आफैं अस्वस्थ कान्ति बाल अस्पताल, कसरी प्रदान गर्ला स्वास्थ्य उपचार ?

कान्ति बाल अस्पताल बालबालिकाको उपचार गर्ने एक मात्र सरकारी अस्पताल हो । यस  अस्पतालबाट वार्षिक २ लाखभन्दा बढी बालबालिकाले स्वास्थ्य सेवा लिने गरेका छन् । बालबालिकाको स्वास्थ्य क्षेत्रको सबैभन्दा पुरानो अस्पताल भए पनि बजेटको अभावले समयअनुसारको सेवा नागरिकलाई प्रदान गर्न सकेको छैन । केही महिना पहिले ५० औँ वार्षिक उत्सव मनाएको यस अस्पतालले प्रदान गर्ने सेवामा भने खासै परिवर्तन आउन सकेन । पछिल्लो समय सरुवा रोगको अवस्था उस्तै भए पनि नसर्ने रोग भने बढ्दै गएको कान्ति बाल अस्पतालले जनाएको छ । बाल–दम, नवजात शिशुमा हुने निमोनिया, किड्नी, क्यान्सर रोग लागेका बालबालिकाको सङ्ख्या पछिल्लो समय बढ्दै गएको देखिन्छ । 
कान्ति बाल अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा, बालबालिकाको रोगमा आएको परिवर्तन, अस्पतालले समय सुहाउँदो सेवा प्रदान गर्न नसक्नुको कारण, अस्पतालको समस्यालगायतको विषयमा अस्पतालका निर्देशक डाक्टर गणेश राईसँग गरिएको कुराकानी प्रस्तुत छः

कान्ति बाल अस्पतालमा कस्ता रोग लागेका बालबालिका धेरै आउँछन् ? पछिल्लो समय बालबालिकामा लाग्ने पुरानै रोग तर नयाँ कारण पाउनु भएको छ कि ?   

बालबालिकको रोगको सन्दर्भमा नेपाल जस्तो देशमा अहिले पनि सरुवा रोग नै धेरै छ । केही वर्षयताको तथ्याङ्क हेर्ने हो भने सरुवा रोग कम र नसर्ने रोगहरू बढ्दै गइरहेको अवस्था  छ । नसर्ने रोगको सङ्ख्या वृद्धि भइरहेको छ । 

यो नेपाल मात्रै होइन विश्वमा नै यस्तो किसिमको ट्रेन्ड छ । कान्तिमा पनि त्यही अवस्था छ । कान्तिको ओपीडीमा हेर्ने हो भने पहिलो नम्बरमा रुघारखोकी र निमोनियाका बिरामी छन् । दोस्रोमा झाडापखाला, त्यसपछि कुपोषण अन्य रोगी रहेका छन् । भर्ना हुने बिरामीमध्ये हिजोआज नवजात शिशु धेरै छन् । 

अहिले भर्ना हुने बिरामीमध्ये पहिलोमा नवजात शिशुको सङ्क्रमण, दोस्रोमा नवजात शिशुको जन्डिस र तेस्रोमा निमोनिया रहेका छ । जबकि पहिला १ नम्बरमा निमोनिया हुन्थ्यो । पछिल्लो समय रोगको किसिमको अवस्था बढेको छ तर पनि सरुवा रोग नै धेरै छन् । नसर्ने रोगमा पनि बालदम पर्छ । बालदम पहिला पनि थियो, अहिले झन् बढ्यो । प्रत्येक १० वर्षमा ५० प्रतिशतले बाल दम बढिरहेको छ । 
एउटा वंशाणुगत पनि हुन्छ । 

दोस्रो कारण हाम्रो प्रदूषण हो । हाम्रो खानपानमा मिसावाट छ । सवारी साधन, उद्योग बढ्दो   प्रदूषण पनि बढिरहेको छ, त्यो पनि कारण हो । यस्तै हाम्रो खानेपानीको सप्लाइलगायत विभिन्न कारणले बालदम बढिरहेको छ । 

अहिले बढिरहेको नसर्ने रोगमा बालदम रोग पहिलो नम्बरमा छ । दोस्रोमा मुटुको रोगीहरू पनि बढिरहेका छन् । मुटुका रोगी पहिला पनि थिए, अहिले स्वास्थ्य संस्था उपकरणहरू पनि बढेको छ, जसले गर्दा समयमा नै मुटुको रोग पत्ता लाग्ने हुनाले पनि बढेको हो । कान्तिमा आएको बिरामीमध्ये तेस्रो नम्बरमा भनेको क्यान्सर हो । बर्सेनि कान्ति बाल अस्पतालमा क्यान्सरको बिरामी बढिरहेका छ ।  

कान्ति बाल अस्पतालमा एक वर्षमा उपचार गर्ने बालबालिकाहरूको सङ्ख्या कति छन् ? कुन रोगमा कति बालबालिकाले सेवा लिए ?   


तथ्याङ्क हेर्ने हो भने ओपीडी, आकस्मिक गरेर २ लाख २ हजार १ सय ७३ जना बालबालिकाले उपचार सेवा पाएका छन्, जसमध्ये ओपीडीमा १ लाख ४६ हजार १ सय ९७ जना, आकस्मिकमा ५५ हजार ९ सय ७६ र भर्ना भएका बिरामीको सङ्ख्या झण्डै १० हजार रहेको छन् । पहिलो नम्बरमा नवजात शिशुका सङ्क्रमण, दोस्रोमा नवजात शिशुलाई हुने जन्डिस रहेको छ । नवजात शिशु, ठूला बालबालिका र वयस्कमा फरक किसिमको जन्डिस हुन्छ । ओपीडी र इर्मेजेन्सीमा आउने बिरामीमा बाल दम, निमोनिया, झाडापखालालगायतका रोगहरू रहेका छन् । 

कान्ति बाल अस्पतालले स्वास्थ्य उपचारका लागि कति प्रतिशत छुट दिने गरेको छ ? निःशुल्क उपचार गर्नेको सङ्ख्या कति छन् ?  


विपन्न नागरिकहरूलाई दिने सेवा अर्थात सामाजिक सेवा इकाई प्रत्येक अस्पतालमा गठन भएको छ र हामीसँग पनि यो इकाई रहेको छ । यो इकाईले को विपन्न, को सम्पन्न र कुन रोग विपन्न नभए पनि विपन्नमा पारेर उपचार गर्नुपर्ने छ लगायतको विषयलाई शाखाले हेर्ने गरेको छ । 

जस्तै; क्यान्सर धेरै लामो समयसम्म गरिने खर्चिलो उपचार हो । यस्ता रोगलाई छुटाएर उपचार गरिरहेको अवस्था छ । क्यान्सरका बिरामीलाई सरकारले एक लाखसम्मको उपचार सेवा प्रदान गरेको छ । यति मात्रै होईन गरिब, असाहय बिरामीलाई हामीले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दैआइरहेका छौँ । आईसीयूमा भएका बिरामी पनि तिर्न नसक्ने अवस्थामा छन् भने अस्पतालले निःशुल्क उपचार गर्ने गरेको छ । 


कान्ति बाल अस्पतालको बेडलाई हामीले ३ भागमा बाडेका छौँ । १ नं. शतप्रतिशत निःशुल्क बेड, परिवारले सक्ने अवस्थामा छ भने एक्सरे लगायतको पैसा तिर्नुपर्छ, खाना पनि दिइन्छ ।  अर्काे दिनमा ३ सय तिर्नुपर्ने छ भने कान्ति बाल अस्पतालमा स्पेसल क्याबिन पनि रहेको छ । स्पेसल क्याबिनको दिनमा डबल क्याबिनको ७ सय छ भने सिङ्गल क्याबिनको १२ सय रहेको छ । 

यसरी हामीले बिरामीको आर्थिक अवस्था हेरेर बालबालिकालाई उपचार गरिरहेका छौँ । तर कान्ति बालमा आउने दुई किसिमका बिरामी मात्रै रहेका छन् । एक आर्थिक अवस्था सम्पन्न भए पनि सबै पैसा निजी अस्पतालमा सकेर आउने र अर्काे आर्थिक अवस्था कमजोर भएका बिरामी आउँछन् । त्यस्तो बिरामीलाई हामीले सेवा दिनुनै पर्ने हुन्छ । अस्पतालले सकी नसकी पनि सेवा दिइरहेको अवस्था छ । 

विपन्न नागरिक कोषबाट सेवा लिने बालबालिकाको सङ्ख्या कति छन् ? उपचार गर्न सक्ने परिवार तर पहुँचका छ भन्दै निःशुल्क सेवा लिनेहरू पनि छन् भन्ने गुनासोहरू आइरहेको छ, अस्पताल निर्देशक हैसियतले यो कुरालाई कसरी लिनु हुन्छ ? 


तपाईंले भन्नुभएका साँचो हो, उपचार गर्न सक्ने अवस्थाको परिवार भए पनि सहुलियतमा उपचार पाइन्छ भने किन नलिने भन्ने नागरिकको विचार हुन्छ । कान्तिमा ०७४ पुसदेखि यता २ सय ५२ जनाले सेवा लिएका छन् । तीमध्ये किड्नीका ३६ र क्यान्सरका २१६ जना बिरामी बालबालिकाले सेवा लिएका छन् । विपन्न नागरिकको सेवा लिनका लागि पहिला गाविस अथवा वडा कार्यालयको सिफारिसमा जनस्वास्थ्य कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीको अध्यक्ष रहेको सिफारिसमा भएर पत्र आउँथ्यो । त्यो प्रक्रिया लामो थियो, अहिले परिवर्तन भएको छ । अब सिफारिस गाउँपालिका या स्थानीयतहले गर्दा हुन्छ भनेको छ ।


अब भने उपचारमा विपन्न नागरिकको सिफारिस लिन आर्थिक अवस्था सम्पन्न भएको व्यक्ति जाँदा पनि सिफारिस नगर्दा भोलि सम्बन्धित निकायको पदाधिकारीलाई भोट नआउला भन्ने समस्या होला । यसरी सिफारिस दिँदा सम्पन्न आर्थिक अवस्था भएको व्यक्ति पनि झनै बढ्ने हो कि पनि भन्ने भएको छ । तर सिफरिसमा १०० प्रतिशत, १० प्रतिशत, ५० प्रतिशत कति छुट दिने भन्ने कुरा हुन्छ । हामी त्यसैअनुसार उपचार सेवा प्रदान गर्ने छौँ । कहिलेकाहीँ कुनै पनि सिफारिस नभएको, आर्थिक अवस्था कमजोर भएको बिरामीको अस्पताल आफैले मूल्याङ्कन गरेर सेवा दिँदै आइरहेका छौँ । सिफारिस पत्र हुने हो भने अस्पतालाई काम गर्न सजिलो हुन्छ तर सिफारिसपत्रविना पनि हामीले विपन्न नागरिकको उपचार गर्दै आइरहेका छौँ । कुनै पनि बिरामीलाई पैसा नभएर उपचार हुँदैन, जानुस् भनेर फर्काएको अवस्था छैन । तर सिफारिसपत्र ल्याउनेको सङ्ख्या धेरै छ । जो मान्छे पैसा तिर्न सक्छन् ती मान्छेले भनसुन   धेरै लगाउँछन् र उपचार गर्छन् । 

बालबालिकाको उपचार गर्ने एक मात्र सरकारी अस्पतालमा आर्थिक अभाव भयो भन्ने धेरै सुन्नमा आउँछ, के सरकारले पर्याप्त बजेट विनियोजन नगरेर हो या अरू नै कारण छन् ? 


निर्देशकको नाताले भन्नुपर्दा मेरो एक नम्बरको टाउको दुखाइ भनेको मेरो अस्पतालको कर्मचारीको तलब वितरण गर्नु नै हो । किनभने ५५ प्रतिशत कर्मचारी अस्पतालको विकास समितिका छन् । उहाँहरूलाई तलब खुवाउन महिनाको ९० लाखदेखि १ करोड चाहिन्छ । मासिक ९० लाखदेखि १ करोड आम्दानी गर्नुपर्ने हुन्छ । तर हिउँदको समयमा आम्दानी कम हुन्छ । कर्मचारीले पाउने भत्ता र अन्य सेवा सुविधा खासै दिइएको छैन । कान्ति बाल अस्पताल पनि अन्य अस्पताल जसरी नै आर्थिक सङ्कटमा पक्कै छ । तर यो वर्ष खुशीको कुरा हामीले कर्मचारीको तलब खुवाउन सक्यौँ । 

 
निर्देशकको नाताले भन्नुपर्दा मेरो एक नम्बरको टाउको दुखाइ भनेको मेरो अस्पतालको कर्मचारीको तलब वितरण गर्नु नै हो । किनभने ५५ प्रतिशत कर्मचारी अस्पतालको विकास समितिका छन् । उहाँहरूलाई तलब खुवाउन महिनाको ९० लाखदेखि १ करोड चाहिन्छ । मासिक ९० लाखदेखि १ करोड आम्दानी गर्नुपर्ने हुन्छ । तर हिउँदको समयमा आम्दानी कम हुन्छ । कर्मचारीले पाउने भत्ता र अन्य सेवा सुविधा खासै दिइएको छैन । कान्ति बाल अस्पताल पनि अन्य अस्पताल जसरी नै आर्थिक सङ्कटमा पक्कै छ । तर यो वर्ष खुशीको कुरा हामीले कर्मचारीको तलब खुवाउन सक्यौँ । 

 
निर्देशकको नाताले भन्नुपर्दा मेरो एक नम्बरको टाउको दुखाइ भनेको मेरो अस्पतालको कर्मचारीको तलब वितरण गर्नु नै हो । किनभने ५५ प्रतिशत कर्मचारी अस्पतालको विकास समितिका छन् । उहाँहरूलाई तलब खुवाउन महिनाको ९० लाखदेखि १ करोड चाहिन्छ । मासिक ९० लाखदेखि १ करोड आम्दानी गर्नुपर्ने हुन्छ । तर हिउँदको समयमा आम्दानी कम हुन्छ । कर्मचारीले पाउने भत्ता र अन्य सेवा सुविधा खासै दिइएको छैन । कान्ति बाल अस्पताल पनि अन्य अस्पताल जसरी नै आर्थिक सङ्कटमा पक्कै छ । तर यो वर्ष खुशीको कुरा हामीले कर्मचारीको तलब खुवाउन सक्यौँ । 

अब गर्मी सुरु भयो । बिरामीको सङ्ख्या बढ्छ, बिरामीको सङ्ख्या बढ्नु भनेको अस्पतालको आम्दानी पनि बढ्नु हो । तर गत वर्ष समस्या भएको थियो । अरू कुनै फन्डबाट १ करोड ४० लाख सहयोग लिनुपरेको थियो । त्यो रकम हामीले तिर्नुपर्ने छ । 

दोस्रो कुरा, अनुदानका रूपमा मन्त्रालयले प्रत्येक वर्ष दिन्छ । १९ करोड २०  लाख मात्रै यो वर्ष बजेट आएको छ । गत वर्षको भन्दा यो वर्ष २ करोड ६४ लाख बजेट अर्थात् १२ प्रतिशत बजेट कम आएको छ । कुनै पनि संस्थाको बजेट घटाउनु भनेको सेवा कस्तो हुन्छ भन्ने बारेमा त्यसै थाहा हुन्छ । 

अस्पतालमा उपकरणहरू कति वर्षअघि देखिका छन्, पुरानै भएको कारणले उपचारमा कहिलेकाहीँ सास्ती भोग्नुपरेको छ कि छैन ? आधुनिक उपकरणको कतिको जरुरी ठान्नु भएको छ ?   

प्रत्येक उपकरणलाई दुईदेखि तीन वर्षमा रिप्लेक्स गर्नुपर्ने हुन्छ । कान्ति बालमा जति पनि उपकरण छन्, धेरै पुराना छन् ।  सिटी स्क्यान मेसिनबाट कुरा गरौँ । कान्ति बालमा ५ वर्ष आयु भएको सिटी स्क्यान मेसिन ल्याएको ८ वर्ष भयो तर अहिलेसम्म काम गरिरहेको अवस्थामा छ । यो सिटी स्क्यान कुन दिन कसरी बिग्रिन्छ थाहा छैन् । अहिले साधारण एक्सरे गरिँदैन, डिजिटल रेडियोग्राफी (डीआर) गरिन्छ । कान्ति बाल अस्पताललाई १३, १४ वर्ष पहिला जापान सरकारले दिएको डीआर मेसिन छ । पुरानो भए पनि एक्सरेको काम त गरिरहेको छ तर जुन एक्सरेको क्वालिटी छ । कहिलेकाही निमोनिया भएको बिरामीमा निमोनिया थाहा पाउनै गाह्रो हुन्छ । करिब २ करोड जतिमा राम्रो एक्सरे मेसिन पाइन्छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयसँग कुरा भइरहेको छ । कान्ति बाल जस्तो अस्पतालमा एक्सरे पनि लो क्वालिटीको आउँछ भने अहिलेको अवस्थामा कसरी उपचार गर्ने ? 

यस्तै एमआरआई मेसिन कान्तिमा छँदैछैन । यति ठूलो अस्पतालमा एमआरआई मेसिन चाहिने हो नि तर छैन । अर्काेतिर ५२ बेडको आईसीयू सञ्चालन गर्ने भनेर स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएका हौँ । तर मुख्य जनशक्ति मेडिकल अफिसर र स्टाफनर्सको कमीले गर्दा अहिले हामीले ३७ आईसीयू बेड मात्र सञ्चालनमा ल्याएका छौँ । यो समायोजनको असर पर्यो भने आईसीयुको बेड २५ देखि २० मा झर्न सक्छ । 
प्रत्येक अस्पतालको आआफ्नो अक्सिजन प्लान्ट छ तर कान्तिमा पनि जापान सरकारले दिएको आफ्नै  अक्सिजन प्लान्ट थियो । करिब १० वर्षदेखि त्यो अक्सिजनले काम गरेन । त्यसलाई फ्याँकियो । अहिले अक्सिजन किनेर चलाइरहेका छाँै । त्यो अक्सिजन किन्ने पैसाले हामीले बालबालिकालाई दिने औषधि, पन्जा, एक्सरे, सिटी स्क्यानका लागि खर्च गर्नुपर्ने पैसा अक्सिजनमा खर्च गरिरहेका छौँ । 


यस्तै अहिले वातावरण विभागले अस्पतालको क्षेत्राधिकार तोकेको छ । त्यो क्षेत्रधिकारअनुसार अस्पतालबाट दुई किसिमको फोहोर निस्कन्छ, एउटा ठोस र अर्काे तरल । जोखिम युक्त अप्रेसन गर्ने सामानहरूलाई निर्मलीकरण गर्नुपर्छ । हामीले अस्पतालको फोहोर त एक ठाउँमा राख्छौँ तर त्यहाँ निर्मलीकरणका लागि हामीसँग मेसिन छैन । यसले वातावरणलाई दूषित गरिरहेको छ ।  अस्पतालबाट निस्केको फोहोरमैलालाई मेसिन नहुँदा निर्मलीकरण गर्न सकेको छैनौँ । यस्तै  बिरामी बालबालिकाको रगत, थुक, दिसापिसाबबाट फोहोर तरल पदार्थ निस्किरहेको छ । त्यो सबै कुरा अस्पतालको ड्रेनबाट बागमतीमा पठाइन्छ । ड्रेनबाट पठाउनुभन्दा पहिला प्लान्ट बनाएर निर्मलीकरण गरेर मात्रै पठाउनुपर्छ तर त्यो पनि निर्मलीकरणका लागि प्लान्ट मेसिन छैन । जसरी अप्रेसनका लागि औजार चाहिन्छ । त्यस्तै अस्पतालबाट निस्केको फोहोर व्यवस्थापनका लागि पनि मेसिन चाहिन्छ । त्यो मेसिन पनि कान्तिमा छैन । अक्सिजन प्लान्ट, सिटी स्क्यान मेसिन, एमआरआई छैन । 


अहिले डीआर मेसिन, अक्सिजन प्लान्टलगायत धेरै कुरा अस्पताललाई अति आवश्यक छ । यसका लागि ५ करोड बजेट आवश्यक छ । ५ करोड रकम सरकारका लागि धेरै होइन । 
आर्थिक वर्ष सकिन लागेपछि बजेट आउँछ, कसरी खर्च गर्नु ? खर्च गरे पनि अख्तियारले शङ्का गर्छ भन्ने डर छ । यति मात्रै होइन मुख्य अडिटले शङ्का गर्छ । त्यसैले खर्च नगर्दा नै आनन्द हुने अवस्था पनि देखिन्छ । खर्च नगर्दा मन्त्रालयले स्पष्टीकरण सोध्ला, त्यसको जवाफ दिन सजिलो हुन्छ । अख्तियारलाई बायन दिन अडिटलाई सम्झाउन गाह्रो हुन्छ । त्यसैले आर्थिक वर्षको अन्तिमको आएको पैसा खर्च गरेर उपकरण किन्न समस्या छ । 
कान्ति बाल अस्पतालमा ६ सय ६५ बेड हुनुपर्ने हो तर मन्त्रालय र कान्ति बाल विकास समितिले निणर्य गरेअनुसार जनशक्तिको कमीले ३ सय ८ बेड मात्रै सञ्चालन गरिएको छ । त्योमध्ये अहिले क्यान्सर, नसासम्बन्धी बिरामी बढेका छन् । ती बिरामीलाई एमआरआई गर्न अति जरुरी छ । त्यसैले अहिले कान्ति बाल अस्पताललाई एमआरआई मेसिन हुन अति आवश्यक छ । 

प्रभावकारी सेवा सञ्चालनका लागि केके हुन आवश्यक छ ? नर्स, चिकित्सकको सङ्ख्या बिरामीको चापअनुसार छ कि छैन ?


नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले बिरामी र नर्सको अनुपातसम्बन्धी नियम बनाएको छ । त्यो अनुपातको १० देखि २० प्रतिशत पनि पूर्ति भएको छैन । एउटा उदाहरण दिऊँ सबैभन्दा ठूलो मेडिकल वार्डमा ५२ वटा बेड छन् । ५२ वटा बेडमा प्रायः ५२ जना बिरामी नै हुन्छन् । त्यहाँ राति ड्युटी गर्ने नर्स दुई जना हुन्छन् । दुई जना नर्सले ५२ जना बिरामीलाई कसरी हेर्छन् ? सबै चेकजाँच कागजमा उर्तानु पर्यो । मेडिकल अफिसर पनि कम छन् ।  
त्यसैले पहिलो नम्बरमा जनशक्ति धेरै कम छ । यो अवस्थामा दुईजना नर्सले सबै बिरामी र बिरामीका आफन्तसँग हाँसेर बोल्न सम्भव होला र ? नर्सले डाक्टरले राम्रो बोलेनन् भन्ने गुनासा आउँछन्, नबोल्नुका कारणहरू यस्ता छन् । 
उपकरणहरु मर्मत सम्भारको समस्या धेरै छ । भवनको अवस्था पनि उस्तै छ । पानी परेको बेला कोठामा पानी चुहिन्छ । मर्मत सम्भारका लागि पनि बजेट आउनुपर्र्ने, त्यो पनि आउँदैन । 

विकास समिति र  सरकारी कर्मचारी कति कति छन् ? भिन्न भिन्न समूहका कर्मचारीमा कामको तालमेल कत्तिको मिलेको छ ? काम गर्न कत्तिको सजिलो छ ?    


जुनसुकै अस्पतालमा पनि मिलेर काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो तर दिमागमा कहीँकतै नमिलेको महशुस हुँदोरहेछ । विकास समितिका कर्मचारीको सरुवा हुँदैन । त्यसैले उहाँहरूलाई चलाउन गाह्रो हुन्छ भन्छन् । त्यस्तै स्वास्थ्य मन्त्रालयबाट आएका, लोक सेवा लडेर आएकाहरूको आफ्नै किसिमका विचार होलान् । तर पनि उहाँहरू मिलेर काम गरिरहेको अवस्था छ । 
अर्कातर्फ विकास समितिका कर्मचारीको प्रमोसन हुने प्रावधान छ । तर पनि बजेट र स्पष्ट नीति नहुँदा जुन पदमा जागिर खाए त्यही पदबाट रिटायर हुने अवस्था छ । 

आईसीयू र बेड पाउन निकै समस्या हुने गरेको गुनासो सुनिन्छ नि ? 


कान्ति बाल अस्पतालबाट आईसीयू नपाएर प्रत्येक दिन कम्तीमा पनि ५ जना बिरामी बाहिर जानुपर्ने अवस्था छ । गत वर्ष प्रतिदिन आईसीयू नपाउने बिरामीको सङ्ख्या ३ थियो, अहिले बढेको छ । किनभने कुनै पनि सिरियस बिरामी कान्तिमा नै ल्याउँछन् ।

अस्पतालले नाम टिपेर  खाली भएपछि सम्पर्क गर्छ । यसो गर्दा कान्तिमा आईसीयू रिजर्भ गर्नुपर्ने रैछ भन्ने कुरा पनि सुन्नमा आयो । तर त्यस्तो होइन । कान्तिमा आएको कुनै बिरामीले आईसीयूमा बेड पाओस भन्ने हाम्रो चाहाना छ किनभने बाहिर महँगो हुन्छ । त्यसले गर्दा आईसीयूमा बेड पाउन कान्तिमा सजिलो छैन । बेड बढाउन हामीसँग जनशक्ति छैन, उपकरण छैनन् । तर पनि बिरामीको अवस्थामा सुधार आएपछि आईसीयूबाट वार्डमा सार्ने र अर्काे बिरामीलाई सेवा दिने प्रावधान मिलाएका छौँ तर सधैँ सम्भव हुँदैन । 

अहिले जम्म ३७ वटा आईसीयू बेड छन् । त्यसमा १६ वटा नवजातशिशुलाई, १२ बेड ठूलो बच्चालाई र ७ बेड सर्जिकल र अन्य दुईवटा अति नै सर्ने रोग एचआईभी जस्ता बिरामीलाई राखेर उपचार गरिन्छ । त्यहाँ प्रयोग गरिएको उपकरण एकदमै राम्रोसँग निर्मलीकरण गरेर प्रयोग गर्नुपर्ने हुन्छ । त्यसले गर्दा समयमा बेड नपाउने कठिनाइ चाहिँ छन् ।

कर्मचारी समायोजनले सरकारी चिकित्सकहरू अहिले आन्दोलनमा छन्, कान्ति बाल अस्पतालमा समायोजनले फाइदा, बेफाइदा के पुर्याउला ?


कर्मचारी समायोजनका सकारात्मक र  नकरात्मक दुवै पक्ष रहेका छन् । सकारात्मक पक्ष अहिले देशमा  संविधान बनिसक्यो । आफ्नो—आफ्नो ठाउँमा जानैपर्ने हुन्छ । तर समायोजनले कान्ति बाल अस्पतालको हकमा मात्रै होइन, केन्द्र अन्तर्गतका धेरै अस्पतालमा समस्या ल्याउने छ । ओएनएमए सर्भे भइरहेको छ तर यो सम्पन्न नभई कर्मचारी समायोजन भएको छ । यसले अस्पताललाई केही असहज हुन्छ ।

अस्पतालमा अहिले सर्जरीका जति पनि डाक्टर छन् उनीहरूलाई कान्तिमा पोस्ट पुग्छ । कन्सल्टेन्ट, ल्याब, एक्सरेलगायतका ठाउँमा करारमा कर्मचारी राखेका छौँ ।  उपचार तथा अप्रेसनतिर दरबन्दीभन्दा आधा मात्रै कर्मचारी रहेका छन् । काजमा राखेर सेवा दिइरहेका छौँ । तर अब जति दरबन्दी छ त्यति मात्रै बस्ने र अरू सबै समायोजनमा जानुपर्ने हुन्छ । त्यसले गर्दा कान्ति बाल अस्पतालमा सेवा दिन गाह्रो हुन्छ । 


दोस्रो कुरा समायोजनमा सङ्घबाट प्रदेश अथवा स्थानीय तहमा जानेलाई २१ दिनभित्र पठाउनु पर्ने अनि उताबाट केन्द्रमा आउने कर्मचारी काम सकेर मात्रै असारपछि आउने भन्ने कुरा छ । कान्तिबाट तुरुन्त पठाउनुपर्ने तर उताबाट असारपछि मात्रै आउने हुँदा समस्या देखिने निश्चित छ । 

कान्ति बाल अस्पतालमा क्यान्सरका मात्रै २६ वटा बेड छन् । डे केयर सेन्टर छ । डे केयर सेन्टरमा दिउँसो आएर क्यान्सरको औषधि लिने र अर्को दिन आउने बिरामी हुन्छन् । क्यान्सर लागेको तर भर्ना गर्न आवश्यक नभएका बिरामी डे केयरमा आउँछन् । 

क्यान्सर विभागमा ३ जना डाक्टर छन् । ३ जनामध्ये डाक्टर कैलाशप्रसाद शाह मुख्य हुनुहुन्छ । उहाँका कन्सल्टेन्ट दुई जना रहेका छन । डा. कैलाश सिनियरमा पर्नुभयो  । उहाँको दरबन्दी कान्ति बालमा नै हुन्छ । तर दुई जना अलि जुनियरमा परे उनीहरूको लिस्ट अलि तल रहेको छ । ती दुई जना डाक्टरको दरबन्दी कान्ति बाल अस्पतालमा रहँदैन । उनीहरू क्यान्सर विशेषज्ञ भए पनि मन्त्रालयमा बालबालिकाको डाक्टरको लिस्टमा रहेका छन् । दुई कन्सल्टेन्ट चिकित्सक समायोजनमा गएपछि कान्ति बालको क्यान्सर वार्ड बन्द हुने अवस्था हुन्छ । यस्तै मुटुको पनि समस्या उस्तै छ ।  यसैले समायोजनका सवल र दुर्वल पक्ष दुवै छन् । 

अस्पतालमा विकास समिति र स्वास्थ्य मन्त्रालयबाट खटिएका दुई किसिमका कर्मचारी छन् । विकास समितिका कर्मचारीको दरबन्दी ३ सयभन्दा धेरै छ । स्वास्थ्य मन्त्रालयबाट आएको दुई सय ८४ जना जति छन् । सबै गरेर ६ सय ७ जनाको दरबन्दी कान्ति बाल अस्पतालमा छ । ५५ प्रतिशत विकास समिति र ४५ प्रतिशत मन्त्रालयको कर्मचारी रहेका छन् । अचम्म त तपाईलाई के लाग्ला भने विकास समितिका आधा कर्मचारी पनि स्थायी छैनन् । समितिले धेरैजसो कर्मचारी करार र ज्यालादारीमा चलाएको छ ।

अहिलेको जुन समायोजनले करार र ज्यालादारीमा कर्मचारी नियुक्ति नगर्नु भनिएको छ । कर्मचारीलाई निकालियो भने कान्ति बाल अस्पतालको काम ठप्प हुने अवस्था हुन्छ । यसबारेमा विकास समितिले निर्णय गर्नुपर्ने हो तर विकास समिति अहिले भङ्ग भएको छ । विकास समितिले फेरि लिएर आउँने भन्ने कुरा सुनेको छु । विकास समितिमा राम्रो मान्छे आएको खण्डमा धेरै समस्याको समाधान गर्न सकिन्छ । किनकि काम गर्नका लागि विकास समितिले स्वास्थ्य मन्त्रालयको मुख ताक्नु पर्दैन । विशुद्ध संस्थालाई हेर्ने खालको व्यक्ति आउने हो भने कान्तिको स्वास्थ्य सेवमा धेरै राम्रो हुने थियो । कात्तिक अन्तिममा विकास समिति खारेज भएको थियो । 

विभिन्न समस्याका बीच पनि सेवा प्रदान भइरहेको छ ? तालमेल कसरी मिलाउनु भएको छ ? 


यो अस्पताल धेरै पहिले स्थापना भएकाले सिस्टम बसिसकेका छन् । आफ्नो सिस्टमअनुसार काम गरिराखको छ । बिरामी धेरै छन, अप्रेसनमा धेरै कुर्नु परे पनि अप्रेसन भइरहेको अवस्था छ । जतिसुकै समस्या भए पनि सेवाहरू बढाइरहेका छौँ ।

ल्याब प्रयोगशाला, नसासम्बन्धी उपचार, मानसिक उपचार पनि अहिले थप गरिएको छ । किड्नी, क्यान्सर, जलेरका बिरामीको उपचार पहिलाभन्दा राम्रो किसिमले दिइरहेको छ । विपन्न नागरिकको सामाजिक इकाई सेवा गठन गरेर पहिलाभन्दा व्यवस्थित बनाएका छौँ । विभिन्न समस्या हुँदाहुँदै पनि उपलब्ध जनशक्तिबीच समन्वय गरेर सेवा अगाडि बढाइरहेका छौँ । 

ratopati

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *