ञ सल्लाहकार छु नि तर भाषा आयोगमा ९ जना सल्लाहकार छन्, तीमध्ये म एक मात्र त हुँ । मेरा सबै कुरा त कसैले मान्दैनन् ।

नेपाली भाषालाई उच्चारणका आधारमा लेख्न सकिन्छ कि सकिँदैन ? लेख्ने र बोल्ने नेपाली भाषामा कति भिन्नता हुन्छ ?

–त्यस्ता आधार त छन् । जस्तो प्रज्ञाले एउटा नेपाली अङ्ग्रेजी शब्दकोश निकालेको छ । त्यसभित्र त्यसको उच्चारण चाहिँ मैले लेखेको छु । त्यसभित्रको उच्चारण चाहिँ आईपीएका चिन्ह राखेर अन्तर्राष्ट्रिय ध्वनितात्विक वर्णमालका प्रयोग गरेर लेखिएको छ । त्यसमा नेपालीको पनि छ र अन्तर्राष्ट्रिय ध्वनितात्विक वर्णमालाको पनि छ । त्यसैले उच्चारण कसरी लेख्ने भन्ने त छ नि ।

उच्चारणका आधारमा नेपाली लेखिनुपर्छ भन्ने कुराचाहिँ सम्भव हुँदैन । किनभने मानक नेपालीको प्रयोग भनेको मेचीदेखि महाकाली र संसारभरका नेपालीभाषी समुदायका लागि हो । ती सबै ठाउँमा नेपाली उच्चारण एकै हुँदैन । कास्कीका मान्छेले ‘को छ ?’ भन्दा ‘को ख ?’ भन्छन् । एउटा जुम्लीले ‘सक्तैन’ भन्नुपर्यो भने ‘हक्तैन’ भन्छ । त्यसलाई मिलाउन कठिन हुन्छ । स को ठाउँमा ह भन्छ । हामी पूर्वतिर क च ट त प ख छ ठ थ फ स सँग त लगाउँछौँ, द लागाउँदैनौँ । हामी घोषसँग द लगाउँछौँ ग ज ड द ब घ झ ढ ध भ य र ल व सँग द लगाउँछौँ । सक्ता, मिस्ता, मिच्ता, पस्ता, कुट्ता, लेख्ता, पुस्ता, सिक्ता आदिमा त हुन्छ । काठमाडौँ आएर सिग्दा लेख्छन् यहाँ । उच्चारण चाहिँ ग गर्छन् । लेग्दा, सिग्दा उच्चारण गर्छन् । त्यसैले उच्चारण अनुसार लेख्न सम्भव छैन । त्यसैले मानकीकरण भएपछि चाहिँ यो सहज हुन्छ । मोटामोटी मात्रै हो मानकीकरण ।

महानन्द सापकोटा जनजिब्रो भन्थे । जस्तो बोल्छन् त्यस्तै लेख्नुपर्छ भन्थे उनी । त्यो जनजिब्रो पनि यही धारणामा आधारित छ । तर उच्चारण भनेको चाहिँ एउटै व्यक्तिको  पनि ज्यादै फरक हुन्छ । ‘म कामेँ ।’ भन्नुपर्यो भने ताप्लेजुङको मानिसले ‘म कामी ।’ भन्छ । अब उसले कामी भन्यो भनेर कामी लेख्न त भएन । त्यसैले एकरूपता  त चाहियो नि ।

नेपाली बृहत् शब्दकोश प्रकाशन भए नै पिच्छे वर्णविन्यासका नियममा परिवर्तन गर्छन् नेपाली भाषाका विद्वान् भन्ने आरोप तपाईंहरुमाथि छ, के यो सत्य हो ? अनि हिन्दी, अङ्ग्रेजीमा पनि यस्तै हुन्छ ? 

–सीमित हिज्जेका नियमहरू सिकाएर अभ्यास गर्दियो भने नेपाली भाषा पूरै लेखाउन सकिन्छ भन्ने भ्रम छ । वर्णविन्यासका नियमहरूबाट सिकाउने जुन परिपाटी हो त्यो गलत छ । हिज्जे भन्ने कुरो अभ्यासबाट सिकाइने कुरा हो । एक्जामिनेसन भन्दा त्यसको सही स्पेलिङसहित स्टे«स लगाएर उच्चारण गरेपछि मात्रै शुद्ध हुन्छ । त्यस्तै बीयूटी बटलाई यू लेख्दा लेख्दै अ उच्चारणलाई ए लेख्न थालियो भने अङ्ग्रेजीको गुरुले मान्छ ? एक पल्ट पनि मान्दैन । पहिलो कक्षादेखि बट लेख्न थालेको एक पल्ट पनि बीएटी लाई छुट दिँदैन ।

त्यसैले पहिलो पल्ट गुरुले लेख्न सिकाएको स्पेलिङबाट लेखनमा अभ्यास गराउने हो । नियमबाट सिकाउने होइन, अभ्यासबाट सिकाउने हो । नेपालीको हिज्जे पनि त्यसै ढङ्गले सिकाउने परिपाटी बसाउनुपर्छ । एउटा कुनै शब्दकोशलाई मानक बनाउनुपर्छ । पण्डितहरू सारै लाग्नु पनि पर्दैन । सर्वमान्य एउटा शब्दकोशलाई आधार बनाउँदा सहजै सिक्न सकिन्छ । तर अरू बठ्याइँ गर्नु हुँदैन । गुरुहरूले त्यसलाई रिट्ठो नबिराई घोकाएर हिज्जे मानक बनाउन सकिन्छ ।

अङ्ग्रेजीमा चाहिँ कुनै नियम नबनाई सिकाएको नर्सरीका केटाकेटीले शुद्ध उच्चारण गर्छन्, नेपालीमा चाहिँ पण्डितहरूले गर्दा दस जना प्रोफेसरलाई एउटा प्यारा लेख्न लगायो भने सयथरी लेख्छन् । यस्तो दुर्घटना पनि हुन्छ ? यो समस्या समाधानका लागि सबैभन्दा पहिला नेपाली विभाग लाग्नुपर्ने हो ।

यति धेरै हिज्जे परिवर्तन विश्वका अन्य भाषामा अत्यन्त कम मात्रामा हुनेगरेको छ । पुरानो हिज्जेले पुरानो जुन वाणी हो त्यसभित्र तर्क मिलोस् नमिलोस, अर्थ मिलोस्, नमिलोस् त्यही राख्नुपर्छ ।

नेपाली साहित्यका धरोरहर भानुभक्त, लक्ष्मीप्रसाद, बालकृष्ण सम आदिले प्रयोग गरेका शब्द नै अहिले आएर अमानक भए नि ? उनीहरुले प्रयोग गरेका शब्द, छन्द, व्याकरण नै गलत रहेछन् होइन ?

–नेपालीको हिज्जेलाई एकरूपता कायम गर्न सुरु गरेको सबभन्दा पहिले गोरखाभाषा प्रकाशनी समितिले हो । त्योभन्दा अगाडि थिएन । गोरखाभाषा प्रकाशनी समितिमा किताबहरू छापिन थालेपछि या त्योभन्दा अलि अगाडि जानुपर्यो भने गोरखापत्रको प्रकाशनले एक किसिमले मानक बनाउँदै गयो । गोरखापत्रको प्रकाशनको झण्डै १२ वर्ष पछाडि मात्रै हो गोरखाभाषा प्रकाशनी समितिको स्थापना भएको । त्यो १२ वर्षसम्म गोरखापत्रले मानक रूपम स्थापनाको प्रयास गर्दैआएको हो । एक किसिमले मानक बन्दैथियो । त्यसलाई ल्याएर गोरखाभाषा प्रकाशनी समितिले स्थापना गर्यो र त्यसपछि नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले) भन्ने आयो । नेकशुले आएपछि जति पनि नेपाली भाषाका पुस्तकहरू लेखिए तिनमा हिज्जे कास्तो हुनुपर्ने भन्ने कुरा नेपाली बृहत् शब्दकोश २०४० मा छ । त्यसभन्दा अघिका पुस्तकहरू खाँडो जगाउने लगायतका पुस्तकहरूमा एकरूपता हुने भएन किनभने त्योभन्दा अगाडि उच्चारणका अनुसार लेखिन्थ्यो ।  त्यसको चाहिँ कसैले शब्दकोश बनाइसकेका छैनन् ।

अहिले जगदम्बा नेपाली साहित्यले प्रकाशन गर्न लागेकोमा चाहिँ नेपाली अभिलेखीय शब्दकोश हो । अभिलेखीय शब्दकोश भनेको नेपाली भाषाका हज्जार वर्षका जुन अभिलेखहरू छन, साढे चार सय अभिलेखहरूमा भएका शब्दहरूबारे जानकारी गराइने छ । त्यसमा केके शब्दहरू छन्, तिनीहरूको के अर्थ हो ? खेजिन्छ । त्यो आउनेवाला छ । मैले यमननाथ तिमल्सिनालाई यही विषयमा मैले पीएचडी गराएको हो । उनले गरेको त्यो शोधग्रन्थमा भएका अभिलेखीय शब्दहरू छन् । त्यसमा सबै नभेटिन सक्छन् तर अभिलेखमा अनुसन्धान भएको छ ।

वर्णविन्याससम्बन्धी तपाईंका आफ्नै केही मान्यता छन् ? अहिले प्रचलनमा भएका भन्दा केके कुरामा सुधार गर्नुपर्छ ?

–नेपाली भाषा संस्कृतको जस्तो वर्णकै आधारमा मात्रै हुँदैन । संस्कृतमा वर्णका आधारमा मत्रै लेखिन्छ, बोलिन्छ । संस्कृतमा उच्चारण र अर्थमा फरक नपर्ने कुनै चिन्ह छैनन् । सबै लघुतम युग्ममा भेटिने मात्रै छ । उच्चारण चिन्ह, वर्णसङ्केतहरूका आधामा मात्र लेखिन्छ । संस्कृत भाषा चाहिँ पूरै वर्णकै आधारमा लघुतम युग्मकै आधारमा सिद्ध हुने भाषा हो । उच्चारणले अर्थमा भेद ल्याउने आधारमा सबै लेखिएको छ । तिनै नेपाली वर्णका आधारमा मात्रै बनाएर नेपाली भाषा लेखिँदैन, लेख्न सकिँदैन भन्ने भ्रम जुन नेपाली विद्वान्हरूमा छ, त्यो गलत छ । 

वास्तवमा नेपाली भाषा पनि नेपाली वर्णहरू मात्रै प्रयोग गरेर लेख्ने हो भने यो सम्भव छ । गल्ती पनि हुँदैन । विद्यार्थीको ह्रस्व दीर्घ नियम पनि काटिरहनु पर्दैन, विद्यार्थीले जस्तो उच्चारण छ, त्यस्तो लेखिहाल्छन् । कण्ठ भन्दा आधा न् लेख्दा भइहाल्यो । शरीर लेख्दा सरिर लेखे भइहाल्यो । तसर्थ वर्णका आधारमा मात्र लेख्यो भने गल्ती हुँदैन, समाधान हुन्छ । तर त्यो कोही मान्नेवाला छैन । किनभने अहिलेसम्म लेखिएको जुन ठूलो वाङ्मय भण्डार छ, त्यो भण्डारमा भएका शब्द त फेरि भेटिँदैनन् । यसमा त्यसरी सहमती हुने सम्भावना छैन ।

अब नेपाली भाषा वर्णका आधारमा लेखिने सम्भावना टर्यो । जसरी मैले ६४ भाषामा वर्णका आधारमा लेख्ने कुरा स्थापित गरेँ, त्यो नेपालीमा चाहिँ स्थापना गर्न सकिँदैन । किनभने त्यसमा यति ठूलो डिस्कोर्स छ, त्यसले विरोध गर्छ, विस्फोट आउँछ । अब गर्न सक्ने सहमती भनेको चाहिँ  त्यही बृहत् नेपाली बृहत् शब्दकोशमा जे थिति छ, त्यसैलाई कायम राख्ने र त्यसैलाई विस्तार गर्ने हो भने पुग्छ । अहिलेको समस्याको समाधान त्यहाँभन्दा अरूतिर छैन । 

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *