नेपाल सरकारको अनुमति बिनै विमानस्थलमा भारतीय एयर मार्शल

नेपाल सरकारको अनुमति बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयर मार्शल राखिँदै आएको पाइएको छ ।

नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ मा ‘इनफ्लाइट सेक्युरिटी अफिसर’ राख्न पाउने प्रावधान राखिएपछि इन्डियन एयरलाइन्सले विमानभित्र एयर मार्शल राख्न शुरु गरेको हो ।

नियमावलीअनुसार गृह मन्त्रालयबाट स्वीकृति लिएर मात्र एयर मार्शल राख्न पाइने भएपनि अनुमति बिनै एयरलाइन्सले एयर मार्शल राखेको हो ।

नागरिक उड्यन प्राधिकरणका हवाई सुरक्षा प्रमुख प्रकाश ढकालले इन्डियन एयरलाइन्सले एयर मार्शल राख्न अनुमति नलिएको स्वीकारे ।

उनले भने, ‘इन्डियन एयरलाइन्स मात्र होइन, कुनै पनि एयरलाइन्सले गृह मन्त्रालयबाट एयर मार्शल राख्ने अनुमति लिएका छैनन्, यदी कसैले अनुमति लिएको भए त्यसको जानकारी हामीलाई आउँथ्यो जुन हालसम्म जानकारीमा आएको छैन ।’

कुनै पनि एयरलाइन्सले इनफ्लाइट सेक्युरिटी अफिसर राख्ने अनुमति माग गर्यो र गृह मन्त्रालयले अनुमति दियो भने त्यसको जानकारी अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्राधिकारणलाई जानकारी गराउनुपर्छ ।

कुनै एयरलाइन्सले त्यसरी अनुमति लिएको जानकारी प्राधिकरणलाई नआएको हवाई सुरक्षा प्रमुख ढकालले स्पष्ट पारे ।

यसबारे बुझ्दा गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी केही बोल्नै चाहेनन् । गृह मन्त्रालयले इण्डियन एयरलाइन्समा एयरफोर्स राख्ने अनुमति दिएको छ कि छैन भन्ने रातोपाटीको पटक–पटक जिज्ञासामा उनले एउटै जवाफ दिए, ‘यस विषयमा मलाई केही थाहा छैन ।’

सन् १९९९ डिसेम्बर २४ मा काठमाडौँबाट इन्डियन एयरलाइन्सको जहाज अपहरणमा परेपछि भारत सरकारले विमानस्थलमा एयर मार्शल राख्न पाउनुपर्ने माग गर्दै आएको थियो ।

भारतले सुरक्षा प्वाइन्ट नै खडा गरेर भारत जाने यात्रीको छुट्टै जाँच गरी व्यवस्था मिलाउन नेपाल सरकारसँग आग्रह गर्दै आइरहेको थियो ।

विमान अपहरणदेखि लिएर भारतमा हुने आतकंवादी गतिविधिहरु अधिकांश नेपालको बाटोबाट हुने गरेको ठहर भारतको दाबी छ । 

त्यसका लागि पनि नेपालको विमानस्थलमा भारतीय सुरक्षा जाँच हुनुपर्ने अडान भारतको रहँदै आएको थियो । तर विमानस्थलमै राख्न नपाउने अडानमा नेपाल थियो ।

जानकारहरुका अनुसार अहिले नेपालको तर्फबाट सुरक्षा जाँच भएपछि भारतको विमानस्थलमा जाने यात्रुको दोस्रो सुरक्षा पनि हुने गरेको छ । भारतीय वायुसेवा कम्पनीहरूले नेपालबाट भारत जाने यात्रुलाई अतिरिक्त चेकजाँचपछि मात्र विमानभित्र छिर्न दिने गरेका छन् । 

२०७३ पुसमा दिल्लीमा भएको छलफलमा भारतले एयरमार्शल राख्न पाउनुपर्ने अडान लिएको थियो । तर नेपालले नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ अनुसार प्रकृया पुरा गरेर आएपछि मात्र एयरमार्शल राख्न दिने जवाफ दिएको थियो । त्यही बेलादेखि भारतले गृह मन्त्रालयसँग अनुमति नै नलिइकन आफ्नो इन्डियन एयरलाइन्समा एयरमार्शल राख्दै आएको छ । अहिले पनि विमानस्थलमै एयरमार्शल राख्न अनुमति दिनका लागि भारतले नेपाललाई दबाब दिँदै आएको छ ।

विमानभित्र हतियारधारी दुईजना सादा पोशाकका सुरक्षाकर्मी हुन्छन् । उनीहरुले कसैलाई चेक जाँच नगरेपनि सम्पूर्ण यात्रीमाथि निगरानी राखेका हुन्छन् । उनीहरु विमानस्थलबाट तल झर्दैनन् । यदि रात्रीकालिन बास बस्नु पर्यो भने विमानस्थल भित्रका सुरक्षा निकायमा आफ्नो हतियार राखेर होटलमा बास बस्न जान्छन् ।

यद्यपि विमानभित्र पनि एयरमार्शल राख्न नपाउने हावाई सुरक्षा प्रमुख ढकाल बताउँछन् । ‘विमानभित्र एयरमार्शल छ कि छैन हामीलाई थाहा हुँदैन । अझ सादा पोशाकमा छ भने एयरमार्शल हो या होइन कसरी छुट्याउने ? तर, यदि विमानभित्र पनि एयरमार्शल राखेको गरेको छ भने त्यो पनि नियमावली विपरित हो । यसका लागि पनि गृह मन्त्रालयबाट अनुमति लिनुपर्छ, त्यस्तो अनुमति लिएको जानकारी हामी कहाँ आएको छैन,’ उनले रातोपाटीसँग भने ।

भारतीय सुरक्षाकर्मीले रातीको बेला होटलमा बास बस्न पनि सरकारले अनुमति दिनुपर्छ । तर त्यस्तो अनुमति पनि नलिएको स्रोतले जनाएको छ ।

यसअघि, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा पनि एयर मार्शलको प्रशंग उठेको थियो । सो छलफलमा मन्त्री ज्ञवालीले यसबारे कुटनीतिक पहल गर्ने प्रतिबद्धता जनाएका थिए । यद्यपि, यसबारे के कति प्रगति भयो, त्यसबारे केही जानकारी बाहिर आएको छैन ।

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *