बाँदर गाउँ पसेपछि कृषक चिन्तित

पाल्पा – पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा बाँदर आतङ्कले कृषक हैरानी भएका छन् । जङ्गलबाट आएको बाँदरले तरकारी, अन्नबाली नष्ट गरिदिएको छ

आलु खन्न नपाउँदै खेतमै सखाप पारेको कृषक केदारप्रसाद बस्यालले बताए । उनले यस वर्ष उन्नत जातको (प्रिभेसी खुमल उज्ज्वल) आलु लगाएका थिए । “नयाँ प्रजातिको महँगो मूल्यमा बीउ खरीद गरेर आलु लगाए, खन्न नपाउँदै बाँदरले  सखापै बनायो”, बस्यालले भने ।

त्यस्तै अर्का कृषक अम्रिका सुनारको पनि खन्ने अवस्थामा रहेको आलु बाँदरले खेतमा पसेर नष्ट पारेको छ । उनको करिब एक रोपनी क्षेत्रफलमा लगाएको आलु बाँदरले नष्ट पारेको उनले बताइन् । 

बाँदर घरभित्रै पसेर धान, गहुँ, मकैलगायतका अन्न पनि खाइदिने गरेको छ ।  गाउँ पसेका बाँदरले मानिसलाई नै आक्रमण गर्न थालेको नेत्र अर्यालले बताए । “घरमा वृद्धवृद्धा र बालबालिकालाई मात्र छोड्न नहुने अवस्था आएको छ, बाटोमा हिँड्दा, घरमा बस्दा बाँदरले मान्छे देखेपछि एक्कासि आक्रमण गर्न थालेको छ”, अर्यालले भने । 
 
गाउँका कृषकको दिनचर्या बाँदर रेखदेख गर्दैमा बित्ने गरेको छ । यो क्षेत्रमा प्रशस्त कृषि बाली उत्पादन हुने गर्छ । यस वर्ष बाँदर आतङ्कले उत्पादन लिनै नपाइएको कृषकको गुनासो छ । 

बाँदर आङ्तक नियन्त्रणका सम्बन्धमा गाउँपालिकामा छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताए । “बाँदर समातेर मात्र भएन, यसको दिगो व्यवस्थापन कसरी गर्न सकिएला भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ”, अध्यक्ष भण्डारीले भने । बाँदर छोपेर राष्ट्रिय निकुञ्जमा नै पु¥याउने विषयमा सरोकारवाला निकाय, व्यक्तिसँग सल्लाह भइरहेको अध्यक्ष भण्डारीले बताए । यस क्षेत्रमा विगत तीन वर्षयता बाँदर आतङ्क फैलिएको छ । 

रामपुरका विभिन्न स्थानमा पनि बाँदर आतङ्कले सताउन थालेको कृषक बताउँछन् । रामपुर नगरपालिकाका गाडाँकोट, दर्छा, बाहुनडाँडा, कटहरबारी, बिक्रम्दी, खालीवनलगायतका क्षेत्रमा बाँदरले वर्षेनी सताउने गरेको छ । बाँदर नियन्त्रणका सम्बन्धमा सम्बन्धित निकायले चासो नदिएको रामपुरका कृषकको गुनासो छ । 

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *