बाख्रागोठालाले पत्ता लगाएको कफी : ‘मुस्लिम पेय’ भनी चर्चले प्रतिबन्ध समेत लगाएको थियो

आजभोलि मात्रै हैन, आजभन्दा सात सयवर्षअघिदेखि अर्थात् १४ औं शताब्दीको मध्यदेखि नै कफी आम मानिसहरुको दैनिक जीवनको एक अनिवार्य हिस्सा बनिसकेको थियो । कफीको उत्पत्ति कहिले र कसरी भयो, यकीनका साथ भन्न सकिन्न तर यसको उत्पत्ति र उपयोगका बारेमा धेरै कथा किस्साहरु पढ्न र सुन्न पाइन्छ । ती कथा र किस्साहरुको सार चाहिँ मूलतः एउटै हुने गर्छः कफी आम मानिसको दैनिक जीवनको एक महत्वपूर्ण हिस्सा कसरी बन्यो र त्यो कसरी फैलियो

कफी शब्दको अरबी मूलो

अंगेजीको coffee शब्द अरबी शब्द qahwah बाट आएको विश्वास एकाथरिले गर्ने गर्छन्, जसको अर्थ चाहिँ एक किसिमको वाइनलाई जनाउने हुन्छ ।

कफी शब्दको उत्पत्तिका बारेमा भाषाविद्हरुले थुप्रै मान्यताहरु विकसित गरेका छन् । तीमध्ये धेरैले के विश्वास गर्छन् भने वाइनले जस्तै कफीमा पाइने क्याफिनमा पनि केही शक्तिबद्र्धक क्षमता हुने गर्छ । त्यसही सिलसिलामा अरबी qahwah को अर्थ पनि पावर÷शक्ति वा अझ शाब्दिक अनुवाद गर्दा चाहिँ भोक नलाग्नु पनि हुन्छ । यस अर्थमा कफी खाएपछि भोक कम लाग्ने भएकोले यसको सम्बन्ध त्यही अरबी वाइनसँग जोडिएको हुन सक्ने आँकलन पनि गरिन्छ । त्यसो त अर्को सिद्धान्त अनुसार, कफी काफा नाम गरेको मध्यकालीन इथिओपियाली राज्यबाट आएको हुनुपर्छ, जहाँबाट कफीको विरुवा पहिलो पटक अरेवियामा निर्यात भएको थियो ।

कसैलाई थाहा छैन, कफी कसले पहिले पत्ता लगाए

कफी कसले पत्ता लगाए भन्नेबारे विभिन्न धारणा प्रचलित छ । इथिओपियाको काफामा काल्दी नाम गरेका गोठालाले पहिलो पटक नवौं शताब्दीमा कफी पत्ता लगाएको एकाथरिको विश्वास छ । ती गोठालाले कफीको गेडालाई सेवन गर्दा आफूलाई धेरै फूर्ती आएको महसूस गरेको र कालान्तरमा त्यसैलाई पकाएर खाने चलन शुरु भएको मानिन्छ ।

त्यहीसँग मिल्दोजुल्दो अर्को कथन पनि छ । त्यसअनुसार, मोरक्कोका सुफी सन्त घोथुल अकबर नुरुद्दीन अबु अलहसन अल–सादिल इथियोपिया जाँदा त्यहाँका चराहरु अनौठा ढंगले फूर्तिला भएको देखे । उनले खोज्दै जाँदा त्यहाँका चराहरुले कफीको गेडा खाने गरेको र त्यहीकारण फूर्तिलो भएको पाए । उनले पनि कफीका केही गेडाहरु सेवन गर्दा आफूमा पनि स्फूर्ति आएको पाए । भनिन्छ, उनैले नै त्यो कफीको गेडा अरबमा ल्याएर खेती गर्न थालेका हुन् ।

पहिले कफीको गेडा नै खाइन्थ्यो

अहिले हामी कफी भन्नेबित्तिकै चियाजस्तै पेय पदार्थ भनेर बुझिहाल्छौं । तर पहिले पहिले कफी पेयको रुपमा हैन, सोझै त्यसको गेडा नै खाने गरिन्थ्यो । पछि पन्ध्रौं शताब्दीतिर आएर मात्र यमनका वासिन्दाले कफीको गेडालाई उमालेर पेयको रुपमा खान शुरु गरेका थिए ।

भनिन्छ, त्यसताका सुफी सन्तहरुले चैतन्य रहन रा रातभरि जागा रहेर प्रार्थना गर्नको लागि कफीको गेडा उमालेर खाने गर्थे ।

त्यसको सयौं वर्षसम्म यमनी किसानहरुले विशिष्ट खालका स्वाद र सुगन्ध भएको कफी उत्पादन गर्ने गर्थे । विस्तारै त्यो लोकप्रिय हुँदै अरब, टर्की र पर्सिया (इरान) सम्म फैलिँदै गएको थियो । सामान्यतः त्यसबेलासम्म कफी धार्मिक प्रयोजनको रुपमा उपयोग हुने पेय मानिन्थ्यो ।

सुफी सन्त परम्परामा महत्वपूर्ण पेयको रुपमा मान्यता पाइसकेको कफीले सोह्रौं शताब्दीमा थप लोकप्रियता प्राप्त गरेको थियो । सबैभन्दा पहिलो कफी हाउस इजिप्टको कायरोमा खुलेको थियो । त्यसमा सर्वसाधारणहरु भेला भएर कफी खाने, संगीत सुन्ने र धार्मिक विषयवस्तुहरु (सुफी गफ) को बारेमा चर्चा परिचर्चा गर्ने गर्थे ।

त्यसबेला कफी हाउसहरु कति महत्वपूर्ण मानिन्थ्यो भने त्यस्ता स्थानहरुलाई विद्वानहरुको स्कूल समेत भनिन्थ्यो ।

इस्लाम र चर्चले प्रतिबन्ध समेत लगाएको थियो

इस्लामिक क्षेत्रमा कफी कतिसम्म लोकप्रिय भयो भने त्यसलाई अरेवियाको वाइन समेत भनिन थालियो । फलतः सन् १५११ तिर धर्माधिकारीहरुको दवाबमा मक्कामा यसको सेवनमाथि प्रतिबन्ध समेत लगाइएको थियो । तर पछि १५२४ मा आएर तत्कालीन शासकले यसमाथिको त्यो प्रतिबन्ध हटाएका थिए ।

त्यसो त यसमाथि प्रतिबन्ध लगाउने काम इस्लामिक धर्माधिकारीहरुले मात्रै हैन, चर्चले समेत गरेका थिए । खासगरी, इथिओपियाका अर्थोडक्स चर्चले १९ औं शताब्दीतिर कफीको सेवनमा प्रतिबन्ध लगाएका थिए । त्यसरी कफीको सेवनमा निषेध गर्नुको कारण चाहिँ यसलाई ‘मुस्लिम पेय’ भनेर आरोपित गरिएको थियो । तर पछि विस्तारै कफी सेवन गर्ने प्रचलन बढ्दै गयो । चर्चले लगाएको प्रतिबन्धलाई वेवास्ता गरेर यसको सेवन गर्ने प्रचलन बढ्दै गयो ।

सबैभन्दा पहिले कफी टर्कीका मुस्लिम दासहरुको माध्यमबाट माल्टा भएर युरोप पुगेको थियो । पछि भेनिस र अरबमा व्यापार गर्नेहरुले कफीलाई युरोपको मुख्यभूमिसम्म पुर्याएका थिए । रमाइलो कुरा के छ भने पहिले पहिले कफी धनीमानीहरुले खाने पेयको रुपमा चर्चित थियो ।

कफीको फाइदाहरु

हरेक वर्ष विश्वमा ४ सय अरब बढी मानिसले प्रयोग गर्ने कफीको फाइदा बारे केही चर्चा गरौं ।

विहान एक कप कफी पिउँदा शक्ति बढाउने र उर्जा दिने काम गर्छ । सिएनएनमा प्रकाशित एक रिपोर्टअनुसार, दैनिक ४ कपसम्म कफी खाने मानिसहरु असामयिक मर्ने खतरा कफी कहिल्यै नपिउनेहरुको तुलनामा ६४ प्रतिशत कम हुने गर्छ ।

कफीले मधुमेह र कलेजोको बिरामीमा जोखिम कम गराउने स्वास्थ क्षेत्रका अनुसन्धानकर्ताहरु बताउँछन् ।

१. कफी र मधुमेह

कफीले दुई प्रकारका मधुमेहबाट बचाउँछ । यूसीएलएका अनुसन्धानकर्ताका अनुसार कफी पिउँदा सेक्स हर्मोन (एसएचबीजी) को मात्रा बढाउँछ । एसएचबीजीले शरीरमा भएको सेक्स हर्मोन (टेस्टोस्टेरोन र एस्ट्रोजेन)को जैविक गतिविधिलाई नियन्त्रण गर्दछ । जसले मधुमेहको नियन्त्रणमा सहयोग पु¥याउँछ । हार्डबड युनिर्भसीटी अफ पब्लिक हेल्थ (एचएसपीएच)का अनुसन्धानकर्ताहरुले मधुमेह–२ को जोखिम कम गर्न कफी पिउनुले बानीले सकारात्मक असर पर्ने देखिएको बताउँछन् ,

२. कफी र पार्किन्सनको रोग

अमेरिकका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कफीको नियमित सेवनले पार्किनन्सन रोगको खतरा कम गर्ने निष्कर्ष निकालेको छ ।

त्यसैगरी क्याफिनले यो रोग लागेर हातगोडा चलाउन नसक्ने मानिसहरुमा फाइदा पुर्याउने कुरा एमसीगिल विश्वविद्यालयले न्यूरोलोजी पत्रिकामा प्रकाशित गरेको छ ।

३. कफी र कलेजोको क्यान्सर

इटालियन अनुसन्धानकर्ताहरुले पत्ता लगाएअुनसार कफीको प्रयोगले कलेजोको क्यान्सर लाग्ने सम्भावनालाई ४० प्रतिशत कम गर्छ । सो अध्ययनका अनुसार दैनिक तीन कप कफी पिउँदा सो रोग लाग्ने सम्झनामा ५० प्रतिशतसम्म कमी आउन सक्छ ।

उक्त अध्ययन प्रमुख डा. कार्लो ला भेचिया, मिलानको इस्टिटूटो डी की रिर्सचर फार्मोकोलिज मारियो नेग्री भन्छन्, ‘हाम्रो अध्ययनले कफी मानिसको शरीर र विशेषतः कलेजोलाई फाइदा गर्ने देखाएको छ ।’

अर्को एक अध्ययन रिपोर्टअनुसार, कफीको नियमित प्रयोगले प्राथमिक स्क्लेरोसिगं कालोन्गिटिस् (पीएससी)को खतरा कम गराउँछ । साथै कलेजोको पित्त नलीमा हुने रोग अटोइमीयूनी नाम रोगको खतरा समेत कम गराउँछ ।

त्यस्तै कफीले मदिराले कलेजोमा पैदा गर्ने सोराइसिसको सम्भावना २२ प्रतिशत कम गराउने पनि देखिएको छ ।

४. कफी र स्वास्थ्य

वेथ इजरायल डेकोनेस मेडिकल सेन्टर (बीआइडीएमसी) र हार्डवड स्कुल अफ पब्लिक हेल्थले कफीले हृदयघात हुनबाट बचाउने बताएको छ ।

जो व्यक्ति दिनमा चार कप कफी पिउँछ, उसलाई कफी नपिउनेको तुलनामा ११ प्रतिशत हृदयघातको सम्भावना कम हुन्छ ।

कफीका अन्य फाइदाहरुः

–     अल्पायुमा हुने मृत्युलाई कमगर्छ

–     मृत्युदर कम गर्न मद्दत गर्छ

–     सिरोसिस हुनबाट बचाउँछ

–     मल्टिपल स्क्लेरोसिसको जोखिम कम गर्छ

–     कोलेस्ट्रोल क्यान्सर लाग्न नदिन सुरक्षा प्रदान गर्छ ।

पाइने क्यालोरी

नियमित कालो कफी पिउँदा क्यालोरी कम मात्रामा प्राप्त हुन्छ । कालो कफी पिउँदा २ क्यालोरी मात्र प्राप्त हुन्छ । यद्यपि यसमा चिनी र दुध पनि मिसाउँदा क्यालोरीको मात्रा बढ्ने र शरीरलाई शक्ति प्रदान गर्छ ।

एन्टिअक्सीडेन्ट्स्

अमेरिकास्थित स्क्र्यान्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुका अनुसार कफी एन्टिअक्सिडेन्टसको स्रोत हो ।

अनुसन्धानकर्ता जोय भिनसन (पीएचडी) भन्छन्, ‘अमेरिकीहरुले अन्य खानेकुराबाट भन्दा कफीबाट धेरै मात्रामा एन्टिअक्सिडेन्ट प्राप्त गरिरहेका छन् ।’

उनले दिनमा एक वा दुई कप कफी पिउनु फाइदाजनक भएको बताएका छन् । क्याफिनयुक्त र डिक्याफिनेटेडले बराबर मात्रामा एन्टिअक्सिडेन्ट प्रदान गर्ने बताउँछन् ।

कफीका खतराहरु

त्यसो त सबै खानेकुराहरुको फाइदा बेफाइदाहरु हुने गर्छन् । विशेष गरी, ठीक्कको मात्रामा खायो भने सबै खानेकुराहरुले फाइदा गर्छ भने त्यही खानेकुरा बढी खायो भने त्यसले हानी नोक्सानी पनि गर्छ सक्छ ।

यसै सन्दर्भमा कफीको बढी सेवनले गर्न सक्ने वेफाइदाहरु वा नकारात्मक प्रभावहरुका बारेमा केही चर्चा गरौं ।

कफीमा मूलतः क्याफिन पाइन्छ । क्याफिनले शरीरको स्नायु प्रणाली, मुटु र मांशपेशीहरुलाई उत्तेजित गर्ने काम गर्छ । फलतः कफी खाँदा हामीलाई अलि बढी जोश, जाँगर र स्फूर्ति आएको अनुभव हुन्छ ।

सामान्यतः कफीको सेवन सुरक्षित नै हुन्छ । तर दिनको ६ कपभन्दा बढी कफी सेवन गर्न थालियो भने चाहिँ क्याफिनिजम  (Caffeinism) नामाकरण गरेको समस्या देखिन थाल्छ । यो समस्याको मुख्य लक्षण भनेको त्यस्ता मानिसहरुमा चिडचिडापन र अधैर्यताको लक्षण देखिन्छ । फेरि कफीको अत्यधिक सेवनले यसको लत पनि लाग्न सक्छ । कफी खाएपछि फूर्तिलो महसूस हुने नखाएमा अल्छी लाग्ने हुन सक्छ । अर्थात् अत्यधिक कफीको सेवन गर्ने बानी भएपछि त्यसमाथि नै निर्भर हुने, त्यो नखाँदा खैनी, चुरोट वा रक्सी खानेहरुलाई जस्तै कफीको पनि तलतल लाग्ने हुन सक्छ ।

त्यसैगरी, चाहिँदोभन्दा बढी कफीको सेवनले निद्रा राम्ररी नलाग्ने, नर्भस हुने, अधैर्य हुने, पेट गडबड हुने, वाकवाक लाग्ने, भोमिट हुने, मुटुको चाल बढ्ने र अन्य विभिन्न खालका नकारात्मक लक्षणहरु देखिन सक्छ । त्यसैगरी, ठूलो मात्रामा कफीको सेवन गर्दा, टाउको दुख्ने, कान बज्ने, रिसाहा हुने जस्ता समस्याहरु पनि देखिन सक्छ । त्यसैगरी, फिल्टर नगरिएको कफीको सेवनले कतिपयमा चाहिँ कोलेस्ट्रोल बढ्ने र मुटुको समस्या हुन सक्ने सम्भावना पनि हुन्छ ।

मुटुको समस्या नभएका मानिसहरुले दिनको ४–५ कप कफी पिउने हो भने पनि उसलाई कफीकै कारण चाहिँ मुटुको समस्या लाग्दैन । 

अत्याधिक मात्रामा कफी पिउँदा मात्रै त्यसको नकारात्मक प्रभाव पनि पार्न सक्छ । विशेष गरी कफीको बढी सेवनले सामान्य मानिसमा चिन्ता र तनाव जस्ता लक्षणहरु देखाउन सक्छ ।

त्यसैगरी, शरीरमा अत्यधिक क्याफिन जम्मा भयो भने त्यसले डिप्रेसन गराउन सक्ने कुरा एक अनुसन्धानमा पत्ता लागेको छ । क्याफिनको प्रयोगले एकाग्रतामा बृद्धि गराउने कारण मानिसमा एकोहोरोपनको मात्रा पनि बढाउँछ, जसको कारण मानिस डिप्रेसनको सिकार बन्छ ।

नेवादा स्कुल अफ मेडिसिन विश्वविद्यालयमा गरिएको एक अनुसन्धानले गर्भवती बन्न चाहने महिलाहरुले कफीको प्रयोग गर्न नहुने उल्लेख गरेका छन् । दि ब्रिटिश जर्नल अफ फर्माकोलोजीमा प्रकाशित उक्त अनुसन्धानले नियमित कफी पिउँदा महिलामा गर्भधारण गर्ने र गर्भपात गराउन सक्ने कुरा उल्लखे गरिएको छ ।

त्यसो त दिनको २०० मिलिग्रामभन्दा कम क्याफिन अर्थात् दैनिक २ कपसम्म कफकिो सेवन गर्दैमा गर्भवती महिलामा नकारात्मक असर हुँदैन । तर दैनिक रुपमै अति बढी कफी सेवन गर्न थालियो भने चाहिँ गर्भवती महिलाहरुमा नकारात्मक असरहरु पनि देखिन सक्छ । त्यस्त असरहरुमा विशेष गरेर गर्भपात हुने, समय अगावै बच्चा जन्मन सक्ने, कम तौलको बच्चा जन्मन सक्ने जस्ता समस्याहरु आउन सक्ने देखिएको छ ।

त्यसैगरी, स्तनपान गराइरहेको महिलाहरुले पनि दैनिक १, २ कप कफी पिउँदैमा कुनै समस्या नहुने देखिउको छ । तर दैनिक अत्यधिक कफीको सेवन गर्न थालियो भने चाहिँ दूधमार्फत् बच्चाको शरीरमा क्याफिन जाने र त्यसले बच्चालाई पेट दुख्ने, सुत्न नसक्ने समस्या आउने तथा बच्चा चिड्चिडे हुन सक्ने समेत देखिएको छ ।

त्यसै गरी बच्चाहरुमा पनि क्याफिनले नकारात्मक असर बढी गर्न सक्छ । त्यसैले बच्चाहरुलाई कफीको सेवन गर्न नदिनु नै जाति ।

त्यसैगरी, अति बढी कफी सेवन गर्न थालियो भने, ब्लड प्रेसर बढ्ने, आँखामा प्रेसर बढेर जलबिन्दू हुन सक्ने, रत्तःचाप बढ्ने, हड्डी खिइने जस्ता समस्याहरु पनि आउन सक्छ ।

तर यी लक्षणहरु भनेको दैनिक अति बढी कफीको सेवन गरेपछि कालान्तरमा देखिन सक्ने समस्याहरु हुन् । दिनको ३–४ कप कफी खाने हो भने यस्ता समस्याहरु आउन सक्तैन ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *