दरबार हाइस्कुल : शाख र गौरव गुमाएको कारुणिक कथा

दरबार हाइस्कुल, नेपालको शैक्षिक इतिहासमा सुनौलो अक्षरले लेखिनुपर्ने नाम । राणाका छोराछोरीहरूलाई पढाउने खोलिएको र पछि समयक्रममा विस्तारै जनताका छोराछोरीहरूले पनि पढ्ने अवसर प्राप्त गरेको यो स्कुल नेपालको शैक्षिक उन्नयनमा एउटा कोसेढुङ्गो हो ।

राणाकाल, पञ्चायतकाल र अहिले गणतन्त्रकालसम्म आइपुग्दा कुनै जमानामा शैक्षिक मानकको रूपमा स्थापित त्यो दरबार स्कुलको हालत दयनीय बनेको छ । जमानामा राणा, घरानियाहरूले मात्रै पढ्न पाउने तर पछि परिवर्तनको लहरसँग आम जनताको छोराछोरीले समेत पढ्न पाएको र त्यहाँ पढ्न पाउँदा मात्रै पनि गौरवको अनुभूति हुने इतिहास बोकेको त्यो दरबार हाइस्कुलको कथा इतिहास बनेको छ । तर अहिले त्यो स्कुलको पहिचान ‘गरिब’ र ‘विपन्न’हरूले मात्र पढ्ने स्कुल, जुन स्कुलमा अलि ‘हुनेखाने’ वर्गका छोराछोरीलाई पढ्न÷पढाइन रुचि लाग्दैन, बरु त्यहाँ पढ्दा ‘अपमानबोध’ हुने गर्छ ।

त्यो ऐतिहासिक धरोहर दरबार हाइस्कुल अहिले नाम परिवर्तन भएर भानु स्कुल भएको छ । तर आम जनतामाझ यो दरबार स्कुलकै नामले चिनिने गर्छ । इतिहासको यो धरोहर आज किन यति दयनीय बनेर गयो ? आउनुहोस्, केही उधिनपाधिन गरौँ ।

स्कुलको वर्तमान अवस्था

अहिले भानु मावि र संस्कृत मावि एउटै भवनमा सञ्चालन भइरहेका छन् । संस्कृत स्कुलमा बिहानको कक्षा सञ्चालन भइरहको छ भने भानु माविमा दिउँसोको कक्षा सञ्चालन भइरहेको छ । अहिले भानु माविमा १ सय १७ विद्यार्थी छन् । शिक्षक भने अठार जना रहेका छन् । एसएलसीको रिजल्ट  हेर्न हो भने ‘सी’ अर्थात् अत्यन्तै कमजोर रहेको छ । खर्चपर्चको कुरा गर्दा यो स्कुल सञ्चालनका लागि शिक्षा मन्त्रालयबाट वार्षिक असी लाखको हाराहारीमा बजेट आउने गरेको छ ।

निःशुल्क शिक्षा भयो दुरूपयोग

संविधानको भाग ३ धारा ३१ को उपधारा २ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ’ भन्ने अधिकार प्रत्याभूत गरिएको छ ।

संविधानको त्यही मर्मलाई आत्मसात गर्दै दरबार स्कुलमा शिक्षा निःशुल्क गरिएको छ । तर त्यसको नतिजा चाहिँ उल्टो दिशातिर फर्केको छ । निःशुल्क शिक्षाको महत्त्व कम भएको बताउँदै भानु माविका प्रधानाध्यापक हेमचन्द्र महतो भन्छन्, ‘प्रत्येक नागरिकलाई राज्यबाट माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनेर कानुनले सुविधा दिएको छ । तर हाम्रा अभिभावक र विद्यार्थीलाई निःशुल्क शिक्षाको मूल्य कम भयो । उनीहरूले महत्त्व बुझेनन् । यसको दुरूपयोग भयो ।’

उनी थप्छन्,  ‘शिक्षा निःशुल्क हुनाले अभिभावकलाई आफ्ना छोराछोरीको पढाइमा मैले केही योगदान गरेको छु भन्ने भावना नै छैन ।’

देशभरिका सबै सामुदायिक विद्यालयमा शिक्षा निःशुल्क रहेको छ । धेरै सरकारी विद्यालयहरू त आफ्ना अब्बल गुणस्तरको शिक्षा र शिक्षणपद्धतिका कारण नमुना नै बनिसकेका छन् । त्यही कारण त्यस्ता स्कुल क्षेत्रका अभिभावकले निजीबाट निकालेर सरकारी विद्यालयमा आफ्ना छोराछोरी पढाइरहेका छन् । ती विद्यालयमा निःशुल्क शिक्षा सदुपयोग भइरहेको छ ।

अहिलेका विद्यार्थीलाई लक्ष्य थाहा छैन

महतोका अनुसार ‘पढाइको स्तर राम्रो हुनको लागि तीनवटा कुरा राम्रो हुनुपर्छ– घरायसी पक्ष, विद्यार्थीको लक्ष्य र शिक्षकको भूमिका । हाम्रा विद्यार्थीलाई मेरो लक्ष्य के हो भन्ने नै थाहा छैन । घरायसी पक्षमा पढ्ने वातावरण धेरैको छैन ।’

निरीक्षणको पाटो पनि राम्रो भएन

विद्यालयमा निरीक्षण र मूल्याङ्कनको पाटो नियमित र राम्रो नभएको दाबी महतोको छ ।

गणतन्त्र नेपालमा शिक्षा हेर्ने भाग स्थानीय निकायको थाप्लोमा छ । त्यसअनुसार दरबार स्कुल हेर्ने र नियमन गर्ने जिम्मेवारी काठमाडौँ महानगरपालिकाको हो । महतोको भनाइको प्रतिवाद गर्दै काठमाडौँ महानगरपालिकाका शिक्षा प्रमुख सीताराम कोइराला भने ‘नियमित निरीक्षण भएको’ दाबी गर्छन् । उनी भन्छन्, ‘निरीक्षण भइरहेको छ । उहाँहरूले निरीक्षण भएको छैन भन्न मिल्दैन । पटक पटक भएको छ । अस्ति पनि म आफै गएर आएको हुँ ।’सरकारका कमजोरी औँल्याउँदै महतो भन्छन्, ‘विद्यार्थी घटिरहेको छ भने शिक्षा कार्यालयले यहाँका सबै शिक्षकलाई हटाओस न ! सरकारको काम हो, यताको उता सरुवा गर्ने । सरकारले सिस्टम बनाएको छ तर त्यो सिस्टम फलोअप भएन । विद्यालय चलेन भने गाभ्ने कुरा सरकारको हो ।’

अभिभावकबाट शुल्क उठाउन नपाइने

विद्यार्थीलाई थप सुविधा दिनका लागि विद्यार्थीबाट कुनै शुल्क उठाउन नपाइने बताउँदै कोइकराला भन्छन्, ‘एक पटक विद्यार्थीबाट शुल्क उठाएका थियौँ, पछि फिर्ता गर्नुपर्ने अवस्था आयो । सरकारको बजेटले मात्रै पुग्दैन । अतिरिक्त क्रियाकलापका लागि बाहिरको शिक्षक ल्याउनुपर्छ । त्यसका लागि सरकारले तलब दिँदैन । शुल्क उठाउनको लागि अभिभावकले नै मान्दैनन् ।’

एउटै शिक्षक निजीमा अब्बल सरकारीमा कमजोर !

भानु माविका प्रधानाध्यापक महतो भीएस निकेतनमा पनि अध्यापन गरिरहेका छन् । तर उनले पढाउने निजी स्कुल अब्बल भएर निस्केको छ तर भानु मावि भने दिन प्रतिदिन खस्किँदो अवस्थामा छ ।

यसबारेमा प्रश्न गर्दा एउटै मानिसको भूमिका फरक विद्यालयमा फरक हुने दावी गर्दै महतो भन्छन्, ‘निजीमा जतिकै मिहिनेत गर्दा पनि दरबार स्कुलमा सुधार भएको छैन । वास्तवमा, स्कुलको वातावरणमा पनि भर पर्छ । एउटै मानिसको फरक विद्यालयमा फरक भूमिका रहेको हुन्छ ।’

हेडमास्टरले चाह्यो भने विद्यालय सुध्रिने र चाहेन भने विद्यालय बिग्रिने दाबी भने कोइरालाको छ ।

सरकारले सिस्टम मात्र बनायो फलोअप गरेन

सरकारका कमजोरी औँल्याउँदै महतो भन्छन्, ‘विद्यार्थी घटिरहेको छ भने शिक्षा कार्यालयले यहाँका सबै शिक्षकलाई हटाओस न ! सरकारको काम हो, यताको उता सरुवा गर्ने । सरकारले सिस्टम बनाएको छ तर त्यो सिस्टम फलोअप भएन । विद्यालय चलेन भने गाभ्ने कुरा सरकारको हो ।’

विद्यालयका उपप्रधानाध्यापक अखिलेस आजाद भन्छन्, ‘स्कुलको नियमन गर्ने र समस्याहरू सुन्ने महानगरपालिका छ । एक दिन पनि  हेर्न आएको छैन । विद्यालय बिग्रेको हो भने मर्ज गर्ने काम सरकारको हो ।’

कोइराला भने मर्ज गर्नका लागि प्रधानाध्यापकले नै प्रस्ताव लिएर आएका छैनन् भन्छन् । उनी थप्छन्, ‘मैले उहाँलाई मर्ज गर्न आउनुहोस् भनेको छु । उहाँहरूलाई बोलाएर भानु र संस्कृत दुई स्कुल मर्ज गर्न व्यवस्थापन समितिलाई लिएर आउनुस् भनेको हुँ । तर आउनुभएको छैन ।’

एक किमिभित्र पाँच विद्यालय

सरकारी स्कुल खोलेको दुई किमिभित्र अन्य विद्यालय खोल्नु हँुदैन भन्ने नियम छ । तर रानीपोखरीको छेउछाउ एक किमिभित्र पाँचवटाभन्दा धेरै विद्यालय छन् । 

सरकारको नीति परिमार्जित गर्नुपर्ने खाँचो औँल्याएँदै महतो भन्छन्, ‘नियम अहिले बनेको छ तर विद्यालयहरू पहिले नै खुलेका छन्  । नियममा सुधार गर्दै जानुपर्छ । त्यो निरन्तर जाने प्रक्रिया हो । सरकारको नीति परिमार्जित गर्नुगर्छ ।’ उनी थप्छन्, ‘विद्यालय खस्कँदा एकै पटक तल झर्छ । गुणस्तर बढ्दा विस्तारै बढ्ने हो । शिक्षकमा कमजोरी छ भने सरकारले पनि हेरिदिनुपर्यो । एउटा सरकारी स्कुल छ भने वरिपरि दसवटा प्राइभेट स्कुल छन् । निजी स्कुलले धेरै सेवा सुविधा दिएको छ भने अभिभावकले किन पढाउने दरबार स्कुलमा ?’

अभिभावक गैरजिम्मेवार

अभिभावक गैरजिम्मेवार रहेको बताउँदै महतो भन्छन्, ‘हाम्रा विद्यार्थीका अभिभावक अशिक्षित छन् । उनीहरूले आफ्नो दायित्व निभाउँदैनन् । स्कुलमा बोलाउँछौँ । फुर्सद छैन भन्छन् । कोही आए भने हतार हतार बाहना बनाएर जान्छन् । उनीहरूले आफ्नै समस्या देखाउँछन् । पढाइको स्तर सुधार्न अभिभावकको पनि जिम्मेवारी र भूमिका हुन्छ । अभिभावकले नै चासो राखेनन् भने भने विद्यालयलाई मात्र सुधार गर्न गाह्रो हुन्छ । एकहदसम्म अभिभावकको उदासीनताको कारण पनि विद्यालयको गुणस्तर खस्केको छ ।’

आजादका अनुसार ‘अभिभावकले बच्चाहरू हेर्दैनन् । कुनै पनि विद्यार्थी राम्रो पृष्ठभूमिबाट आएका छैनन् ।’

उनी थप्छन्, ‘फुटपाथमा पसल थाप्ने, अरूका घरमा काम गर्न बसेका, आर्थिक स्थिति कमजोर भएका अभिभावकका छोराछोरी छन् यहाँ पढ्ने । अभिभावकलाई काम गर्न स्वतन्त्रता हुन्छ, बच्चालाई स्कुलमा छाडेपछि । आफू काम गर्न गयो । बिदामा पनि बच्चा स्कुल आइरहेको हुन्छ । घरमा बस्दैनन् । घरमा कोही हँुदैन । बच्चाले घरमा के गरून् ?’

कोइराला भने अभिभावकलाई आरोप लगाउन मिल्दैन भन्छन् । उनी भन्छन् ‘सबै पढेकै अभिभावकका छोराछोरी स्कुल आउने हो भने कम विद्यार्थी हुन्छन् । प्रधानाध्यापकले दिने उत्तर नै त्यो होइन ।’

पाठ्यक्रम एउटै हुनुपर्ने

आजादले निजी र सरकारी स्कुलमा विभेद सिर्जना गर्ने काम सरकारले गरेको आरोप लगाउँछन् । सरकारले निजी विद्यालयमा जस्तो पाठ्यक्रम सरकारी विद्यालयमा पनि लागू गराउनुपर्छ भन्छन् । उनी थप्छन्, ‘निजी विद्यालयमा अङ्ग्रेजी माध्यम छ । हाम्रो विद्यालयमा नेपाली माध्यम मात्र भएकाले विद्यार्थी कम भएका हुन् ।’२०७२ को भूकम्पमा विद्यालय भवन क्षतिग्रस्त भयो । विद्यालय लडेपछि अस्थायी रूपमा वाल्मीकि क्याम्पस, प्रदर्शनीमार्गमा जेनतेन पढाइ सुचारु भएको छ । बिहान ६ः३५ बाट ११ बजेसम्म संस्कृत स्कुलको कक्षा सञ्चालन हुन्छन् । भानु मावि १०ः३० बाट सुरु छ । दुई विद्यालयमा अहिले ‘ओभरल्याप’ भइरहेको छ ।

महतोले भने अङ्ग्रेजी र नेपाली माध्यमले स्कुलको शिक्षामा फरक पार्दैन भन्छन् । उनी भन्छन् ‘अङ्ग्रेजी पढाउनका लागि विद्यार्थीको आन्तरिक क्षमता, शिक्षकको पढाउने तरिकाले पनि असर पार्छ । अङ्ग्रेजी माध्यम मात्र राख्ने विद्यार्थीहरू अङ्ग्रेजी नपढ्ने भनेपछि त्यो झन् बोझ हुन्छ । चार कक्षामा राख्यौँ । तर असफल भयौँ । कक्षामा मात्र केन्द्रित भएर भएन ।’

कोइराला भन्छन्, ‘पाठ्यक्रम देशभरि एउटै हुन्छ भन्ने पनि थाहा नपाउने पनि शिक्षक हुन्छ ? पाठ्यक्रम विकास केन्द्रले देशभरि एउटै पाठ्यक्रम लागू गरेको छ ।’

शिक्षकमा अहम्को भावना

सरकारी स्तरमा पढाउने शिक्षकहरूमा मलाई कसले के गर्छ र भन्ने खालको मानसिकता रहेको आजाद बताउँछन् । त्यस्तो मानसिकता भएको शिक्षकलाई सजाय दिनुपर्ने विचार उनको छ ।

दरबार स्कुललाई राम्रो बनाउन ‘दरबार’कै विद्यार्थी चाहिने

दरबार स्कुलमा पहिले सम्भ्रान्त वर्गका छोराछोरी पढ्ने गर्थे । सर्वसाधरणलाई पढ्न रोक लगाइएको थियो । पछि देवशमशेरले जनताका छोराछोरीहरू पढ्न  स्कुल खुला गरे ।

आजाद भन्छन्, ‘दरबार स्कुल पहिले अवस्थामा फर्काउन तलदेखिमथिसम्म परिवर्तन हुनुपर्छ । दरबार स्कुललाई पहिलेकोझैँ बनाउनु छ भने दरबारकै विद्यार्थी चाहिन्छ । हुनेखानेका बच्चा नै चाहिन्छ । प्रशासन चुस्त हुनुपर्छ ।’

उनी थप्छन्, ‘यो स्कुलमा विद्यार्थी ल्याउनु छ भने शुल्क लिनैपर्छ । पहिले दरबार स्कुल मात्र थियो काठमाडौँमा । कहाँ जाने त विद्यार्थी त्यहाँ नगएर ? त्यसैले विद्यार्थी धेरै थिए ।’

ग्रेडिङले पनि बच्चाको स्तर कमजोर

सरकारले एसएलसीमा ग्रेडिङ सिस्टम लागू गरी कसैलाई पनि फेल गराउन पाइँदैन भन्ने नियम ल्याएको छ । यसकारणले विद्यार्थीमा पढ्नुपर्ने भावना नै हराएको छ भन्छन् आजाद ।

उनी थप्छन्, ‘जसरी पनि पास भइहालिन्छ भन्ने मानसिकता विद्यार्थीमा रहेको छ । निःशुल्क कोचिङ पढ्न बोलाउँदा पनि विद्यार्थी स्कुल आउँदैनन् ।’

एउटै भवनमा दुईवटा विद्यालय भएकाले बाधा

भानु मावि ऐतिहासिक विद्यालय हो । कुनै समयमा यो स्कुल नेपालको सबैभन्दा राम्रो विद्यालयमध्ये एकमा गनिन्थ्यो । अहिले एउटा भवनमा दुईवटा विद्यालय सञ्चालन भएकाले पठनपाठनमा बाधा सिर्जना भएका छन् । ऐतिहासिक विद्यालय भएकाले यसलाई जसरी भए पनि जोगाउनुपर्ने र यसको गुणस्तर उकास्नुपर्ने आवश्यकता रहेको कोइराला बताउँछन् ।

उनी भन्छन्, ‘हामीले एउटै भवनभित्र दुईवटा विद्यालय नदिने भन्छौँ । तर दिइरहेका छौँ । नियमअनुसार र व्यावहारिक रूपमा पनि एउटै भवनमा दुईवटा विद्यालय सञ्चालन गर्नु हँुदैन । एउटै व्यवस्थापन गरौँ । दुईवटा स्कुललाई जोडेर भानु संस्कृत मावि राखौँ भन्ने हाम्रो विचार हो ।’

दुई विद्यालयमा द्वन्द्व

२०७२ को भूकम्पमा विद्यालय भवन क्षतिग्रस्त भयो । विद्यालय लडेपछि अस्थायी रूपमा वाल्मीकि क्याम्पस, प्रदर्शनीमार्गमा जेनतेन पढाइ सुचारु भएको छ । बिहान ६ः३५ बाट ११ बजेसम्म संस्कृत स्कुलको कक्षा सञ्चालन हुन्छन् । भानु मावि १०ः३० बाट सुरु छ । दुई विद्यालयमा अहिले ‘ओभरल्याप’ भइरहेको छ ।

कोइराला भन्छन्, ‘भवन भत्केपछि सामानको लिलाम गर्दा आएको पैसा आधा आधा बाँड्ने सैद्धान्तिक सहमति भएको थियो । तर त्यो पैसा भानु माविले मात्र राखेको छ । त्यसैले पनि द्वन्द्व सिर्जना भएको छ । एकै ठाउँमा बसिसकेर लामो इतिहास भइसकेपछि  मेरो मात्र विद्यालय हो भन्न पाइँदैन । संस्कृत  खुलेको पनि सय वर्ष भयो । त्यसकारण उसको हक लाग्दैन भन्ने होइन ।’

महतोले भने दुई विद्यालयमा द्वन्द्व नै देखेका छैनन् । उनी भवन हाम्रो स्वामित्वमा भएको कारण लिलामीको पैसा पनि हामी नै राख्नुपर्छ भन्छन् । उनी थप्छन्, ‘भवनको स्वामित्व कसको हो भन्ने कुरा हो । सामानहरू आफ्ना लिलाम गरेर संस्कृतले छुट्टै पैसा निकालिसकेको छ । जसको नाममा दर्ता भएको छ, भवन त्यसको हुन्छ । भानु माविको दर्ता भएको कुरालाई कानुनी रूपले हत्याउन चाहनु भनेको कतिको उपयुक्त होला ?’

गुणस्तर मापन गर्ने सूचक छैन

गुणस्तर मापनको सूचक निर्धारण गर्नुपर्ने बताउँदै कोइराला भन्छन्, ‘हामी गुणस्तर खस्कियो त भन्छौँ तर गुणस्तरलाई केले मापन गर्ने भन्ने सूचक नै छैन । सूचक लिएर जाऊँ, अनि विद्यालय खस्कियो खस्किएन हामी भनौँला ।’

उनी थप्छन्, ‘स्थापना कालमा राणाका छोराछोरीलाई पढाउने स्कुल, अहिले आएर त्यो वर्ग बाहिर हुनु, नयाँ वर्गको प्रवेश बढी हुनु त्यो गुणस्तर नभएकै हो ।’ 

महतोले भने विद्यालयको गुणस्तर खस्किनुमा अभिभावकलाई नै दोषी देख्छन् । उनी भन्छन्, ‘हाम्रा अभिभावक अशिक्षित छन् । विद्यालयबाट घर जान्छन्, जस्तो किताब राखेको छ उस्तै लिएर आउँछन् । अभिभावकलाई दायित्वबोध नै छैन । अभिभावकका कारण गुणस्तर खस्किरहेको छ ।’

विद्यार्थी सङ्ख्या किन कम ?

भूकम्प जानुभन्दा अगाडि दरबार स्कुल रानीपोखरीको छेउमा थियो । त्यहाँ व्यापारीका छोराछोरी पढ्थे । भूकम्प गएपछि त्यहाँका मानिसहरू चक्रपथभन्दा बाहिर गए । विद्यार्थी आफ्ना बाबुआमासँग उतै गए ।

कोइरालाले मुख्य समस्या शिक्षक त्यही थुप्रिने तर विद्यार्थी बढाउन नसकिनेमा देख्छन् । उनी भन्छन्, ‘त्यो क्षेत्रमा काम गर्ने कामदारका बच्चाहरू पढ्थे । जब भवन भत्किएर यता सर्याे, त्यो विद्यार्थी त्यहाँ गएन । स्वाभाविक पनि हो, ठमेलमा बस्ने बच्चाहरू हिँडेर त्यति टाढा जाने कुरा पनि भएन ।

महतोका अनुसार ‘भूकम्पपछि भवन ढल्न लागेको थियो । पहिले भएको भानु मावि त्यहाँबाट यहाँ सारेर विद्यार्थी कम भए । व्यापार गर्ने मानिसका छोराछोरी स्कुलमा पढाउन टाढा भयो ।’

व्यवस्थापन समितिका अध्यक्षले गरेको पहल

व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बस्नेतले आन्तरिक सुधार गरेको दाबी गर्छन् । तर स्कुलमा निरीक्षण गर्दा आन्तरिक सुधार भएको भने खासै देखिँदैन । स्कुल दिन प्रतिदिन गिर्दाे क्रममा छ । उनले शैक्षिक सुधार प्रभावकारी गराउन खोजेका थिए तर शिक्षकहरूलाई आग्रह गर्दा शिक्षकले सक्दैनौँ भने । उनी भन्छन्, ‘अभिभावकमा अङ्ग्रेजीप्रतिको मोह रहेको छ । हामीले अङ्ग्रेजी पनि सुरुवात गर्र्याैं तर प्रभावकारी हुन सकेन ।’

दरबार स्कुलको इतिहास

दरबार हाइस्कुलको इतिहासबारेका सामगग्री प्रशस्त पाइन्छ । विसं. १९०६ मा जङ्गबहादुर बेलायत गए र त्यसको एक वर्षपछि १९०७ मा नेपाल फर्किएका थिए । उनले बेलायतको शिक्षा प्रणालीबारेमा बुझ्ने र त्यहाँका स्कुलहरू पनि हेर्ने अवसर पाएका थिए । तात्कालीन समयमा नेपालमा विद्यालयहरु थिएनन् थिएनन् ।

दरबार स्कुलको स्थापना हुनुअघि गुरुकुल, खोलाको छेउमा, पाटीमा पढाउने गर्दथै । इच्छा लागेका मानिसले गुरुदक्षिणा दिन्थे । इच्छा नलागेका मानिसले दिँदैनथे । गुरु आश्रममा बस्ने, वर्षभरि पुग्ने खाद्यान्न पनि लैजाने र त्यसैबाट गुरुलाई पनि दिने चलन थियो । गुरुकुल शिक्षा पद्धतिमा ब्राह्मणका छोराहरु मात्र अध्ययन गर्दथे र त्यस शिक्षा पद्धतिका दुईवटा उद्देश्यका साथ अध्ययन चलन थियो ः जजमानी गर्न र ज्योतिषि विद्याका लागि ।

त्यतिबेला सर्वसाधारण जनतामा आफ्ना छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनासम्म थिएन । गरिब, निम्न वर्गीय, तल्लो जातका केटाकेटीहरूलाई कमारा कमारीको रूपमा बेचिन्थे । लोग्ने मरे स्वास्नीहरू सती जानुपथ्र्यो । दुनियाँदारका लागि पढ्नुभनेको कल्पनातित विलासितको कुरा थियो ।

जङ्गबहादुर बेलायतबाट फर्केपछि थापाथालीस्थित दाखचोकमा १९१० मा स्कुल खोले ।

त्यो स्कुलमा आफ्ना छोराहरूलाई मात्र पढाउँथे । त्यो बेला प्रधानाध्यापक मिस्टर क्यानिङ थिए भने सुपरिवेक्षक रोज थिए । उनीहरू लैनचौरमा बस्दथे । अहिलेको भारतीय दूतावास भएको ठाउँमा । बेलायतको नेपाल प्रतिनिधि त्यहाँ बस्ने गर्दथे । पढाउन थापाथली जान्थे । त्यो बेलासम्म जङ्गबहादुरका छोरीबुहारी पढ्दैनथे । भित्रभित्रबाट सामान्य अक्षरहरू सिकेका थिए भन्ने कुरा कतै इतिहासमा पढ्न पाइन्छ ।

केही समयपछि यो स्कुल थापाथलीबाट चारबुर्जा (हाल होटल रोयल, राजपरिषद्को कार्यालय रहेको भवन) दरबारमा सारियो । त्यहाँबाट पनि यो स्कुलसँगै रहेको धीरशमशेरको निवासस्थान जमल, नारायणहिटी दरबार क्यम्पभित्र सानु चोक बैठकमा सर्यो र त्यहीँ कक्षा दशसम्मको पढाइ पनि चालु गरियो ।

जङ्गबहादुरको मृत्युपछि त्यो स्कुल त्यहाँ रहेन । त्यो रणोद्दीपको दरबारमा आयो । अहिलेको नारायणहिटी दरबारभित्र पहिले रणोद्दीपको दरबार  थियो । जङ्गबहादुरको कब्जामा आइसकेपछि त्यो ठाउँ आफ्ना भाइभारदारलाई बाँडिएको थियो । २०७२ सालको भूकम्पमा त्यो दरबार पनि भत्कियो ।

विसं १९४० सालमा यो स्कुल फेरि थापाथली दरबारको दाखचोकमा सर्नुपर्यो । विसं. १९४२ सालमा जेठा बाबु रणोद्दीपसिंहको हत्या गरी श्री ३ महाराज बनेका वीरशमशेरले यस स्कुललाई जमलस्थित दरबारको ढोकानिरका टहरामा सारे । उनले यस स्कुलका लागि एउटा सुहाउँदो भवन बनाउन लगाए । रानीपोखरीको पश्चिमपट्टिको सडकछेउमा एउटा ठूलो, लामो भवन बन्यो । विसं. १९४८ सालमा यस भवनको निर्माणकार्य सम्पन्न भएपछि यो स्कुलले बल्ल आफ्नै भवनमा बस्न पायो ।

दरबार हाइस्कुल आधुनिक शिक्षाको जग थियो । देवशमशेरले १९५७ पछि जनताका छोराछोरीलाई अध्ययनका लागि स्कुल खुला गरेका थिए ।

यस स्कुलमा कक्षा १० सम्मको पढाइ चालु भइसकेको थियो तर कुनै विश्वविद्यालयसित आबद्ध नभएकाले यहाँबाट प्रदान गरिएको प्रमाणपत्रले बाहिर कतै मान्यता पाउन सकेन । तसर्थ श्री ३ रणोद्दीपसिंहको शासनकालमा धीरशमशेरको प्रयासको फलस्वरूप इ. १८८० मा यस स्कुलको सम्बन्धन कलकत्ता विश्वविद्यालयसित गाँसियो । यसरी सर्वप्रथम इ. १८८० सालमा कलकत्तामा परीक्षा दिन जाने परीक्षार्थीहरूको टोलीमा धीरशमशेरका माहिला छोरा खड्ग शमशेर पनि थिए । उनी परीक्षामा उत्तीर्ण त हुन सकेनन् तर पनि पहिलो नेपाली टोलीमा  परेका राणा परिवारको विद्यार्थी भएकाले उनलाई तत्कालीन भाइसराय लार्ड रिपनबाट तक्मा पनि प्रदान गरिएको थियो । यसरी कलकत्ता विश्वविद्यालयमा परीक्षा दिन जाने क्रम विसं. १९७४ (इ. १९१७) सम्म चालु रह्यो ।

प्रत्येक वर्ष बढ्दो सङ्ख्यामा परीक्षार्थीहरू जाँच दिन कलकत्तासम्म पुग्नु एकातिर झन्झट थियो भने अर्कोतिर सरकारी खर्चमा वृद्धि । त्यसैले नेपाल सरकारले परीक्षाको एउटा केन्द्र काठमाडौँमा नै खोल्न कलकत्ता विश्वविद्यालयसित माग गर्यो । तर त्यसो गर्न कलकत्ता विश्वविद्यालय सहमत भएन । त्यसपछि नेपाल सरकारले पटना विश्वविद्यालयसित सम्बन्ध जोड्यो ।

त्यस विश्वविद्यालयले काठमाडौंमा परीक्षा केन्द्र खोल्न र यहाँ खोलिने भएको त्रिचन्द्र कलेजलाई आफ्नै एउटा एकाइको रूपमा समेत स्वीकृति प्रदान गर्यो । तदनुसार यसै  स्कुलबाट सेन्टअप भएका विद्यार्थीहरू पटना विश्वविद्यालयको म्याट्रिकुलेसन परीक्षामा सम्मिलित हुन पटना जाने निधो गरे । यो क्रम इ. १९१८ (वि सं. १९७५) देखि इ. १९२८ (वि.संं. १९८४) सम्म चल्यो । वि.सं. १९८५ (इ.१९२९) सालमा म्याट्रिकुलेसन परीक्षा केन्द्र काठमाडौंमा खोलियो । विसं. १९९० सालदेखि नेपाल सरकार शिक्षा विभागअन्तर्गत नै एसएलसी परीक्षाको व्यवस्था मिलाइयो । यो परीक्षा काठमाडौँमा गरिए पनि यस परीक्षासम्बन्धी सबै प्रक्रिया नेपाल सरकारका लागि पटना विश्वविद्यालयले गर्दथ्यो ।

विसं १९४५ तिर दरबार स्कुल सेतो दरबारमा चल्दा विद्यार्थीलाई लिन पुर्याउन घरघरमै पाले जान्थे । दिउँसो खाजा सरकारको तर्फबाट खुवाउने चलन थियो ।

विसं. १९६०÷६२ सालतिर शुक्रराज जोशी पनि यस स्कुलमा पढ्थे । विसं. १९६२ सालमा उनी कक्षा पाँचमा पढिरहेको बेला उनलाई बाबु माधवराज जेल परेकाले जात पतित भयो भन्ने आधारमा तत्कालीन प्रधानाध्यापक बटेकृष्ण मित्रले निष्काशित गरेका थिए । गङ्गालाल श्रेष्ठ पनि यही स्कुलमा पढेका थिए । वि सं. १९९४ सालको एसएलसी परीक्षामा उनले दोस्रो स्थान प्राप्त गरेका थिए ।

भुवनलाल प्रधान (जो २०१८ मा राज्यमन्त्री भएका थिए ।) ले गोरखापत्रका शिक्षापत्रकार प्रकृति अधिकारीलाई दिएको जनकारी अनुसार यहाँबाट एसएलसी दिन जाँदा सरकारले नै पैसा दिन्थ्यो । उनले भनेअनुसार १० रुपियाँ दिन्थ्यो,  पछि १५ बनायो । सरकारले नै एसएलसी दिन जाने विद्यार्थीलाई बाटोखर्च दिन्थ्यो । फर्केर आइसकेपछि राणाहरूका दरबार हाइस्कुलमा प्रअले समय लिन्थे । प्रधानमन्त्रीकहाँ जानुपर्दथ्यो । प्रधानमन्त्रीकहाँ विद्यार्थीलाई लस्करै राखिन्थ्यो । यो सालको एसएलसी परीक्षामा फलानोको छोरा ऊ, फलानोले यो डिभिजनमा पास गर्याे भनेर विश्लेषण हुन्थ्यो । सबैले दाम राख्नुपथ्र्याे । त्यो राखेर प्रधानमन्त्रीलाई दर्शन गर्याे र फेरि उठाएर ल्याउनेचलन थियो । राणाहरूका छोराहरूलाई दोसल्ला पनि लगाइदिने चलन थियो । पछि बनारससँग संस्कृत स्कुलको सम्बन्ध गाँसियो । यहाँबाट पास गरेपछि मध्यमा दिन त्यहीँ जानुपथ्र्यो । त्यो बेला एसएलसीलाई मध्यमा भन्ने चलन थियो ।

२०२८ सालमा दरबार स्कुल भानु माविमा परिणत भयो  । अहिले पनि भानु माविलाई मानिसले दरबार स्कुलको नामबाट चिन्छन् ।

दरबार स्कुलपछि मानिसहरू जुद्ध स्कुल पढ्थे । दरबार स्कुल जब देवशमशेरले १९५७ मा सर्वसाधारणलाई खुल्ला गरे, कतिपय राणाका छोराछोरी आउन छाडे । राणाहरू उच्च क्लासका थिए । सर्वसाधारणका जनता भनेको दलितहरू पनि हुन्थे । त्यो बेला छुवाछूत मान्ने चलन थियो । राणाहरूको सोच हामीभन्दा यिनीहरू तल्ला हुन्, गरिब हुन् भन्ने थियो, सँगै जोडिएर बस्नु हुँदैन भनेर आउन छाडे ।

अधिकारी भन्छन्, ‘मैले हिमालय शमशेरसँग पनि कुरा गरको थिएँ । शमशेरका अनुसार उनी स्कुल आउँदा एउटा घोडचढीले ल्याउँथ्यो । थापाथली दरबारबाट आउँदा घोडामा बसेर आउँथे । घोडामा छाड्न आउने मानिसले हिमालय शमशेरलाई स्कुल छाडिसकेपछि घोडालाई अलि परसम्म हिँडाउँथ्यो । उनले नदेख्ने ठाउँमा पुगेपछि घोडामा आफू बसेर जान्थ्यो । राणाको घोडामा सर्वसाधारण बस्न पाइँदैनथ्यो ।

केशर शमशेरका दुई छोराहरू गाडी चढेर आउँथे । अरू कोही पनि चढ्दैनथे । सत्यमोहन जोशी पाटनबाट हिँडेर आउँथे । उनको बुबा महाराजगञ्जमा मोहन शमशेरका जागिरदार थिए । कहिलेकाहीँ महाराजगञ्जबाटै स्कुल जान्थे, कहिले मङ्गलबजारबाट हिँडेर जान्थे । सुखदुःखका साथ पढ्थे । त्यतिबेलाको शिक्षा गुणस्तरीय थियो ।

त्यसपछि काठमाडौँभित्र अरू पनि स्कुल खुल्न थाले । पछि २०२० सालतिरबाट निजी स्कुल पनि भित्रिए । धेरै अभिभावक निजी विद्यालयतिर आकर्षित भए ।

यस विद्यालयले आफ्नो भवनमा विभिन्न समयमा विभिन्न शैक्षिक संस्थाहरूलाई आश्रय दिइआएको थियो । २०१८ सालदेखि प्राइमरी कक्षा ५, ६ देखि १० कक्षासम्म पढाइन्थ्यो । सोही सालदेखि निम्न आर्थिक अवस्था भएका छात्रहरूलाई दिइँदै आएको खाजा पनि दिन बन्द गरियो । २०३० सालदेखि कक्षा १ देखि १० सम्म पढाइ सञ्चालन हुन थाल्यो ।

अधिराज्यकै र्सवप्रथम स्थापित हाई स्कुल हुनु यस स्कुलको एउटा विशेषता हो । यसैले देशको शैक्षिक इतिहासमा यसको अग्रणी स्थान छ । यस स्कुलमा प्रारम्भिक अवधिमा पढ्ने विद्यार्थीहरू तत्कालीन शासक राणापरिवारका मात्र भएको नाताले यसका कतिपय विद्यार्थीहरू पछि आआफ्ना समयमा ‘श्री ३ महाराज’ जस्तो ओहदामा आसीन रहे ।

वीरशमशेर, देवशमशेर, चन्द्र शमशेर, भीमशमशेर, जुद्धशमशेर, पद्मशमशेरका नाउँ उल्लेखनीय छन् ।

सङ्क्षेपमा देशको अग्रणी शिक्षण संस्थाको रूपमा दरबार स्कुलले सर्वसाधारण जनतामा शिक्षा प्रचार गर्न र अन्धकार युगमा नवयुवकहरूमा समसामयिक जागरण ल्याउना खेलेको भूमिका अविस्मरणीय छ । जे होस् दरबार स्कुलको त्यो गौरवमय देन देशको शैक्षिक इतिहासमा सदैव अक्षुण्ण रहने छ ।

(स्रोत http://www.durbarschool.edu.np/

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *