खतरनाक बन्दैछ एन्टिबायोटिकको जथाभावी प्रयोग

सुन्दै भयावह लाग्ने, मुटु कमाउने यी शीर्षकहरू सत्य होइनन् । तर यी हुनै नसक्ने घटनाहरू भने होइनन् । हाल भइरहेको एन्टिबायोटिकको अन्धाधुन्ध प्रयोगमाथि कडाइका साथ नियन्त्रण नगर्ने हो भने त्यो दिन टाढा हुने छैन, जब यी माथि उल्लेखित शीर्षकहरू सत्य घटनामा रूपान्तरित हुन सक्नेछ । अर्थात्, अहिलेकै गतिमा जथाभावी एन्टिबायोटिक खाने र खुवाउने चलन रोकिएन भने झाडापखाला, रुघाखोकी, पिलो जस्ता सामान्य सङ्क्रमण तथा स्वास्थ्य समस्याहरूकै कारण पनि मानिसहरू भटाभट मर्ने दिन आउन पनि सक्छ ।

विष बन्न सक्छ औषधि

पेट दुख्यो, टाउको दुख्यो, सामान्य रुघाखोकी लाग्नेबित्तिकै हामी फार्मेसी धाउँछौँ । समस्याको जरो कारण के हो ? त्योबारेमा ठोस पहिचान नगरी औषधि पसलेले हचुवा र अनुमानको भरमा दिएको औषधिहरू हामी चकलेट, सुपारी खाएजसरी नै जथाभावी खान्छौँ । औषधि पसलेले अनुमानका भरमा दिएको औषधिले कतिको रोग निको होला तर कतिको हुँदैन, यो पक्का हो । त्यसरी औषधि खाँदा उपचारका लागि अस्पताल जानु परेन्, चिकित्सकको सल्लाह लिनुपरेन । समय पनि बच्यो, डाक्टरले लिने पैसा पनि जोगियो । यसो हेर्दा कति सजिलो छ है । 

तर त्यसरी बिनाचिकित्सीय परीक्षण औषधि खाँदा हामीले के कुरालाई चाहिँ भुलिरहेका हुन्छौँ भने हामीले औषधि होइन, विष खाइरहेका छौँ । किनभने, कुनै पनि औषधिले राम्रो काम गर्नका लागि चिकित्सकको सल्लाह र स्वास्थ्यको रिपोर्टअनुसार मात्रा पुर्याएर औषधि खानुपर्ने हुन्छ । मात्रा पुर्याएर खाएको औषधिले मात्रै शरीरमा रोग लगाउने किटाणु र त्यसबाट सिर्जित समस्यालाई पूर्णतः निर्मूल पार्न सक्छ । 

हो, मात्रा नपुर्याई खाइएको औषधिले पनि हामीलाई निको पारेको अनुभूति त दिन सक्छ तर वास्तवमा, त्यसले रोगलाई र रोगका कारक किटाणुलाई पूर्णतः निर्मूल भने पारिसकेको हुँदैन । अन्ततः हामीले आधा अपूरो खाएको त्यो औषधिले राम्ररी काम गर्न सक्दैन । अन्ततः छोटो समयको अन्तरालमै त्यो अघि देखिएको समस्या नै पुनरावृत्ति हुन सक्ने सम्भावना पनि बढेर जान्छ । अर्थात्, जुन रोग निको पार्नका लागि हामीले औषधि खाएका हुन्छौँ, त्यो रोग त निको हुँदैन, हामीले जथाभावी खाएको आधाअपूरो औषधि चाहिँ शरीरमा औषधि हैन, विष बन्न सक्छ । 

किनभने यसरी खाएको औषधिले रोग निको हुनुको सट्टा मानव स्वास्थ्यमा असर गर्छ । यो कुराको बारेमा कमैलाई जानकारी छ । रोगको पहिचानबिना खाएको औषधिले तपाईंको ज्यानसम्म जान सक्छ । कारण पछिल्लो समय औषधि धेरै खाएकै कारण औषधिले काम गर्न छाडिसकेको छ ।

यसरी एन्टिबायोटिक प्रयोग गर्दा शरीरमा एन्टिबायोटिकको मात्रा बढे पछि मानव स्वास्थ्यमा एन्टिबायोटीकले कामै गर्न सक्दैन् । एन्टिबायोटिकको असरको विषयमा अनुसन्धान नै नभए पनि टिचिङ अस्पतालमा हप्तामा एक दुईवटा प्यान रेसिसस्टट्यान्ड अर्थात् कुनै पनि औषधिले नछोएको बिरामी भेटिन्छन् । अन्ततः यस्ता बिरामीको निधन नै हुने गरेको छ ।    

के हो एन्टिबायोटिक ?

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का क्लिनिकल फर्माकोलोजी विभागका सहप्राध्यपक डा. सतिश देव भन्छन्, ‘अब मानव स्वास्थ्यमा औषधि अर्थात् एन्टिबायोटिकले काम गर्न छाडिसक्यो ।’ 

उनका अनुसार ‘चिकित्सापद्धति सुरु हुँदा मानव स्वास्थ्यमा विभिन्न किसिमको ब्याक्टेरियाबाट इन्फेक्सन हुन्छ भन्ने ब्याक्टेरियाको पत्ता लाग्यो । शरीरमा भएको जति पनि ब्याक्टेरिया इन्फेक्सनको उपचारका लागि जुन औषधिको प्रयोग गरिन्छ त्यसलाई एन्टिबायोटिक भनिन्छ ।’

उनका अनुसार एन्टिबायोटिक स्वास्थ्य परीक्षण गरेर कुन रोग लागेको हो पत्ता लगाएर मात्रै खानका लागि बनाइएको हो । ‘इन्फेक्स विभिन्न कारणले हुन्छ । ब्याक्टेरियाबाट हुने इन्फेक्सका लागि मात्रै एन्टिबायोटिक प्रयोग गर्नुपर्ने हुन्छ । तर यस्तो भएको पाइँदैन । पछिल्लो समय एन्टिबायोटिक ब्याक्टेरियाभन्दा पनि सामान्य रोगको लागि पनि चिकित्सकको सल्लाहबिनानै खाने गरेका छन् ।’ उनले भने
इतिहास हेर्ने हो भने सन् १९४१ मा विश्वमा पहिलो पटक एन्टिबायोटिक मानव शरीरमा प्रयोग गरिएको थियो । त्यो समयमा शरीरमा देखिएको इन्फेक्सन एन्टिबायोटिकले निको गरेको थियो । यस्तै मानव शरीरमा कुनै अप्रेसन गर्दा इन्फेक्सनबाट बँच्नका लागि पनि एन्टिबायोटिकको प्रयोग गर्नुपर्ने हुन्छ ।  

तर पछिल्लो समय एन्टिबायोटिकको असर बिस्तारै कम हुँदै गइरहेको छ । अर्थात ब्याक्टेरियाविरुद्ध लड्ने सक्ने क्षमता अब एन्टिबायोटिकमा छैन, जसलाई चिकित्सकको भाषामा ड्रग रेसिस्टट्यान्ट पनि भन्ने गरिन्छ । एन्टिबायोटिक वर्षाैंदेखि जथाभावी प्रयोग भएको हुँदा एन्टिबायोटिकले ब्याक्टेरियाविरुद्ध काम गर्ने क्षमता निकै कम हुँदै गइरहेको छ ।    

के हो एन्टिबायोटिक रेसिस्ट्यान्ट 

एन्टिबायोटिक रेसिस्ट्यान्ट भन्नाले एन्टिबायोटिकको सही प्रयोग नहुँदा बिस्तारै बिस्तारै त्यहाँ भएको ब्याक्टेरियाहरूले आफूभित्रको शरीरमा केही प्रकारको परिवर्तन ल्याउनु हो । सो परिवर्तनले ब्याक्टेरियाले एन्टिबायोटिकविरुद्ध लड्न सक्ने क्षमता विकास गर्छ, जसले गर्दा सोही एन्टिबायोटिक प्रयोग गर्दा शरीरमा कुनै पनि फाइदा हुँदैन । हाम्रो स्वास्थ्यमा देखिएको रोगप्रति एन्टिबायोटिकको लड्न सक्ने क्षमता हुँदैन । यसलाई एन्टिबायोटिक रेसिस्ट्यान्ट भनिन्छ । अबका दिनमा बिस्तारै सबै एन्टिबायोटिकको ब्याक्टेरियाविरुद्ध लड्न सक्ने क्षमता पूरै ह्रास भएर आउँछ । यसको मुख्य कारण एन्टिबायोटिकको दुरुपयोगको हो ।

यस कारण हुन्छ एन्टिबायोटिकको असर 

डाक्टर सतिशका अनुसार ‘भाइरल इन्फेक्सन अर्थात् सामान्य रुघाखोकी ३ देखि ५ दिनमा आफै निको हुन्छ तर नेपालमा एन्टिबायोटिक खाने चलन छ, जसको कुनै पनि भूमिका हुँदैन । यस्तै चिकित्सकले पनि बिरामीलाई अनावश्यक एन्टिबायोटिक प्रयोग गर्न अनुमित दिनु मानव स्वास्थ्यमा एन्टिबायोटिकको असर कम देखिने अर्काे कारण हो । पछिल्लो समय एन्टिबायोटिकको गलत प्रयोग मानव जीवनमा भन्दा पनि पशु र कृषिमा धेरै देखिएको छ । अबको दिनमा एन्टिबायोटिकले एकदमै डरलाग्दो अवस्था निम्त्याउने डा. सतिश बताउँछन् ।’ यसरी नै एन्टिबायोटिकको गलत प्रयोग नरोकिने हो भने अबका दिनहरूमा मानव स्वास्थ्यमा गरिने जति पनि अप्रेसनहरू सम्भव हुने छैन, कारण अप्रेसन गर्दा इन्फेक्सन हुनसक्ने सम्भावना धेरै हुन्छ ।’ 

–एन्टिबायोटिकले असर गर्न छोडेपछि सामान्य रुघाखोकी एक वर्षसम्म लाग्न सक्छ । 

–सानोतिनो घाउ निको हुन छोड्छ ।

–सामान्य समस्याले पनि एकदम ठूलो रूपलिन सक्छ ।

–एन्टिबायोटिकले काम गर्न छोड्यो भने मानव जीवनमा जिन्दगीप्रतिको विश्वास नै कम हुन्छ । मान्छेले लडिएला भन्ने डरले मोटरसाइल चलाउँर्दैनन् । चोटपटक लाग्ला भन्ने डरले खेलकुद खेल्न छोड्छन्, खेल्दा लडिन्छ भनेर बालबालिकालाई विद्यालय नै पठाउन छोड्छन् । यसरी मानव जीवनमा एन्टिबायोटिकले काम नगरेपछि विश्वास कम हुँदै जाने आँकलन देखिन्छ । नेपालमा यतिले नै एन्टिबायोटिक प्रयोग गर्छन् भन्ने आधिकारिक तथ्याङ्क नभए पनि डा. सतिश देव आफैले गरेको अनुसन्धानले ४५ प्रतिशतलाई एन्टिबायोटिक प्रयोगको बारेमा थाहा अझै थाहा छैन ।   

एन्टिबायोटिक नियन्त्रण गर्न व्यवसायीको प्रमुख भूमिका 

औषधि व्यवसायी सङ्घका अध्यक्ष मिर्गेन्द्र मेहेर श्रेष्ठले सबै ठाउँमा चिकित्सक नभएको कारणले मानवताको नाताले पनि व्यवासायीले चिकित्सकको अनुमतिबिना नै औषधि दिने गरेको स्वीकारे । व्यवासायीले नियममा बसेर औषधि बेच्नुपर्नै भए पनि औषधिसँग मानवीयता जोडिएको कारणले गर्दा बिनाप्रेस्क्रिप्सन औषधि दिने गरेको बताए । 

प्रमुख श्रेष्ठ भन्छन्, ‘डाक्टरको प्रेस्क्रिप्सनबिना नै एन्टिबायोटिक व्यवसायीहरूले बिक्री गरेको सत्य हो, ‘तर सबै ठाउँमा चिकित्सक छैन् । मानवताको नाताले पनि बिरामीलाई औषधि दिनुपर्ने बाध्यता छ । एन्टिबायोटिकको सही प्रयोगको बारेमा देशका विभिन्न ठाउँमा सचेतना गोष्ठी सञ्चालन गर्दै आएका छौँ, नियन्त्रण हुने छ ।’   

औषधि ऐन २०३५ को दफा १७ मा चिकित्सकको अनुमतिबिना औषधि बेच्न पाइँदैन भनेर स्पष्ट लेखिएको छ । तर कार्यान्वयन गर्ने कति छन् भन्ने कुरानै सङ्घलाई थाहा छैन । औषधिसँग प्रत्यक्ष रूपमा नागरिकको जीवन गाँसिएको हुँदा मानवीय नाताले पनि बिनासल्लाह औषधि दिनुपर्ने बाध्ययता नभएको बताउँछन् । ४० वर्ष (वि.सं. २०३५) पहिला बनेको औषधि ऐन अहिलेको समय अनुकूल नभएको कारणले पनि संशोधन गर्नुपर्ने कुरालाई व्यवसायीहरूले उठाउँदै आइरहेका छन् ।

सरकार भन्छ : हामी रणनीतिका साथ लागिपरेका छौँ । 

सरकारले स्वास्थ्यकर्मी र व्यवासायीलाई नियम विपरीत औषधि दिएको विषयमा नै कारवाही गरिएको भने देखिएन । कारवाहीभन्दा औषधिको महत्त्व, प्रयोगको बारेमा जानकारी अझै आवश्यक हुँदा जनचेतना नै पहिलो आवश्यकता रहेको सरकारको ठम्याइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अस्पताल प्रशासक डाक्टर दीपेन्द्ररमण सिंहले जथाभावी एन्टिबायोटिक प्रयोगमा रोक लगाउनका लागि रणनीतिका साथ लागिपरेको बताउँछन् । उनी भन्छन्, ‘औषधि ऐनमा चिकित्सक, स्वास्थ्यकर्मीले नागरिकलाई जथाभावी एन्टिबायोटिक दिनुहुँदैन भनिएको छ । तर सचेतनाको कार्यक्रम गरेपछि मात्रै कारवाही प्रक्रियामा जान सकिन्छ ।’

राष्ट्रिय एक्सन प्लानमा एन्टिबायोटिक सदुपयोगको बारेमा जानकारी गराउँने योजनाका साथ सरकार लागेको सिंहले बताए । मानव स्वास्थ्यमा एन्टिबायोटिकले पारेको नकारात्मक असरको बारेमा सचेतना जगाउनका लागि हाल स्वास्थ्य सचिवको संयोजकत्वमा टेक्नोलोजी समिति बनिसकेको छ भने तर एन्टिबायोटिक प्रयोग कृषि र पशुमा पनि भएको हुँदा दुरुपयोगलाई नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयको सहभागितामा राष्ट्रिय निर्देशन समिति पनि गठन गरिएको छ । 

एन्टिबायोटिकको बारेमा सचेतना, एन्टिबायोटिक प्रयोग गर्ने तरिका, इन्फेक्सन हुन नदिन के गर्ने ? र अनुसन्धान गरेर नयाँ एन्टिबायोटिक पत्ता लगाउँन सकिन्छ लगायत विषयलाई समितिले अघि सारेको छ ।
सिंहका अनुसार एन्टिबायोटिकले काम गरेको छ वा छैन भन्ने विषयमा सरकारले २२ वटा अस्पतालमा निगरानीको काम गरिरहेको छ ।

एन्टिबायोटिकको गलत प्रयोग गर्ने स्वास्थ्यकर्मी र व्यवासायीलाई कारवाहीभन्दा पनि पहिला सुसूचित गराउन जरुरी रहेको सिंहको ठम्याइ छ । एन्टिबायोटिकको गलत प्रयोगले मानव स्वास्थ्यको असरको बारेमा जानकारी गराएपछि मात्रै कारवाहीको प्रक्रियालाई अगाडि लान मिल्ने उनको तर्क छ । 

केही टिप्स : एन्टिबायोटिकको सही प्रयोग

–चिकित्सकको सल्लाहबमोजिम एन्टिबायोटिक खाने । 

–चिकित्सकले तोकेको समयसम्म एन्टिबायोटिक अनिवार्य खाने ।

–आफै जथाभावी एन्टिबायोटिक किनेर नखाने । 

–अरूले खाएको औषधिले आफूलाई पनि निको हुन्छ कि भनेर नखाने । 

–जथाभावी एन्टिबायोटिक बिक्रीमा रोक लगाउने ।

–औषधि पसलले डाक्टरको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक दिनु भएन ।

– बिरामीले स्वास्थ्य परीक्षण नै नगरी आफै औषधि खानु भएन ।

– बिरामीले चिकित्सलाई एन्टिबायोटिक माग्नु भएन ।

– डाक्टरले अनावश्यक एन्टिबायोटिकको प्रयोग गर्नु भएन ।

– कुखुराको मासु पनि एन्टिबायोटिकरहित हुनुपर्छ भन्ने विषयमा सरकारले ध्यान दिने ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *